आत्मघाती आक्रमण

काबुल : अफगानिस्तानको राजधानी काबुलमा एक सैनिक बसलाई लक्ष्य गरी बुधबार आत्मघाती आक्रमण गरिएको छ । अफगान र नेटो सैनिकलाई लक्ष्य गरी गरिएको आक्रमणमा ६ व्यक्ति घाइते भएका छन् ।
अफगानिस्तानको राजधानी काबुलको सधैँ व्यस्त र कडा सुरक्षामा रहेको क्षेत्रमा आक्रमण भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७:१० बजे आक्रमण भएको जनाइएको छ । आक्रमणबाट रक्षा मन्त्रालयका ६ सदस्य र एक सर्वसाधारण घाइते भएको रक्षा मन्त्रालयका प्रवक्ता हसामतुल्लाहले जानकारी दिए । आक्रमण तालिवानी चरमपन्थीले गराएको आशंकाका बीच तालिवानी प्रवक्ताले आक्रमणको जिम्मा लिएका छन् । प्रवक्ता जाबिहुल्लाह मुजाहिदले एएफपी समाचार समितिलाई सम्पर्क गरी आक्रमणबाट १७ व्यक्तिको मृत्यु हुनुका साथै १७ भन्दा बढी गम्भीर घाइते भएको जनाएका छन् ।
यसवर्ष सुरुदेखि हालसम्म अफगान र नेटो सैनिकलाई लक्ष्यगरी नौ वटा आक्रमण भएको एएफपीद्वारा प्रकाशित प्रतिवेदनमा जनाइएको छ । यसमध्ये अफगानिस्तानको पूर्वी भागमा पर्ने कापिसा प्रान्तमा गत जनवरी २५ मा भएको आक्रमणमा पाँच सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।
अफगानिस्तानमा संयुक्त राज्य अमेरिका र नेटोसँग आबद्ध करिब एक लाख सैनिक तालिवानीसँग युद्धरत छन् । आगामी वर्ष प्राय: सबै नेटो सैनिक फिर्ता हुने नेटोसँग आबद्व देशहरूले यसअघि नै घोषणा गरिसकेका छन् । सन् २०१४ पछि अफगानिस्तानको सुरक्षाको जिम्मेवारी अफगान सुरक्षाबल आपैँmले लिनुपर्ने भएकाले करिब तीन लाख ५२ हजार अफगान सैनिकलाई नेटो सैनिकले तालिम दिइएको समाचारमा उल्लेख छ । (एएफपी)

प्रतिक्रिया