एकसाता पछि मूल्य बृद्धि फिर्ताको निर्णय

nepal_oil_corporation_काठमाडौं, १३ फागुन । नेपाल आयल निगमले फागुन एक गते बृद्धि गरेको खाना पकाउने एलपी ग्याँसको मूल्य झण्डै एकसाता पछि औपचारिक रुपमा फिर्ता लिएको छ ।
विपक्षी दल सम्बद्ध ११ विद्यार्थी संगठनसँग फागुन ३ गते भएको सहमति अनुसार निगमले ११ गते शुक्रबार बसेको निगमको बोर्ड सञ्चालक समितिको बैठकले मूल्य बृद्धिको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।
निगमले विज्ञप्ति जारी गरेर खाना पकाउने एलपी ग्याँसमा गरेको मूल्य बृद्धिको निर्णय फिर्ता लिने निर्णय गरेको जनाएको छ । मौखिक रुपमा एकसाता अघि मूल्य बृद्धि फिर्ता लिए पनि लिखित रुपमा निगमले शुक्रबार मात्रै निर्णय फिर्ता गरेको हो ।
‘शुक्रबार बसेको निगमको संचालक समितिको बैठकले एलपी ग्याँस उपभोक्ता कार्ड वितरण कार्य र निलो रंगको सिलिण्डर बजारमा प्रचलनमा ल्याउने कार्य प्रभावकारी ढंगले नभएकाले मूल्य बृद्धि फिर्ता लिने निर्णय भएको छ, विज्ञप्तिमा भनिएको छ ।
उपभोक्ता कार्डबाट मासिक रुपमा रातो रंगको एलपी ग्याँसको प्रति एक सिलिण्डरमा अनुदान दिने ब्यवस्था गरेर मूल्य बृद्धि गरे पनि चौतर्फी विरोध भए पछि निगम आफ्नो निर्णयबाट पछि हटेको थियो ।
मूल्य बृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनका प्रतिनिधिसँग भएको सहमति अनुसार मूल्य बृद्धिको निर्णय फागुन ११ गते शुक्रबार औपचारिक रुपमा फिर्ता लिईएको निगमले जनाएको छ ।
यसैबीच, मूल्य बृद्धि फिर्ता लिने निगमको औपचारिक निर्णयको एघार विद्यार्थी संगठनले स्वागत गरेका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले निगमको निर्णयको स्वागत गरिएको बताए । ‘निगमले मूल्य बृद्धिको निर्णय फिर्ता लिएर जनताको कदर गरेको छ,’ उनले भने ।

प्रतिक्रिया