युवा सुधार आन्दोलनको खाँचो

काठमाडौंका सडक, चोक, गल्ली र सार्वजनिक स्थलमा ट्यापे, मुन्द्रे, झ्याप्ले, लट्टे र अस्वाभाविक हुलिया भएका युवाले समाजमा अस्वाभाविक गतिविधि देखाउने गरेको भन्दै प्रहरीले सफाइ अभियान सुरु गरेको छ । उपत्यकामा हुने गरेका धेरैजसो अपराधका घटनामा यस्तै ट्यापे, मुन्द्रेहरू संलग्न देखिएकाले यसलाई रोक्न अभियान थालेको पनि प्रहरी प्रशासनले जनाएको छ । काठमाडौंमा गत सोमबार एकैदिन सात सय ११ जना अस्वाभाविक हुलिया भएका युवालाई पक्राउ गरेर प्रहरीले आफ्नो काम थालनी गरेको हो । वास्तवमा युवाहरूको विकृत हुलिया सर्वसाधारण र अभिभावकलाई समेत अपाच्य हुने खालको बन्दै गएको छ । आफूलाई अरूभन्दा बेग्लै देखाउने होडमा लागेका युवाहरू नै कतिपय अवस्थामा अपराधिक घटनामा संलग्न भएको पाइनु अत्यन्तै दु:खद पक्ष हो । गत शनिबार सिगलमा यस्तै ट्यापे युवाहरूले अर्को युवाको हत्या गरेपछि प्रहरी प्रशासन सफाई अभियानमा लागेको हो । अभियान सफल वा असफल जे होस् मनसाय भने युवालाई सुधार्ने खालको हुनुपर्छ । त्यसका लागि पक्राउ र कारबाहीभन्दा पनि अन्य उपाय अपनाउने हो कि ? त्यो पनि सोच्नुपर्छ । एकै दिन यति धेरै युवा पक्राउ पर्नु राम्रो होइन । यो राष्ट्रिय बेइज्जत हो । युवाहरू किन आफ्नो हुलिया बिगारेर कुलततर्फ आकर्षित हँुदै छन् ? उनीहरू आफूलाई किन असामाजिक र उत्शृंखल गतिविधितर्फ अग्रसर गराउँदै छन् ? अब यसका कारणहरू खोजिनुपर्छ र त्यस्ता गतिविधि रोक्न अन्य उपाय सोचिनुपर्छ ।
अनुशासनहिनता, कुसंस्कार, असामाजिक गतिविधि, खराब संगत र आपत्तिजनक व्यवहारतर्फ हाम्रो युवाजगत् आकर्षित हँुदै गएको पाइन्छ । यो निकै नराम्रो र दूरगामी प्रभाव पार्ने असाध्य रोग हो । समाजको यो रोग केही युवालाई पक्राउ गर्देमा निको हुँदैन । यसका लागि युवा केन्द्रित नीति र कार्यक्रमको खाँचो पर्छ । युवाजन्य जोस, जाँगर र ऊर्जालाई राज्यले ठीक ठाउँमा प्रयोग गर्न सकेन भने त्यसले समाजमा नकारात्मक प्रभाव पार्छ । जुन मुलुकले युवालाई शिक्षादीक्षा दिने स्वाभिमानपूर्वक बाँच्ने वातावरण निर्माण गर्दैन त्यो मुलुकले समयानुकुल गति लिन सक्तैन । युवाहरूको मनोविज्ञान बुझेर उनीहरूको भावनामा चोट पुग्न नदिने अवस्था राज्यले निर्माण गर्न सक्नुपर्छ । यदि युवा वर्गलाई ठीक मार्गमा अग्रसर गराउन सकिएन भने समाज भाँडिने साथै मुलुकमा अराजक अवस्था आउने सम्भावना रहन्छ । यसतर्फ सबै पक्ष बेलैमा सचेत हुन जरुरी छ । २/४ सय युवालाई पक्राउ गर्दैमा समस्या समाधान हुँदैन । अहिले युवालाई सहिमार्गमा ल्याउन युवा सुधार आन्दोलनको खाँचो छ । त्यो आन्दोलन भनेको शैक्षिक, आर्थिक, भौतिक, नैतिक, सामाजिक र सांस्कृतिक हुनुपर्छ । यसका लागि राज्यले युवा केन्द्रित नीति निर्माण गर्नै पर्छ ।
नेपाली समाज आफ्नो परम्परा, संस्कृति, नैतिकता र आचरणमा अग्रणी समाज मानिन्छ । यो समाजमा केही वर्ष अघिदेखि, विकृति, विसंगति र विभाजनका रेखाहरू कोरिन थालेका हुन् । यस्ता गतिविधि रोक्ने मुलुकमा कुनै निकाय देखा परेन । वर्तमान अवस्थामा अराजक बन्दै गएको राजनीतिले समाजलाई समेत अराजक बन्ने प्रेरणा दियो । नियम, कानुन, विधान र नैतिकतामा नबस्ने विकृत मानसिकता विकास हुँदै गयो । जुन रोग अहिले युवाहरूमा फस्टाएको छ । शिक्षा क्षेत्रमा फैलिएको राजनीतिक फोहोरले शैक्षिक वातावरण बिग्रियो । अस्थिर राजनीतिले रोजगारी क्षेत्र विकासमा तगारो लगायो । मूल्यवृद्धिले आकाश छोयो भने रोजगारीका लागि युवा पलायन काहालीलाग्दो रूपमा बढ्यो । यी सबै कारणको प्रभाव युवा वर्गमा पर्दै गयो । जसका कारण युवाहरू अहिले असामाजिक, अव्यावहारिक, अस्वाभाविक र असामान्य बन्दै गएका छन् । यो सबै गतिविधि रोक्न प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म अनुशासनमा विद्यार्थी बस्ने वातावरण बनाउने, अस्वाभाविक हुलिया बनाउन बन्देज लगाउने र मनोवैज्ञानिक उपायहरू अपनाउने गर्नुपर्छ । यसका लागि युवा सुधार आन्दोलन राज्यले ल्याउनै पर्छ ।

प्रतिक्रिया