‘जेठमा चुनाव नभए पनि रेग्मी जारी’

पोखरा, १७ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठमा निर्वाचन सम्भव नभए पनि प्रधानन्यायाधीश खिलराज रेग्मी नै प्रधानमन्त्री रहने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले पोखरामा बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले जेठभित्रै निर्वाचन गरी मुलुकलाई निकास दिनैका लागि प्रधानन्यायाधीशको नेतृत्व अघि सारिएको प्रस्ट्याए ।

‘प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन नभए अझै नौ महिना अन्य विकल्प ननिस्कने भएकाले निकास दिनकै लागि मैले प्रस्ताव ल्याएको हुँ,’ उनको दाबी थियो । प्रचण्डले जेठमा निर्वाचन कसैगरे सम्भव नभए कात्तिक अन्तिम वा मंसिर पहिलो सातामै हुनसक्ने उल्लेख गरे ।
प्रधानन्यायाधीश नेतृत्वमा चार शक्तिको नेतृत्व सहमत भएको र बिहीबारसम्म यसले मूर्तता पाउने प्रचण्डको भनाइ छ । उनले प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कुनै बाह्य शक्तिको इसारामा नभई आफूले प्रस्तुत गरेको उनले बताए । उनले नयाँ बन्ने प्रधानमन्त्री रेग्मीले शपथग्रहण भने सर्वोच्चको मुद्दा किनारा लागेपछि मात्रै लिने उल्लेख गरे । सर्वोच्चले प्रधानन्यायाधीसश रेग्मीलाई प्रधानमन्त्री बन्नबाट नरोक्नेसमेत उनले दाबी गरे । ‘सर्वोच्चले रेग्मीलाई रोके के हुन्छ भनेर सोध्नु भनेको आकाश खसे के हुन्छ भनेर सोध्नुजस्तै हो,’ प्रचण्डले भने ।

प्रतिक्रिया