युवा संघको दायित्व

नेकपा (एमाले) निकट भ्रातृसंगठन युवा संघ नेपालको आठौँ महाधिवेशन मंगलबार बुटवलमा सम्पन्न भयो । कुनै पनि संघ, संगठनको महाधिवेशन नियमित प्रक्रियाअन्तर्गत समयमै सम्पन्न हुनु स्वाभाविकै हो । तर, पछिल्लो समयमा राजनीतिक दल, दलका भ्रातृसंगठन, विद्यालय सञ्चालक समितिको निर्वाचन र अन्य संघ, संगठनको महाधिवेशन साथै नयाँ कार्यसमितिको निर्वाचन अराजक शैलीमा सम्पन्न हुन थालेका छन् । जुनसुकै पार्टी र भ्रातृसंगठनको महाधिवेशन कार्यलाई अत्यन्तै भड्किलो, खर्चिलो र उस्तै पर्दा आफ्नै सहयोद्धामाथि बल प्रयोग गर्ने स्थल बनाउन सक्ने अवस्था सिर्जना गरिँदै छ । भोलि एउटै संगठनमा बसेर एउटै नीतिमा बाँधिएर कार्य गर्नुपर्ने योद्धाबीच कटुतापूर्ण व्यवहार हुनु राम्रो होइन । बुटवलमा सम्पन्न युवा संघको महाधिवेशनमा पनि अस्वाभाविक लाग्ने केही कार्यहरू भए भावनात्मक, सहयोगात्मक र सौहार्दपूर्ण व्यवहारले नै आपसको सम्बन्ध सदृढ बन्छ । यसतर्फ युवा वर्गले अत्यन्त गम्भीरतापूर्वक सोच्नुपर्छ । सँगै बसेर एउटै संगठनमा काम गर्नुपर्नेर्े युवाहरू बीचमा कुनै पनि हालतमा कटुता उत्पन्न हुनुहँुदैन । आपसका असहमति र विमतिहरू आपसमै छलफलद्वारा टुंग्याउने, साथै हार र जितलाई स्वाभाविक रूपमा लिने प्रजातान्त्रिक परम्परालाई आत्मसात् गर्न सक्नुपर्छ । अन्यथा युवासंघलाई मात्र होइन, नेकपा (एमाले) र राष्ट्रलाई समेत घाटा पुग्नेछ । यसतर्फ युवासँगका सबैले सोच्न सक्नुपर्छ ।
महाधिवेशनमा निर्वाचन र निर्वाचनमा हार–जित प्रजातान्त्रिक पद्धतिको स्वाभाविक प्रक्रिया हो । नीति, विचार र सोचसमेत फरक भएका दलबीच पनि प्रजातन्त्रमा चुनाव हुन्छ । यस्ता फरक सोच राख्ने बीच भएको हारजितलाई समेत स्वाभाविक रूपमा लिने गरिन्छ । राष्ट्र र जनताको चाहनाबमोजिम दलहरूले सहमतिमा कार्यसम्पादन गर्ने गर्छन् । यस आधारभूत मान्यता र पद्धतिलाई युवाहरूले पनि अंगीकार गर्न कन्जुस्याइँ गर्नुहँुदैन । युवामा गतिशीलता, ऊर्जा र जोस हुन्छ । यो युवा ऊर्जालाई राष्ट्रले उपयोग गर्न सक्ने र त्यसबाट उन्नत प्रकारको समाज निर्माण गर्ने बाटो पनि युवा वर्गले नै देखाउनुपर्छ । यसले मात्र युवाको भविष्य सुनिश्चित बनाउँछ । बुटवलमा सम्पन्न महाधिवेशनमा कसले जित्यो र कसले हार्‍यो भन्ने प्रजातान्त्रिक प्रक्रियाको एउटा पक्षलाई लिएर कसैले पनि तर्क–वितर्कमा ओर्लनु राम्रो हुँदैन । युवा संघ नेपालले एकताबद्ध भएर युवामा भएको जोस र ऊर्जालाई उपयोग गर्ने नीति निर्माणमा लाग्नुपर्छ ।
अहिले नेपाली युवाहरू कामको खोजीमा पलायन भइरहेका छन् । माओवादी द्वन्द्वको थालनीपछि नेपाली युवामा नैराश्यता छाएको छ । युवाले आफ्नो श्रम खर्च गरेर उत्पादनमूलक काम गर्ने थलोसमेत पाइरहेका छैनन् । राष्ट्रको मुख्य श्रम र शक्तिको स्रोत युवा वर्ग नै हो । यही वर्ग पलायन हुने, अस्वाभाविक हुलियामा प्रस्तुत हँुदै गैरकानुनी कार्यतिर लाग्ने र निराश बन्ने भएपछि राष्ट्र विकासका सम्पूर्ण आधार भत्किन सक्छन् । तसर्थ, मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, संवैधानिक रिक्तता र विभिन्न खाले द्वन्द्व व्यवस्थापन गर्न पनि युवाहरू नै मन, वचन र कर्मले अग्रसर हुनुपर्छ । अहिले मुलुक जटिल अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक विचलनले मुलुकलाई गाँजेको छ । यो संक्रमण कालको संकटपूर्ण अवस्थाबाट राष्ट्रलाई मुक्त गर्न पनि युवा अग्रसरताकै खाँचो पर्छ । लामो अनुभव समेटेको युवा संघ नेपाल एउटा सशक्त संगठन भएको हुँदा यसले सबै युवालाई समेटेर उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याउन सक्नुपर्छ । यसले मात्र मुलुकको भविष्य सुनौलो बनाउने मद्दत गर्नेछ । अन्यथा युवा वर्ग पलायन हुने र राष्ट्रमा उत्पादनशील खुम्चिने स्थिति आउन सक्छ । यो स्थिति आउन नदिने दायित्व पूरा गर्न युवा संघको नेतृत्व लाग्नै पर्छ ।

प्रतिक्रिया