थाई प्रधानमन्त्री हङकङ जाने

बैंकक : थाइल्यान्डकी प्रधानमन्त्री यिंगलक सिनावात्राले आगामी साता हङकङ भ्रमण गर्ने थाई सरकारले बिहीबार जनाएको छ । भ्रमणको क्रममा हङकङका कार्यकारी प्रमुख सिवाई लेउंगसहित त्यहाँका व्यापारिक प्रतिनिधिमण्डलसँग उनले भेटवार्ता गर्ने जनाइएको छ । प्रधानमन्त्री सिनावात्रा फेब्रुअरी २५ देखि २६ सम्म हङकङमा रहने जनाइएको छ ।
भ्रमणका क्रममा उनले द्विपक्षीय व्यापार, लगानीलगायतका आर्थिक मुद्दामा छलफल गर्नेछिन् । साथै अन्य कूटनीतिक विषयमा पनि परामर्श हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री सिनावात्राले हङकङका विभिन्न क्षेत्रका उच्चस्तरीय अधिकारीसँग पनि भेटवार्ता गर्नेछिन् । हङकङ भ्रमणको एक दिन अघि दक्षिण कोरियामा हुने त्यहाँका नवनियुक्त राष्ट्रपतिको सपथग्रहण समारोहमा पनि सिनावात्राले सहभागिता जनाउने बताइएको छ ।
दक्षिण कोरियामा केही समयअघि भएको निर्वाचनमा पहिलो महिला राष्ट्रपतिका रूपमा पार्क गेउन निर्वाचित भएकी थिइन् । फेब्रुअरी २४ मा उनले राष्ट्रपति पदको सपथ लिँदै छिन् । (सिन्ह्वा)

प्रतिक्रिया