“दृष्टिकोण”मा सन्देश छैन — तुलसी

tulsi-ghimire---Copyकाठमाडौं : निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दृष्टिकोण’ लिएर आएका छन् । सोमबार राजधानीमा आयेजित एक कार्यक्रममा चलचित्रको अडियो तथा प्रोमो सार्वजनिक गरियो । कार्यक्रममा निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्रका निर्देशक तुलसी घिमिरेलगायतले अडियो सार्वजनिक गरे । कार्यक्रममा निर्देशक घिमिरेले यसअघिका चलचित्रमा आफूले धेरै सन्देश दिन खोजेका कारण चलचित्र नचलेको उल्लेख गर्दै ‘दृष्टिकोण’मा दर्शकका चाहानाअनुरूपका विषय वस्तु पस्किएको बताए । उनले भने आफूले चलचित्र सुरु गर्दाको समय र अहिलेको समयमा चलचित्र निर्माणमा हुने झन्झट र अप्ठ्यारा उत्तिकै छन् । निर्देशक घिमिरेले आफ्नो विगतलाई हेरेर पनि चलचित्रका बारेका चर्चा गरिदिन पत्रकारलाई आग्रहसमेत गरे ।
‘दृष्टिकोण’ले जीवनलाई हेर्ने हरेकको आआफ्नो भिन्नभिन्नै दृष्टिकोण हुन्छ भन्ने विषयवस्तु समेटेको छ । चलचित्रले एक मायालु चोर युवकको कथालाई उठान गरेको छ । अपराधीहरूप्रति अत्यन्तै कठोर दृष्टिकोण राख्ने एक डिएसपीको कथालाई सिनेमाले देखाउन खोजेको छ ।
चलचित्र आगामी ३० चैत्रबाट देशभर प्रदर्शनमा आउने भएको छ । एल लामाको प्रस्तुति रहेको चलचित्रलाई ममता गजमेर र राजु धामीले निर्माण गरेका हुन् । कुणाल, हिमानी डिसी, भास्कर प्रधान, ललित गोले, मदन भुजेल, ममता गजमेर, भारती घिमिरे, दिवाकर पाण्डेलगायत कलाकारको चलचित्रमा अभिनय छ । बिबी अनुरागीको संगीत, दिनेश अधिकारीको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रको सम्पादन चन्दन दत्तले गरेका छन् । (सौस)

प्रतिक्रिया