वैदेशिक रोजगारीमा जाने नब्बे जनाको शव आयो

काठमाडौं, १६ फागुन । बैदेसिक रोजगारीका क्रममा मृत्यु भएका ९० जनाको शव नेपाल आएको छ । चालु आवको फागुन मध्यसम्ममा सो शव नेपाल आएको हो । बैदेसिक रोजगार प्रवद्र्धन वोर्डका अनुसार रोजगारीका क्रममा विदेशमा मृत्यु भएका मध्ये चालु आर्थिक वर्षको फागुन १४ सम्ममा ९० मृतक कामदारको शव आएको हो ।

रोजगारीका क्रममा बर्सेनि बिदेसिने क्रम बढेसँगै विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढेको बोर्डले जनाएको छ । तर, विदेशी कूटनीतिक नियोगको कमजोरीका कारण समयमै मृतकको शव नआउने गरेको बोर्डले जनाएको छ ।
अहिले पनि बोर्डमा दैनिक पाँचदेखि सात जनाले आफन्तको शव झिकाइदिन माग गर्दै निवेदन दिने गरेका छन् । बोर्डले निवेदनका आधारमा सम्बन्धित मुलुकको नेपाली दूतावासलाइ पत्राचार गरे पनि शव आउन भने समय लाग्ने गरेको जनाइएको छ । बोर्डले पत्रचार गरेपछि कम्तीमा सात दिन पछि मात्र शव आउने गरेको छ । कतिपय अवस्थामा भने दूतावासले कर्मचारी अभाव भन्दै तीन महिनासम्म पनि मृतकको शव नपठाउने गरेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार रोजगारीका क्रममा विदेशमा मृत्यु भएका कामदारका आफन्तको निवेदनका आधारमा बोर्डले शव झिकाइदिने गरेको छ । विदेशबाट आएको शव सम्बन्धित परिवारलाई बोर्डले नै वुझाउने गर्दछ । ‘आफन्तको निवेदनका आधारमा बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव झिकाउने र घरसम्म पुर्‍याइदिने गरेको छ’ बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले भनिन्, ‘करार अवधी नसकिँदै मृत्यु भएका कामदारका आफन्तलाइ एक लाख ५० हजार रुपियाँसम्म राहतसमेत दिने व्यवस्था छ ।’
बोर्डले कामदार कल्याणकारी कोषबाट मृतक आफन्तका परिवारलाई राहत रकम दिने गरेको छ । यस्तै, विदेशमा विभिन्न दुर्घटनामा परेर घाइते तथा अंगभंग भएका कामदारलाई समेत क्षतिपूर्ति रकम दिने गरेको छ । विगत पाँच वर्षको अवधीमा बैदेसिक रोजगारीका लागि गएका करिब दुई हजार युवाको रोजगारीकै क्रममा मृत्यु भएको बोर्डले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ देखि चालु आव ०६९/७० को मंसिर मसान्तसम्ममा रोजगारीमा गएका एक हजार नौ सय ९२ जनाको विदेशमा मृत्यु भएको बोर्डले जनाएको हो । रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाउने मध्ये अधिकांश हृदयघातकै कारण देखिएको छ ।
सरकारले रोजगारीमा जानुपूर्व कामदारलाई अभिमुखीकरण तालिम अनिवार्य गरे पनि ट्राफिक नियम नजान्दा दुर्घटनामा पर्ने, दिनभरि उच्च तापक्रममा काम गरी मादक पदार्थ सेवन गरी एसीयुक्त कोठामा सुत्दा हृदयघात भएर मर्नेको संख्या बढ्दै गएको छ । विदेशमा मर्नेका परिवारलाई मात्र पाँच वर्ष अवधीमा २१ करोड १० लाख ६९ हजार रुपियाँ आर्थिक सहायता वितरण भएको छ । सो रकम बोर्ड अन्तर्गतको कामदार कल्याणकारी कोषवाट मृतकका आफन्तलाई दिइएको हो ।
यस्तै, गत आर्थिक वर्ष ०६८/६९ मा रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या मात्र ६ सय ४६ जना छ । उनीहरूका परिवारलाई बोर्डले सात करोड ७० लाख ३० हजार रुपियाँ सहायता दिइएको थियो । सो आवमा ६ सय ३० जना पुरुष र १६ महिला कामदारको रोजगारीका क्रममा विदेशमा मृत्यु भएको छ । बोर्डका अनुसार अघिल्लो आव ०६७/६८ मा पाँच सय ५० जनाको विदेशमा मृत्यु भएको थियो । सवारी दुर्घटना, मेसिनरी पार्टपुर्जामा परेर लगायतका घटनामा विदेशमा कामदारको मृत्यु हुने गरेको छ । विदेशमा मृत्यु तथा अंगभंग भएकालाई सरकारले चार करोड ८३ लाख नौ हजार रुपियाँ सहायता वितरण गरेको थियो ।

प्रतिक्रिया