सिरियाली विद्रोहीलाई सहयोग छुटयाइयो

पेरिस : करिब दुई वर्षदेखि सिरियामा सरकारविरुद्ध जारी आन्दोलन तथा सशस्त्र विद्रोहमा सरिक विद्रोही समूह ‘फ्रि सिरियन आर्मी’ले अमेरिकाबाट प्रत्यक्ष सहयोग पाउने भएको छ । केही युरोपेली मुलुकसँगको समन्वयमा अमेरिकी प्रशासनले सिरियाली विद्रोहीलाई प्रत्यक्ष सहयोग गर्न रकम छुटयाएको हो । अमेरिकी तथा युरोपेली अधिकारीहरूका अनुसार मंगलबार सो निर्णय लिइएको हो । नर्णयमा विद्रोहीहरूलाई गैरघातक हतियारसमेत दिइने हो अथवा आर्थिक र राजनीतिक सहयोग मात्र गरिने हो भन्ने खुलाइएको छैन ।
बिहीबार इटालीको राजधानी रोममा हुन गइरहेको सिरियासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकी निर्णयले अन्तिम स्वरूप पाउने बताइएको छ । अहिले पनि अमेरिका तथा केही युरोपेली मुलुकले राष्ट्रपति बसर अल असदका सेनाविरुद्ध लडिरहेका सशस्त्र विद्रोहीलाई सहयोग गर्दै आएका छन् । असादलाई सत्ताच्यूत गराएरै छाड्ने मनसायले अमेरिकाले सहयोगमा भारी वृद्धि गर्न लागेको अनुमान गरिएको छ ।
सिरियाली विद्रोहीले राष्ट्रपति असदलाई सत्ताबाट हटाई मुलुकमा प्रजातान्त्रिक सरकार स्थापना गराउने कार्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्दै आएका छन् । सिरियामा सन् २०११ को मार्चमा आरम्भ भएको संघर्षमा हालसम्म ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको राष्ट्र संघले जनाएको छ । सिरियाली संकटप्रति अन्तर्राष्ट्रिय समुदाय संवेदनशील नभएको आरोप लगाउँदै विद्रोहीहरूले इटालीमा हुन लागेको सिरियासम्बन्धी बैठक बहिष्कार गर्ने घोषणा गरेका थिए । तर, अमेरिका र बेलायतले सिरियाली विपक्षीलाई गर्दै आएको सहयोग बढाउने र बैठकबाट सार्थक परिणाम निकाल्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि विद्रोहीहरू बैठकमा सहभागी हुन पुन: सहमत भएका छन् । बेलायती अधिकारीसँगको परामर्शपछि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली विद्रोहीलाई थप सहयोग उपलब्ध गराउने र ‘सिरियाली जनतालाई उनीहरूले भोगिरहेका बेदनाबाट मुक्त गराउने’ प्रतिबद्धता व्यक्त गरेपछि विद्रोहीहरूले बैठकमा सहभागी हुन सहमति जनाएका थिए । (एजेन्सी)

प्रतिक्रिया