छाडा सुँगुरको आक्रमणबाट घाइते

राजविराज : राजविराज नगरपालिकामा छाडा सुँगुरको आतंक बढेपछि सर्वसाधारण आतंकित भएका छन् । छाडा सुँगुरले पाँच वर्षीय बालकलाई आक्रमण गरेर घाइते बनाएपछि सुँगुर आतंक मच्चिएको हो ।
राजविराज–७ मा अनिल मेहतरको सुँगुरको आक्रमणबाट रामचन्द्र साहका पाँच वर्षीय छोरा कृष्णकुमार गम्भीर घाइते भएका हुन् । उनको उपचार हुनसकेको छैन । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले बालकलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरे पनि रकम अभावका कारण उपचार गराउन नसकेको बाबु रामचन्द्रले गुनासो गरे ।
छोराको उपचार तथा क्षतिपूर्तिसहित छाडा सुँगुर नियन्त्रणका लागि साहले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । उनले अहिलेसम्म सुँगुर धनी छोराको स्वास्थ्य अवस्था बुझ्नसमेत नआएको गुनासो गरे । सुँगुर आतंकले नगरपालिका फोहोर हुने तथा पशुचौपाया आक्रमण गरी घाइते बनाउने क्रम बढेर मानव आक्रमणमा पुगेपछि स्थानीय आतंकित भएका छन् ।
सुँगुर आतंक बढेपछि करिब पाँच महिनाअघि सिडिओ हरिराज पन्तको नेतृत्वमा स्थानीय एक संस्थाले सुँगुर नियन्त्रण अभियान सञ्चालन गरेको थियो । तर, अभियान प्रभावकारी हुन नसकेका कारण छाडा सुँगुर आतंक नियन्त्रणको सट्टा बढेर गएको सर्वसाधारणको गुनासो छ । (सौस)

प्रतिक्रिया