‘बाँदरमुडेका पीडितलाई ६० लाख ल्याएको छु’

Puspakamal-Dahalचितवन, १७ फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले माडी–बादरमुढे घटनाका पीडित परिवारसँग क्षमा याचना गर्न आफूले ६० लाखको राहात प्याकेज ल्याएको बताएका छन् ।
चितवनमा आज माडी महोत्सवको उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले यस अघि आउने इच्छा रहे पनि राहात नलिई नआउने अठोट गरेकै कारण ढिला आएको जनाए । ‘अन्य राजनीतिक दल र सरकारका सबै मन्त्रालयहरुसँग छलफल गरेर ६० लाखको रकम निकासा गरेको छु,’ उनले भने ।
६० लाख रकम माडी–बादरमुडे घटना पीडितहरु बसेर आफै योजना बनाई वितरण गर्नुपर्ने अध्यक्ष दाहालको भनाई छ । उनले भने, ‘के ? कति रकम के ? कति शीर्षकमा खर्च गर्ने हो आपसमा सहमति गरेर निर्णय गर्नुस् ।’
अध्यक्ष दाहालले माडी–बादरमुढे नरसंहार घटनालाई युद्धकालको दुर्घटना सम्झन माडीवासीलाई आग्रह पनि गरे ।
यसैबीच, महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल आउने भनिए पनि अन्तिम समयमा आएनन् ।
एमाओवादी अध्यक्ष दाहाल सहभागी हुने भए पछि उद्घाटन कार्यक्रम कांग्रेस र एमालेको जिल्ला नेतृत्वले बष्हिकार समेत गरेको छ ।
एमाओवादीले दाहाललाई मात्रै प्रमुख अतिथि बनाउने अडान लिए पछि विरोध गरेको कांग्रेस र एमालेले जनाएका छन् । उनीहरुले सबै शीर्ष नेतालाई प्रमुख अतिथि बनाउने पूर्वसहमति एमाओवादीले तोडेको आरोप लगाए । सोही कारण उद्घाटन सत्र बहिष्कार गरिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया