सचिन शतकतर्फ

sachinचेन्नाई, १३ फागुन । मास्टर ब्लास्टर सचिन तेन्दुलकर लयमा फर्किएपछि भारतले अस्ट्रेलियाविरुद्धको चार म्याचको टेस्ट शृंखलाअन्तर्गत पहिलोमा मध्यम प्रदर्शन गरेको छ । दुवै प्रारम्भिक ब्याट्सम्यान मुरली विजय र वीरेन्द्र सहवाग सस्तैमा आउट भए पनि भारतले दोस्रो दिनको समाप्तिमा तीन विकेट गुमाउँदै १ सय ८२ रन जोडेको छ । सचिन ७१ र विराट कोहली ५० रनमा नटआउट छन् । यी दुईबीच चौथो विकेटका लागि ७७ रनको साझेदारी भइसकेको छ ।

सचिनसँग ९३ रनको साझेदारी गर्नुअघि चेतेश्वर पुजारा ४४ रन जोडेर तेस्रो विकेटका रूपमा आउट भए । बलिङतर्फ अस्ट्रेलियाका जेम्स प्याटिन्सनले तीन विकेट लिए । विजय १० र सहवाग दुई रन जोडेर आउट भए । गत वर्षको मार्चयता सचिनले शतकीय इनिङ खेल्न सकेका छैनन् ।
यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ३ सय ८० रन जोड्यो । माइकल क्लार्कले १ सय ३० रन जोडे । त्यस्तै, मोइसिस हेनरिक्सले ६८, डेभिड वार्नरले ५९ र एड कोवानले २९ रन जोडे । क्लार्क र हेनरिक्सबीच छैटौँ विकेटका लागि १ सय ५१ रनको साझेदारी भएको थियो । बलिङतर्फ भारतका रविचन्द्रन आश्विनले सात विकेट लिए । ४२ ओभर बलिङ गर्ने क्रममा उनले १२ मेडन राखेर १ सय ३ रन खर्चिए । आश्विनका अतिरिक्त रवीन्द्र जडेजाले दुई र हरभजन सिंहले एक विकेट लिए ।
एकदिशीय पनि इंग्ल्यान्डलाई
टी–२० पछि इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखला पनि जितेको छ । शनिबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाँच विकेटले विजयी हुँदै इंग्ल्यान्ड २–१ ले अगाडि रह्यो । निर्णायक खेलमा जित दिलाउन इंग्ल्यान्डका लागि बलरको भूमिका महत्त्वपूर्ण रह्यो । पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ४३.५ ओभरमा १ सय ८५ रनमा समेटिएको थियो ।
इंग्ल्यान्डका स्टिभन फिनले तीन तथा ग्रिम स्वान र स्टुवार्ट ब्रडले समान दुई विकेट लिए । दुवै प्रारम्भिक ब्याट्सम्यानलाई व्यक्तिगत दोहोरो अंक छुन नदिई फिनले पवेलियन पठाउँदा मध्यक्रमका ब्रेन्डन म्याकलमले ७९ रन जोड्दै इनिङलाई चुनौतीपूर्ण योगफलसम्म पुर्‍याउने प्रयास गरे पनि अन्यको प्रदर्शन सुखद रहेन । रोस टेलरले २८ र ग्रान्ट एलियटले २४ रन जोडे । फिनले ९ ओभरमा तीन मेडन राखेर २७ रन खर्चिए । इंग्ल्यान्डले ३७.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पहिलो विकेटका लागि ४२ रनको साझेदारी भएको इंग्ल्यान्डको इनिङमा कप्तान एलेस्टर कुकले ४६, जोनाथन ट्रट ३८, इओइन मोर्गानले ३९, जोए रुटले २८ र इयान बेलले २४ रन जोडे । पहिलो म्याच जितेको न्युजिल्यान्ड दोस्रोमा पराजित भएको थियो ।

प्रतिक्रिया