युवा संघमा बस्नेत विजयी

Mahesh-Basnetबुटवल, १६ फागुन । एमाले भ्रातृसंगठन युवा संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा महेश बस्नेत पुन: निर्वाचित भएका छन् । १७ जना पदाधिकारीमध्ये १४ जना बस्नेत प्यानलकै विजयी भएका छन् ।

संघको मंगलबार बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा अध्यक्षमा बस्नेतसहित उनको प्यानलका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य विजयी भएका हुन् । जितसँगै बस्नेतले युवा संघमा दोस्रोपटक नेतृत्व गर्ने अवसर पाएका छन् । अध्यक्ष बस्नेतले ७ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी नीरज आचार्यले ६ सय १० मत प्राप्त गरे । महाधिवेशनमा १ हजार ३ सय ८७ प्रतिनिधि सहभागी थिए ।
संघको एक उपाध्यक्ष र दुई सचिवमा मात्र आचार्य प्यानलका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, महासचिव तथा तीन सचिव र कोषाध्यक्षसहित अधिकांश पदमा बस्नेत प्यानलका विजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित झपट रावलले ७ सय ४६, निरु पालले ६ सय ८८, सूर्य ढकालले ६ सय ४४, राजु गुरुङले ६ सय ७९ र दिलकुमारी पन्तले ६ सय ८३ मत ल्याई निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचितमध्ये गुरुङ नीरज आचार्यको प्यानलका हुन् ।
यसैगरी, महासचिवमा राजीव पहारी विजयी भएका छन् । सचिव पदमा अशोक चन्द ६ सय ५०, किरण पौडेल ७ सय ४४, रमेश पौडेल ६ सय १२, मञ्जु यादव ७ सय ३० तथा नरेशकुमार शाही ५ सय ८५ मत ल्याएर विजयी भए । सचिवमध्ये शाही मात्रै आचार्य प्यानलका हुन् । त्यस्तै, सचिव जनजातितर्फ चन्द्र लामा, दलिततर्फ सरोजदिलु विश्वकर्मा र सचिव पिछडिएको क्षेत्रबाट हस्तबहादुर शाही विजयी भएका छन् । उनीहरू सबै महेश बस्नेत प्यानलकै हुन् ।
मतगणना सकिएको करिब ५ घन्टापछि मंगलबार राति ११ बजेतिर एमाले अञ्चल पार्टी कार्यालयमा मतपरिणाम सार्वजनिक गरिएको थियो । युवा संघको कोषाध्यक्षमा गोविन्दबहादुर थापा विजयी भएका छन् । उनले ६ सय २ मत ल्याए । थापा बस्नेत प्यानलका हुन् ।
युवा संघको आठौँ राष्ट्रिय महाधिवेशन निर्धारितभन्दा दुई दिन ढिला सकिएको हो । गत शुक्रबार सुरु भएको महाधिवेशन आइतबार सकिने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, नेतृत्वका लागि सर्वसम्मति जुटाउन गरिएको प्रयास र उम्मेदवार तथा मतदाता नामावलीमा विवाद भएकाले आइतबार सकिने भनिएको महाधिवेशन दुई दिनपछि सकिएको हो । महाधिवेशनको उद्घाटन तथा बन्द सत्र बुटवलको दीपनगरस्थित सिद्धेश्वरी उच्च माविमा भएको थियो । मतदानपछि मतपेटिका एमाले अञ्चल पार्टी कार्यालयमा ल्याएर मत गणना सुरु गरिएको थियो ।
सबै युवाको विजय हो – बस्नेत
युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष महेश बस्नेतले आफ्नो विजयलाई सम्पूर्ण युवाको विजय भनेका छन् । अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँंग प्रतिक्रिया दिँदै उनले पराजित भएकालाई पनि उचित स्थान दिएर संघलाई अगाडि बढाउने बताए । ‘यो परिणाम कसैको हारजित होइन,’ अध्यक्ष बस्नेतले भने, ‘म कसैले हारेको अनुभूति हुन दिन्नँ ।’
यस्तै, अध्यक्ष पदका प्रत्यासी नीरज आचार्यले निर्वाचन परिणामलाई आफूले सहज रूपमा लिएको बताए । ‘मैले प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात गरेको छु,’ उनले सञ्चारकर्मीसंँग भने ।

प्रतिक्रिया