नयाँ नेतृत्वका लागि मतदान आज

Niraj-Acharyaबुटवल, १४ फागुन । एमाले भ्रातृसंगठन युवा संघ नेपालको बुटवलमा जारी आठौँ महाधिवेशनमा आइतबार झडपको स्थिति देखिएपछि मतदान हुन सकेन । संघको नयाँ नेतृत्व चयन गर्न आइतबार साँझका लागि मतदान कार्यक्रम तय भए पनि झडपको स्थिति देखिएपछि सोमबार बिहानसम्म स्थगन गरिएको छ ।

आइतबार दिनभर नारा–जुलुस र नाचगानसहित संसदीय चुनावको झल्को दिनेगरी प्रचार भएको थियो । प्यानलै खडा गरी चुनावी मैदानमा उत्रिएका निवर्तमान अध्यक्ष महेश बस्नेत र महासचिव नीरज आचार्य पक्षका कार्यकर्ताबीच प्रचारसँगै झडपको अवस्था आउने देखिएपछि निर्वाचन समितिले मतदान प्रक्रिया सोमबार बिहानसम्म स्थगन गरेको हो । निर्वाचन समितिले बेलुका ६ बजेदेखि मतदान गराउने तयारी गरेको थियो । सोमबार (आज) बिहान मतदान सुरु हुने समितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । समितिले आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
प्रतिस्पर्धी प्रचारसँगै झडप हुने खतरा बढेको र रातको समय भएकाले चुनावी कार्यक्रम स्थगन गरिएको समितिका सदस्य भरत केसीले बताए । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र प्रचारमै आइतबार दिन सकिएपछि बेलुका मात्रै मतदान कार्यक्रम तय भएको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निवर्तमान अध्यक्ष बस्नेत र महासचिव आचार्य चुनावी प्रतिस्पर्धामा छन् । महाधिवेशन सुरु हुनुअघि चार जनाको चर्चा चले पनि अहिले आएर दुई प्यानल बन्न पुगेको हो । अध्यक्षको प्रत्यासीमा चर्चा चलेका निवर्तमान उपाध्यक्ष झपट रावलले बस्नेतलाई समर्थन गरेका छन् । उनले बस्नेतकै प्यानलबाट फेरि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा रावलका साथै, सूर्य ढकाल, निरु पाल, हरिन्द्रराय यादव, दिलु पन्त, महासचिवमा राजीव पहारी, सचिवमा किरण पौडेल, चन्द्र माला, हस्त शाही, अशोक चन्द, टीकाराम शर्मा, रमेश पौडेल, भगवती विष्ट, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा र कोषाध्यक्षमा गोविन्द थापाको उम्मेदवारी परेको छ ।
आचार्य प्यानलबाट उपाध्यक्षमा राजु गुरुङ, पार्वती केसी, लेखराज गौतम, ज्ञानेन्द्रमोहन श्रेष्ठ, रञ्जना सरकार, महासचिवमा बाबुराम थापा, सचिवमा गणेश श्रीपाली, नरेश शाही, लेखराज भट्ट, चन्द्र बुढा, क्रान्ति बुर्लाकोटी, प्रकाश ढुंगाना, अशोक यादव, जितबहादुर राय, कोषाध्यक्षमा दीपेशमान जोशीले उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार पदाधिकारीसहित पाँच सयभन्दा बढीको उम्मेदवारी परेको छ ।
छुट्टाछुट्टै भेला
अध्यक्षका प्रत्यासी महेश बस्नेतले एमालेलाई आगामी चुनावबाट पहिलो शक्ति बनाउन सबै युवा सशक्त भएर लाग्नुपर्ने बताए । आºना समूहका केही अगुवा कार्यकर्तालाई पार्टी कार्यालयनजिकै रहेको निर्माण व्यवसायीको सभा हलमा भेला गराएर संयमित, मर्यादित र सशक्त भएर प्रस्तुत हुन बस्नेतले निर्देशनसमेत दिएका थिए । उनले संघको आन्तरिक चुनावभन्दा पनि अब हुने संविधानसभा/संसद्को चुनावमा केन्द्रित भएर लाग्नुपर्ने बताएका थिए ।
आचार्य पक्षले पनि छुट्टै भेला गरी संघमा बौद्धिकभन्दा पनि गुन्डागर्दी हाबी हँुदै गएको आरोप लगाएको छ । संघलाई डनवाद र गुन्डागर्दीबाट मुक्त राख्न आफूले उम्मेदवारी दिएको आचार्यको भनाइ थियो ।
महाधिवेशनस्थलमा सुरक्षाकर्मीको पहरा
बुटवलको सुख्खानगरस्थित सिद्धेश्वरी लालकुमारी उच्च माध्यमिक विद्यालयमा जारी युवा संघको महाधिवेशनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एउटै समयमा दुवै प्यानलले चर्काे नाराजुलुस गर्न थालेपछि महाधिवेशनस्थलमा जनपद र सशस्त्र प्रहरीको ठूलो समूह परिचालन गरिएको हो । इलाका प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी कार्यालयका प्रमुखसहितको प्रहरी टोली खटिएका छन् । आइतबार बिहान १० बजेदेखि दुवै पक्षका कार्यकर्ता सिद्धेश्वरी चौरमा नाराबाजीमा उत्रिएका थिए । सुरुमा आचार्य समूहले नाराबाजी गर्दै जुलुस निकालेपछि बस्नेत समर्थकले पनि महाधिवेशनस्थलबाट नारा–जुलुस गर्दै पार्टी कार्यालय हुँदै त्यही ठाउँमा आएर चुनावी सभा गरेका थिए ।
महाधिवेशनस्थलमा नाराजुलुस हुन थालेपछि निर्वाचन समितिले चुनावी प्रक्रिया थालेकाले नेता/कार्यकर्ता मनोनयन दर्ता गर्न व्यस्त हुँदा झडप हुन रोकिएको थियो ।
महेश बस्नेत प्यानल
उपाध्यक्षमा, झपट रावल, सूर्य ढकाल, निरु पाल, हरिन्द्रराय यादव, दिलु पन्त, महासचिवमा राजीव पहारी, सचिवमा किरण पौडेल, चन्द्र माला हस्त शाही, अशोक चन्द, टीकाराम शर्मा, रमेश पौडेल, भगवती विष्ट, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा, कोषाध्यक्षमा गोविन्द थापा
नीरज आचार्य प्यानल
उपाध्यक्ष, राजु गुरुङ, पार्वती केसी, लेखराज गौतम, ज्ञानेन्द्रमोहन श्रेष्ठ, रञ्जना सरकार, महासचिवमा बाबुराम थापा, सचिवमा गणेश श्रीपाली, नरेश शाही, लेखराज भट्ट, चन्द्र बुढा, क्रान्ति बुर्लाकोटी, प्रकाश ढुंगाना, अशोक यादव, जितबहादुर राय, कोषाध्यक्षमा दीपेशमान जोशी

प्रतिक्रिया