उपयुक्त कारागारको निर्माण गर

देशको आर्थिक, शैक्षिक, सामाजिक र भौतिक अवस्थाको ऐना जेल हो । भनिन्छ कारागारको अवस्थाले नै मुलुकको अवस्था कस्तो छ भनेर बुझ्न सजिलो बनाउँछ । साथै, कारागार देशको प्रतिविम्ब हो । र, जेलको अध्ययन गरेपछि समग्र देशको अवस्थाबारे अध्ययन गरिरहनु पर्दैन । चोरी, डकैती, ठगी, बलात्कार, मानहानी, राजनीति, भ्रष्टाचार, अपहरण, हत्या, मानव तस्करी, आर्थिक अपचलन, राजस्व ठगी, मानवअधिकार हनन र अन्य अपराधमा संलग्नहरू जेलमा हुन्छन् । उनीहरूको अध्ययनले राष्ट्र र समाजको अध्ययन गर्न सजिलो हुन्छ । कतिपय अन्याय र परिबन्धमा परेकाहरू पनि जेलमा छन् । ती निर्दोषहरूको अध्ययनले सुरक्षा निकायद्वारा गरिने अनुसन्धानको चित्रण गर्छ । अर्थात् जेलभित्र छुट्टै संसार हुन्छ जसलाई अर्कै संसार भनिन्छ । त्यहाँ राजनीतिक प्रतिशोध र समूहगत बेमेलका कारण जेल परेकाहरू हुन्छन् । अर्थात, त्यहाँ सबै प्रकारका व्यक्ति राखिन्छन् । सबै धर्म, जात, लिंग, वर्ग र क्षेत्रका मानिसले गरेका अपराधअनुसार सजाय भोग्न जेलमा राखिएका हुन्छन् । यसै कारण जेल अर्को संसार हो । र, त्यसलाई समयानुकुल हेरिनुपर्छ । मानवीय दृष्टिकोणले अति संवेदनशील क्षेत्र जेलको भौतिक अवस्था राज्यले दुरुस्त राख्न सकेन भने त्यसको सन्देश राम्रो जाँदैन । र, जेलभित्र मानवअधिकार हनन भएको ठानिन्छ ।
गत बुधबार नाइके छान्ने विषयलाई लिएर जिल्ला कारागार उदयपुरमा झडप भयो । केही–बन्दीबीचको उक्त झडपमा सात जना कैदी–बन्दी घाइते भएका छन् । जेलभित्र अत्यधिक दमन र शोषण हुन्छ । भित्री प्रशासन चलाउन कैदीमध्येबाट छानिएको नाइकेको जमात शोषण, दमन, अन्याचार र दुराचारमा खुलेरै लागेपछि त्यसको प्रतिरोध गर्दा वा अर्को जमातले आन्तरिक सत्ताकब्जा गर्नखोज्दा उदयपुर कारागारको घटना भएको बुझ्न सकिन्छ । यस्ता घटनाहरू हुन नदिन जेल प्रशासन र सुरक्षा निकायले ध्यान दिनुपर्ने हो । तर, कैदी–बन्दीको शोषण गर्ने नाइकेहरूले उनीहरूलाई समेत आफ्नो प्रभावमा लिएपछि यस्ता घटना सहज रूपमा हुन्छन् । अहिले विभिन्न कारागारमा कैदी–बन्दी आपसमा झगडा गर्नुका पछाडि भिन्नाभिन्नै कारण देखिए पनि यसको मुख्य कारण जेलभित्र फस्टाउँदो शोषण, दमन, अन्याय, अत्याचार र अत्यन्तै साँघुरो बस्ने स्थान नै हो । यसलाई रोक्ने राज्यसँग थुप्रै उपायहरू छन् । तर, राज्य नै आफ्नो दायित्वप्रति उदासीन बनेपछि कारागारहरूमा निरन्तर झडप हुने शृंखला बढ्दै गएका हुन् ।
नेपालका कारागारहरू जीर्ण र निकै अप्ठ्यारा छन् । राणाकालीन भवनहरूलाई पर्खाल लगाएर कारागारको रूप दिइएको छ । ती साना र अप्ठ्यारा घरहरूमा क्षमताभन्दा दोब्बर बढी कैदी–बन्दी कोचाकोच गरेर राख्ने गरिएको छ । जसले गर्दा मानसिक तनाब बढ्ने, स्वास्थ्य, खानपिन र अन्य विषयमा पनि उनीहरू असहज महसुस गर्न बाध्य हुन्छन् । यी सबै पक्षलाई ख्याल गरेर सरकारले आधुनिक कारागार निर्माण गर्नुपर्छ । अहिले चर्चामा आएको छ । नुवाकोटमा एउटा ठूलो र आधुनिक कारागार निर्माण गर्न, अध्ययन प्रतिवेदन तयार भएको छ । उक्त प्रतिवेदनअनुसार १० हजार कैदी–बन्दी सहजतापूर्वक बस्ने क्षमता भएको कारागार निर्माण हुने हो भने विभिन्न जिल्लामा रहेका कारागारसम्बन्धी अप्ठयाराहरू समाप्त हुनेछन् । तर, कारागार निर्माण गर्न गृह प्रशासन र सरकारसमेत लाग्न सक्नुपर्छ । अहिलेका प्राय: शीर्ष नेताका साथै वर्तमान गृहमन्त्री विजयकुमार गच्छदार, पूर्व गृहमन्त्रीहरू र प्रधानमन्त्रीहरू सबैले जेल भोगेका छन् । बहुदलीय व्यवस्था आएपछि मन्त्री बनेका नेताले जेल निर्माण र सुधार गर्ने घोषणा पनि गरेका थिए । तर, ती घोषणाहरू आजसम्म पूरा भएनन् । यसर्थ कारागार निर्माणमा ध्यान दिन सरकार लाग्नुपर्ने भएको छ । साथै, कारागारभित्रै हुने गरेका सबैखाले शोषण, दमन, अन्याय र अत्याचार रोक्न विशेष खाले नीति अवलम्बन गर्न जरुरी छ । यसले मात्र कारागारहरू सुधार हुन सक्छन् ।

प्रतिक्रिया