महिला राष्ट्रपतिको कोरियामा शपथग्रहण

सोल : दक्षिण कोरियाको सर्वोच्च कार्यकारी पद राष्ट्रपतिमा निर्वाचित पहिलो महिला पार्क गुन हाईले सोमबार पदको सपथग्रहण गरेकी छिन् । शपथग्रहणका क्रममा उनले उत्तर कोरियाबाट हुनसक्ने आक्रमक सैन्य गतिविधिप्रति शून्य सहनशीलता अपनाउने बताउँदै पारमाणविक महत्त्वाकांक्षा त्याग्न उत्तरसँग आग्रह गरेकी छिन् ।
एसियाको चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरियाकी राष्ट्रपति बनेकी ६१ वर्षीय हाई पूर्वसैनिक शासक पार्क चुङ हीकी छोरी हुन् । गत डिसेम्बरमा भएको आम निर्वाचनबाट उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ।
उत्तर कोरियाली तेस्रो पारमाणविक परीक्षण गरेको दुई साता नपुग्दै भएको शपथग्रहणमा उनले पारमाणविक महत्त्वाकांक्षा त्यागेर अन्तर्राष्ट्रिय समुदायमाझ घुलमिल हुन उत्तरसँग आग्रह गरिन् । ‘उत्तर कोरियाले हालै गरेको पारमाणविक परीक्षण कोरियाली जनताको जीवन र भविष्यसामु तेर्सिएको सबैभन्दा ठूलो चुनौती हो । यसको सबैभन्दा ठूलो मार उत्तर कोरिया स्वयंले भोग्नुपर्ने कसैले बताएको खण्डमा यसलाई अतिरञ्जित मान्नु जायज देखिँदैन,’ उनले भनिन् । साथै उनले मुलुकको सुरक्षा तथा जनताको जिउधनमाथि उत्तरबाट जोखिम आइलागे यसलाई कुनै पनि हालतमा स्वीकार नगरिने उनले प्रस्ट पारिन् । यद्यपि, उत्तरसँग विश्वासको वातावरण सिर्जना गराउन आफू अग्रसर हुने उनले प्रस्ट पारिन् ।
राष्ट्रपति हाईले मुलुकको आर्थिक व्यवस्था र शिक्षा प्रणालीमा समूल सुधार गरिने समेत बताइन् । संसद् भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित करिब ७० हजार व्यक्तिबीच उनले कोरियाली संस्कृतिमा विकाससहित मुलुकको अर्थतन्त्रमासमेत उल्लेखनीय वृद्धि गरी आफ्नो प्रशासनले नवयुगको प्रारम्भ गर्ने जिकिर गरिन् ।
अविवाहित राष्ट्रपति हाई करिब ५३ प्रतिशत मत प्राप्त गरी विजयी भएकी थिइन् । उनी सत्तारूढ ‘न्यु फ्रन्टियर पार्टी’बाट विजयी भएकी हुन् । निर्वाचनका क्रममा उनले मुलुकको आन्तरिक आर्थिक मामिलालाई मुख्य मुद्दा बनाएकी थिइन् । साथै उत्तर कोरियासँग विश्वासको वातावरण निर्माण गर्ने प्रणसमेत उनले गरेकी थिइन् । उनका प्रतिद्वन्द्वीले पनि यस्तै आर्थिक तथा सामरिक नीति र कार्यक्रम प्रस्ताव गरे पनि पार्कको आर्थिक प्रजातन्त्रीकरण कार्यक्रमले जनतामाझ बढी लोकप्रियता हासिल गरेको थियो ।
पहिलोपटक महिला राष्ट्रपति बनेकी पार्कको कार्यकाल चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ । उत्तर कोरियासँगको सामरिक तथा सीमासम्बन्धी विवादलगागत विभिन्न समस्याको उनले सामना गर्नुपर्नेछ । चुनावी नारामा उनले रोजगारी र सामाजिक खर्च बढाउने नारा लगाएकाले यसलाई चरितार्थ पार्नु उनको अर्को चुनौती रहने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया