पाठ्यपुस्तकको अभाव बढ्ने

अधिकांश विद्यार्थीले पाठ्यपुस्तक अभाव भोगिरहेका बेला विद्यालय तहको किताब छाप्ने र वितरण गर्ने दुई संस्थाबीचको सम्बन्ध चिसिएको छ । यसले विद्यार्थीले पुस्तक अभाव झनै भोग्नुपर्ने अवस्था सिर्जना गर्ने देखिएको छ । विद्यालय तहको पुस्तक छाप्ने जनक शिक्षा सामग्री केन्द्र र छापिएका पुस्तक वितरण गर्ने साझा प्रकाशनबीच आर्थिक कारोबार नसुल्झिएपछि पुस्तक वितरणमा समस्या आउने भएको हो । साझाले तत्काल उपलब्ध गराउनुपर्ने चार करोड रुपियाँ नदिएकाले ३६ वर्षअघि देखिको सम्झौता तोड्ने तयारी जनक शिक्षा सामग्री केन्द्रले गरेको हो । पैसा लेनदेनका कारणले बारम्बार चिसिँदै आएको सम्बन्ध तोडेर आफ्नो आर्थिक अवस्था सुधार्नुपर्ने दबाब आफ्नै कर्मचारीद्वारा झेल्दै आएको जनकले यसपटक भने सम्बन्ध तोड्ने मनस्थिति बनाएको बुझिन्छ । साझाले चार वर्षयता १२ करोड ४८ लाख ९६ हजार ३५ रुपियाँ बक्यौता जनकलाई भुक्तानी गर्नुपर्ने भए पनि अहिलेसम्म चासो नदेखाएको गुनासो जनक शिक्षा सामाग्री केन्द्रले गरेको छ । साझाको व्यवहारले आर्थिक समस्या उत्पन्न भएपछि पुरानो सम्बन्धबारे सोच्नुपर्ने अवस्थामा पुगेको जनकको भनाइरहेको छ । अपासको लेनदेन मिलाएर विद्यालयस्तरको पाठ्यपुस्तक छपाई र वितरण गर्ने संस्थाले आफ्नो सेवा नदिने हो भने लाखौं विद्यार्थीको भविष्यमाथि नराम्रो आघात पुग्नेछ । यो संवेदनशील पक्षलाई ध्यानमा राखेर जनक र साझाबीचको लेनदेन व्यवहार मिलाउँदै सहमतिमा काम गर्न जरुरी छ । दुई संस्थाबीचको झगडाले विद्यार्थीको भविष्यमाथि कुनै पनि प्रकारको खेलबाड गरिनु हुँदैन । यसतर्फ, सम्बन्धित सबै पक्ष गम्भीर बन्न जरुरी छ ।
वर्तमान अवस्थामा सबैभन्दा बढी पीडा भोगिरहेको नेपालको शैक्षिक क्षेत्र त्यसै पनि बेकम्मा बन्दै गएको अवस्था छ । विद्यालयलाई शान्ति क्षेत्र बनाउने घोषणा गरिए पनि राजनीतिक कारणले यो क्षेत्र जहिले पनि द्वन्द्वको चपेटाबाट मुक्त हुन सकेन । गुणस्तरहीन शिक्षा, अपुरो पढाइ, समयमै पाठ्यपुस्तक उपलब्ध नहुने र अन्य विभिन्न कारण भोग्दै आएको शिक्षा क्षेत्रलाई जनक र साझाबीचको लेनदेन झगडाले अरू प्रभाव पार्ने देखिन्छ । आर्थिक कारणले विद्यालयस्तरको पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्र टाटपल्टिँदै छ भने साझा प्रकाशन पनि त्यही हालतमा पुगेको छ । दुवै संस्थाको आर्थिक अवस्था नाजुक भएका कारण विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न सक्ने अवस्था छैन । जनकले बेलैमा पुस्तक छपाई गरेर शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै साझालाई पुस्तक उपलब्ध गराउन सक्ने वातावरण कहिल्यै बनाउन सकेन भने साझाले पनि बेलैमा पुस्तक वितरण गरेर आफ्नो दायित्व पूरा गरेन । जसले गर्दा विद्यालयस्तरका विद्यार्थीले प्रत्येक वर्ष पाठ्यपुस्तकको अभाव झेल्नु परेको छ । राज्यले नि:शुल्क शिक्षा उपलब्ध गराउनुपर्ने अवस्थामा विद्यार्थीले पाठ्यपुस्तकसमेत किन्न नपाउनु मुलुककै दुर्भाग्य हो । यस्तो विडम्बनापूर्ण अवस्थाबाट विद्यार्थीलाई मुक्त गर्न राज्यले नै स्पष्ट नीति र व्यवहार अपनाउन जरुरी छ ।
कर्णाली अञ्चललाई विद्यालयस्तरको पाठ्पुस्तक नि:शुल्क उपलब्ध गराउने राज्यद्वारा घोषित कार्यक्रम पाठ्यपुस्तकको अभावमा पूरा हुन सकेको छैन । अन्य दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थी पनि पाठ्यपुस्तकको अभाव भोग्न बाध्य छन् । यसले के देखाउँछ भने राज्यको शिक्षानीति, व्यवहार र दृष्टिकोण ठीक छैन । बन्द, हड्ताल, पुस्तक अभाव र राजनीतिक खेलबाडबाट विद्यार्थी पीडित छन् । यसले पुर्‍याउने दुरगामी नकारात्मक प्रभाव मुलुककै लागि घातक हुनेछ । तसर्थ, सम्बन्धित पक्षले यो विषयलाई गम्भीरतापूर्वक लिएर बेलैमा सच्याउन जरुरी छ । जनक शिक्षा र साझाबीच चिसिएको सम्बन्धले तिनै पीडित विद्यार्थीमाथि अर्को घातक पीडा थप्न सक्छ । शैक्षिक क्षेत्रलाई दृढतापूर्वक शान्ति क्षेत्रमा परिणत गर्ने, समयमै पाठ्यपुस्तक उपलब्ध गराउने र विद्यार्थीलाई उन्नत साथै गुणस्तरीय शिक्षा लिन पाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यो वातावरण निर्माण गर्न पनि जनक शिक्षा र साझाबीचको सम्बन्ध सुधार हुन जरुरी छ । अन्यथा पाठ्यपुस्तकको अभावमा विद्यार्थीले पढ्न नपाउने समय आउन सक्छ ।

प्रतिक्रिया