बालनाटक महोत्सवको दोस्रो दिन बुनु, बुटी र कुहिरोको काग

Bunuकाठमाडौं : शैली थिएटरद्वारा आयोजित चौथो राष्ट्रिय बालनाटक महोत्सव–२०६९ अन्तर्गत बुधबार दोस्रो दिन तीन नाटक प्रदर्शन भए । श्री बालउद्धार उमावि कपनको प्रस्तुतिमा ‘बुनु’ र विद्या विकास बोर्डिङ स्कुल गोठाटारको सिर्जना ‘बुटी’ मञ्चन भएका थिए । अचेल नाट्य समूहको ‘कुहिरोको काग’ नामक नाटक पनि देखाइएको थियो । मंगलबारदेखि सुरु भएको चौथो राष्ट्रिय बालनाटक महोत्सवमा जम्मा १४ नाटक मञ्चन हुनेछन्, जसमध्ये ११ नाटक प्रतियोगी रूपमा सम्मिलित छन् ।
प्रतियोगी नाटकबाट चेखभ उत्कृष्ट निर्देशन पुरस्कार, बालकोसेली उत्कृष्ट नाटक पुरस्कार र शैली उत्कृष्ट अभिनय पुरस्कार प्रदान गरिनेछ । दुई नाटक आयोजक र एक नाटक प्रेरणा विद्याश्रमका गरी तीन नाटक अप्रतियोगी रहेका छन् । रसियन कल्चरल सेन्टर कमलपोखरीमा २१ फागुनसम्म चल्ने महोत्सवको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर, वरिष्ठ रंगकर्मी हरिहर शर्मा, शकुन्तला शर्मा, नाटककार अभि सुवेदीलगायतले उद्घाटन गरेका थिए ।
महोत्सव उद्घाटनका क्रममा पहिलो नाटक स्वरूप महेश पौड्यालद्वारा लिखित तथा नवराज बुढाथोकीद्वारा निर्देशित नाटक ‘आमा नहुँदा एक साँझ’ मञ्चन गरिएको थियो । (सौस)

प्रतिक्रिया