जिन्सी सामानमा रोल्पाका प्रहरी प्रमुखको मनपरी

nepal policeकाठमाडौं, १७ फागुन । रोल्पाका प्रहरी प्रमुख ओम रानाले केन्द्रबाट प्राप्त जिन्सी सामान आफूनिकटका प्रहरीलाई मात्र बाँडेका छन् । जुत्ता, स्लिपिङ ब्याग र ज्याकेट वितरणमा भेदभाव गरेको भन्दै प्रहरी प्रमुख नायब उपरीक्षक ओम रानाविरुद्ध चरम असन्तुष्टि बढेको छ ।

प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई जिन्सी सामान नि:शुल्क वितरण गर्ने गर्छ । तर, केन्द्रले पठाएको सामानमा नायब उपरीक्षक रानाले मनोमानी गरेपछि जवानहरूमा असन्तुष्टि छाएको हो ।
रोल्पामा झन्डै पाँच सय प्रहरीको दरबन्दी छ भने ३९ युनिट कार्यरत छन् । असन्तुष्ट एक प्रहरी जवानले नायब उपरीक्षक राना र जिन्सी शाखाका कर्मचारी मिलेर आफूनिकटकालाई मात्रै सामान दिएको गुनासो गरे । ‘पहिले पनि पटक–पटक लिएका प्रहरीले फेरि सामान पाएका छन्,’ उनले भने, ‘०६२ सालकाले पनि पाएका बेला एकपटक पनि नपाएकालाई भने दिइएन ।’
नायब उपरीक्षक रानाले भने केन्द्रले नै जिन्सी सामान थोरै पठाएकाले सबैलाई वितरण गर्न नसकेको दाबी गरेका छन् । आक्रोशित हुँदै उनले सौर्यलाई भने, ‘केन्द्रले नै थोरै जिन्सी सामान पठाएपछि मैले कसरी सबैलाई पुर्‍याउने ?’ जुत्ता, स्लिपिङ ब्याग र ज्याकेट वितरणका लागि प्रहरी निरीक्षकको संयोजकत्वमा समिति गठन गरेको रानाको भनाइ छ ।
निरीक्षकको संयोजकत्वमा समिति गठन भए पनि उपरीक्षक रानाको खटनपटनमा जिन्सी शाखाका सहायक निरीक्षक पदमबहादुर चन्द र प्रहरी हवल्दार बोधी सुवेदीले आफूनिकटकालाई मात्रै वितरण गरेको जवानहरूको गुनासो छ ।
‘गुनासो गर्ने प्रहरी जवानलाई मैले चिनेको छु,’ सामान वितरणबारे जिज्ञासा राख्दा रानाले भने, ‘सबैलाई कारबाही गर्छु । प्रहरीभित्रको आन्तरिक कुरा पत्रकारलाई भन्ने ?’
उता, नेपाल प्रहरीका प्रवक्ता उपरीक्षक पुष्कर कार्कीले जिन्सी सामान पाउने अधिकार सबै प्रहरी कर्मचारीको रहेको बताए । उनले यस वर्ष जिन्सी सामान खरिदका लागि कुनै टेन्डर नगरिएको भए पनि दामासाहीले रकम जिल्ला पठाइएको जानकारी दिए । ‘सामान अपुग भए पनि सबैलाई उपलब्ध गराइन्छ,’ उनले भने, ‘वितरण गर्दा नपाएका प्रहरीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
गत सालकै मौज्दातबाट सबै जिल्लामा सामान पठाएको कार्कीले बताए । ‘यसपटक बजेट नभएकाले ज्याकेट, स्लिपिङ ब्याग र जुत्ता खरिद नगरेर दामासाहीले रकम पठाएका हौँ,’ उनले भने ।
प्रवक्ता कार्कीले केन्द्रलाई कम महत्त्व दिएर जिल्लामा जिन्सीलगायत लत्ताकपडा छिटो पठाउने नीति रहेको बताए । रोल्पामा जिन्सी सामान वितरणमा भएको गुनासोबारे स्वयंले जानकारी लिने उनको भनाइ छ । गर्मी सुरु भए पनि रोल्पाको उत्तरी क्षेत्रमा अझै अत्यधिक जाडो छ । वन र जंगलको बाटो हिँड्नुपर्ने भएकाले दुर्गममा बस्ने प्रहरीलाई जुत्ता, ज्याकेट र स्लिपिङ ब्यागको आवश्यकता बढी हुने गर्छ ।

प्रतिक्रिया