सिरियाली विद्रोहीद्वारा बैठक बहिष्कार

बेरुत : सिरियाली विद्रोहीहरूको समूह प्रतिपक्षी राष्ट्रिय गठबन्धनले रुस तथा अमेरिकामा हुने भनिएको ‘सिरियाका मित्रहरू’को बैठक बहिष्कार गर्ने घोषणा गरेको छ । सिरियामा सरकारद्वारा जनतामाथि अपराध भइरहेको जिकिर गर्दै गठबन्धनले राज्यद्वारा भएको अपराधको भत्र्सना नगरेको भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेको हो । बैठकले सिरियाली राष्ट्रपति बसर अल असदको सरकारलाई समर्थन गरेकोमा पनि गठबन्धनले विरोध जनाएको छ ।

विगत दुई वर्षयता सिरियाली जनतामाथि दमन र बल प्रयोग भइरहे पनि अन्तर्राष्ट्रिय समुदाय मौन भएकाले बैठकमा भाग नलिने निर्णय गरिएको गठबन्धनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा निहत्था नागरिकमाथि क्षेप्यास्त्र प्रहार गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय मौन बसेको भन्दै रोष व्यक्त गरिएको छ । ‘अन्तर्राष्ट्रिय समुदायको यस्तो लज्जाजनक कार्यका कारण ‘फ्रेन्ड्स अफ सिरिया’को बैठकमा भाग नलिने भएका छौँ,’ विज्ञप्तीमा भनिएको छ । (एएफपी)

प्रतिक्रिया