युवा पलायनको डरलाग्दो अवस्था

नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य छन् । आफ्नो मुलुकमा कामको अभाव भएका कारण बिदेसिने युवाहरू संख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वदेशमा विकास कार्य ठप्प हुनु, भएका कलकारखाना बन्द हँुदै जानु, नयाँ उद्योग व्यवसाय स्थापना हुने वातावरण नबन्नु र श्रम बेच्न सक्ने क्षेत्र पनि राजनीतिक हस्तक्षेपले तहसनहस भएकाले युवाले आफ्नै मुलुकमा रोजगारी पाउने अवस्था छैन । यही कारणले युवा बेरोजगराको संख्या अत्यधिक बढेको छ । उनीहरू रोजगारी चाहन्छन् । तर, रोजगारीका सम्भावना कतै देख्दैनन् । जसले गर्दा कष्ट उठाएर भए पनि विदेशमा श्रम बेच्न जानुपर्ने बाध्यतामा युवाहरू छ । उनीहरूको युवा जोस र जाँगरलाई आफ्नै मुलुकमा सदुपयोग गर्ने वातावरण नबन्दा नेपाललाई ठूलो क्षति भइरहेको छ । यसले भविष्यमा नराम्रो असर पार्ने देखिन्छ । मुलुक निर्माणमा युवाहरूको महत्त्वपूर्ण योगदान रहनुपर्छ । जुनसुकै राष्ट्रका लागि महत्त्वपूर्ण सम्पति भनेको युवा शक्ति नै हो । त्यो शक्तिको सदुपयोग नहुने हो भने राष्ट्र कहिल्यै पनि विकसित बन्दैन । युवाहरूले स्वदेशमै बसेर आफ्नो श्रम लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यदि राज्यले आफ्नो युवाको श्रम, शक्ति आफ्नै देशमा लगानी गर्न सकेन भने विकास कार्य सफल हँुदैन । यसतर्फ राजयका सबै पक्षले गम्भीरतापूर्वक सोच्न र सोही अनुरूप रोजगारीको अवसर सिर्जना गर्ने नीति निर्माण गर्नुपर्छ ।
खाडी मुलुक र मलेसियालगायतका मुलुमा कडा श्रम बेचेर नेपाली युवाले पठाएको रेमिटेन्समा रमाउने प्रवृत्ति राज्यका निकायमा रहेको पाइन्छ । यो प्रवृत्ति घातक र अदूरदर्शी सोचको उपज हो । तसर्थ, राज्यले युवालाई स्वदेशमै रोजगारीको सिर्जना गरेर रोक्ने उपाय खोज्नै पर्छ । युवा पलायनको अवस्था निकै डरलाग्दो छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र रोजगारीका लागि ३७ हजार चार सय ८१ जना युवा विदेशिएका छन् । यसबाहेक छिमेकी मुलुक भारत पलायन हुने युवाको संख्या झन् ठूलो छ । रोजगारी खोज्न विदेशिने युवाले आफ्नो भएको सम्पत्ति सस्तोमा बेचेर हिंडेका छन् ।
ती युवाबाट अत्यधिक रकम असुल्ने मेन पावरहरूले पनि युवाहरूलाई भनेको काम दिलाउन सकेका छै्रनन् । भनेको काम नपाउने, भनेको ज्याला नपाउने र श्रम भने बढी नै गर्नुपर्ने बाध्यता वैदेशिक रोजगारमा जाने युवाहरूले बेहोर्नु परेको छ । चालु आर्थिक वर्षमा मात्र विदेशिने युवाको संख्या दुई लाख ३७ हजार ६ सय ८६ पुग्नु राष्ट्रका लागि विडम्बना हो । एक वर्षमा लगभग साढे दुई लाख युवा श्रम बेच्न विदेशिनु भनेको दुई करोड ७० लाख जनसंख्या भएको मुलुकमा वृद्ध–वृद्धा र बालबालिका मात्र रहने अवस्था आउनु हो । अहिले नेपालका ग्रामीण क्षेत्र युवाविहीन बन्दै गएका छन् । कतिपय गाउँमा मलामी पाउन छाडेको अवस्था छ । अब पनि स्वदेशमा रोजगारी सिर्जना गरेर युवालाई रोक्ने काम भएन भने नेपाली समाज र यहाँको अर्थतन्त्र नराम्ररी प्रभावित हुनेछ ।
मुलुकको अस्थिर राजनीति, माओवादी द्वन्द्वले पारेको प्रभाव, दलका नेताहरूको सत्ता लुछाचुँडीमै अल्मलिने प्रवृत्ति र स्थायी सरकार मानिने कर्मचारी तन्त्रको नालायकीपनाका कारण नेपालमा विकास नभएको हो । जसले गर्दा रोजगारी सिर्जना हुने अवस्था नै भएन । यो दु:खद पक्ष पटाक्षेप गर्ने सोच भएको नेतृत्व पनि मुलुकले पाएन । यसले गर्दा विदेशमा जस्तोसुकै कष्टपूर्ण काम गर्नु परे पनि घरखेत बेचेर युवा पलायन हँुदै छन् । दलहरूले सरकारमा रहँदा रोजगारी सिर्जना हुने योजना नबनाउने तर, आफ्नो पार्टीको दस्तावेजनमा भने युवालाई स्वदेशमै रोजगारीमा लगाउने प्रतिबद्धता जनाउने गरेका छन् । जसलई युवाले विश्वास गर्दैनन् त्यही गफ नेताहरू गर्छन् । जसरी हुन्छ आफ्ना युवालाई रोजगरीको व्यवस्था गर्नुपर्छ । यसले मात्र देश विकसित बन्न सक्छ ।

प्रतिक्रिया