दलीय नेतृत्व नै उपयुक्त

नेपालको राजनीतिक अन्योल अरू लम्बिने देखिएको छ । राजनीतिक दलहरू असफल भएपछि प्रधानमन्त्रीका लागि गैरदलीय व्यक्ति खोजेर अन्योल समाप्त पार्ने ‘नेता सोच’ले पनि तत्काल काम गर्ने देखिँदैन । निर्वाचनलाई केन्द्रविन्दुमा राखेर त्यही सर्तमा कुनै दलको एक नेतालाई प्रधानमन्त्री बनाए यो राजनीतिक अन्योल समाप्त हुने थियो । तर, नेताहरूले आफूले आफैँलाई विश्वास गर्न नसक्दा राजनीतिक संकट बढ्ने र संवैधानिक रिक्तता थपिँदै जानेक्रम बढेको हो । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनिदिन गरेको बिन्तीले पूर्णता नपाएपछि नेताहरूले अब कुन ‘सूत्र’अगाडि सार्ने हुन अहिले नै भन्नसक्ने अवस्था छैन । तर, जुनसुकै सूत्रअगाडि सारे पनि जेठमा चुनाव हुन सक्ने अवस्था अब रहेन । एकातिर अहिले नै सहमति हुन सक्ने देखिँदैन भने अर्कोतिर सहमति भए पनि अब समय पुग्दैन । जसले गर्दा नेपाली जनताले नेताहरूद्वारा थोपरिएको संकट अरू एक/दुई वर्ष भोग्नुपर्ने देखिन्छ । गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषयमा शीर्ष नेताबीच सहमति देखिए पनि कांग्रेस र एमालेभित्र चरम विवाद देखिएको छ । जुन, विवादको उचित व्यवस्थापन नगरी गैरराजानीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाए उसले काम गर्न सक्ने वातावरण बन्दैन । यसले झन् अन्योल सिर्जना गर्नेछ । तसर्थ, दलकै कुनै नेतालाई प्रधानमन्त्री बनाएर नेताहरूले समस्या समाधान गर्नुपर्छ ।

वर्तमान गठबन्धन सरकार आफैँमा अप्राकृतिक रूपमा पदका लागि मात्र बनेको हुँदा यसमा समावेश दलका नेताको सोच नै फरक छ । जसले गर्दा मधेस केन्द्रित दलहरूले भरसक निर्वाचन हुनदिने छैनन्, निर्वाचन हुनदिए पनि तराई भित्रिएका सबैलाई नेपाली नागरिकता दिनुपर्ने सर्त अगाडि सार्ने छन् । साथै एमाओवादीको मित्री आशय पनि चुनावको पक्षमा देखिँदैन । सबैक्षेत्र भत्काएर सत्तामा टिक्ने सोच वर्तमान प्रधानमन्त्रीमा रहेको छ । यिनै कारणले गर्दा कहीँकतै सहमतिको गुन्जायस देखिँदैन । राजनीतिक र संवैधानिक संकट हटाउन सक्ने व्यक्ति वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई मात्र हुन् । तर, उनी मार्ग प्रशस्त गरेर मुलुकलाई निकास दिन मान्ने पक्षमा छैनन् । उनलाई देश र जनताको भन्दा पनि पदको माया छ भन्ने स्पष्ट भइसकेको छ । अब समस्या समाधानको उपाय के ? भन्ने प्रश्न उठेको छ । मुलुकलाई अनिर्णयको बन्दी बनाएर सधैँ राख्न सकिँदैन । र, निर्वाचनसँग सधैँ माग्न पनि मिल्दैन । यसर्थ, दलका शीर्ष नेताले साना दलको नेताको नेतृत्व वा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा स्वीकार गरेर सहमतिको सरकार गठन गर्नुपर्छ । गैरदलीय व्यक्तिको नेतृत्वमा बनेको सरकारले निर्वाचन गराउन सक्ने अवस्था छैन । यसलाई दलका शीर्ष नेताहरूले गम्भीरतापूर्वक लिनुपर्छ ।
अन्योल, अस्थिरता र संकट निवारणका लागि अहिले पहिलो सर्त सहमतीय सरकार निर्माण नै हो । सहमतिमा सरकार बने जेठमा नभए अर्को उपयुक्त समयमा निर्वाचन गराउन र संवैधानिक निकायलाई पूर्णता दिन सक्छ । तर, निर्वाचनबाहेक पनि अन्य थुप्रै सर्त राखेर एमाओवादीले सहमति हुन दिने छैन । किनकि, त्यहाँ अहिले दाहालभन्दा भट्टराई हावी भएका छन् । र भट्टराई आफू नभए अरूलाई पनि हुन दिने पक्षमा छैनन् । यो अप्ठयारो अवस्थामा मुलुकको राजनीति दलीय पद्धतिबाट बाहिरिने हो कि भन्ने शंका गर्न थालिएको छ । तसर्थ, दलका नेताको विकल्पमा गैरराजनीतिक व्यक्तिको खोजिगरिनु उपयुक्त हँुदैन । दलका नेतामा जति विश्वास, ऊर्जा र शक्ति हुन्छ गैरराजनीतिक व्यक्तिमा त्यो हँुदैन । यिनै कारणहरूले गर्दा अहिले जटिल र अन्योलपूर्ण अवस्थाबाट राष्ट्रलाई मुक्त गर्न दलकै नेताको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । यो बाहेक अन्य विकल्प हानिकारक हुन सक्छ ।

प्रतिक्रिया