विपक्षीले धूलो चाट्ने सिरियाली राष्ट्रपतिको दाबी

siriदमास्कस : सिरियाली राष्ट्रपति बसर अल असदले सिरियामा जारी युद्ध आफ्नो विजय निश्चित रहेको दाबी गरेका छन् । सरकारविरुद्ध संघर्षरत विपक्षीले विदेशीको आडमा हिंसा मच्चाएको आरोप लगाउँदै राष्ट्रपति असदले विपक्षीले धूलो चाट्ने निश्चित रहेको जिकिर गरेका हुन् ।
विपक्षीले सरकारसँग वार्ताको इच्छा व्यक्त गरिरहेका बेला राष्ट्रपति असदले मंगलबार यस्तो आक्रामक भनाइ राखेका हुन् । असदको भनाइले वार्ताका लागि अनुकूल बनिरहेको माहोल बिग्रिनसक्ने जोखिम बढेको विश्लेषण गरिएको छ । आफ्नो राजीनामा माग गर्दै करिब दुई वर्षदेखि जारी आन्दोलन र सशस्त्र विद्रोहतर्फ लक्षित गर्दै असदले भने, ‘यो लडाइँमा सिरियाली नागरिकको सहभागिता छैन ।’ विद्रोहमा कसको संलग्नता छ भन्ने प्रष्ट नबताए पनि उनले केही पश्चिमी राष्ट्रले सिरियामा आतंक सिर्जना गराएको संकेत गरेका छन् । सिरियाली पत्रिका ‘आस साफिर’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति असादले यस्तो बताएका हुन् । मंगलबारको अंकमा असदको अन्तर्वार्ता प्रकाशित भएको जनाइएको छ ।
अघिल्लो साता विपक्षीले वार्तामार्फत संकट समाधानका लागि राष्ट्रपति असदसमक्ष वार्ताको प्रस्ताव गरेका थिए । अन्तर्वार्तामा असदले वार्ता प्रस्तावप्रति कुनै प्रतिक्रिया नदिइकन युद्ध आफ्नो सेना विजयी हुने दृढता व्यक्त गरेका छन् । यसअघि राष्ट्रसंघ महासचिव बान कि मुनले विपक्षीबाट अघि सारिएको वार्ता प्रस्तावलाई सकारात्मक रूपमा लिई लाभ उठाउन राष्ट्रपति असदलाई सुझाव दिएका थिए । प्रस्तावको सदुपयोग गर्न सिरियाका लागि अन्तर्राष्ट्रिय विशेष दूत लख्तार ब्राहिमीले आग्रह गरेका थिए । माघको सुरुतिर हतियार बिसाएर वार्तामा आउन विद्रोहीहरूलाई आह्वान गरेको थियो । सिरियाली सरकारका तर्फबाट विदेशमन्त्री वालिद अल मोआलेमले यस्तो आह्वान गरेका हुन् ।
यद्यपि, उनले सिरियामाथि विदेशी हस्तक्षेपको सम्भावनालाई अस्विकार गर्नेमा आफूहरू अडिग रहेको बताएका थिए । हतियार बोक्ने युवा समूहलाई वार्तामा आउन आह्वान गर्दै मन्त्री वादिलले नयाँ सिरिया निर्माणमा विपक्षीसमेतको साझेदारी आवश्यक रहेको जिकिर गरेका थिए । सिरियाली सरकारले कतार, साउदी अरब, टर्कीलगायत मुलुकले सिरियाली विद्रोहीलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ । यसमा अमेरिकालगायत केही पश्चिमी राष्ट्रको संलग्नता रहेको उसले दाबी गर्दै आएको छ । यसअघिसमेत राष्ट्रपति असदले सिरियाली विद्रोहीहरूलाई ‘आतंकवादी’ र ‘विदेशी दलाल’को संज्ञा दिँदै उनीहरूसँग कुनै प्रकारको सम्झौता नहुने बताएका थिए । सिरियाली संकट समाधानका लागि शान्ति योजना प्रस्ताव गर्दै उनले मुलुकमा मेलमिलाप स्थापनाका लागि बृहत् राजनीतिक सम्मेलन आयोजना गर्न सकिने बताए पनि ‘सिरियालाई धोका दिने’हरूलाई यसमा सहभागी हुन नदिइने प्रस्ट पारेका थिए । सिरिया अहिले युद्धमा रहेको उल्लेख गर्दै उनले दुई/चार सिरियालीलाई हातमा लिएर विदेशीले सिरियाविरुद्ध आरम्भ गरेको युद्धको डटेर प्रतिरोध गर्न देशवासीसमक्ष आह्वानसमेत गरेका थिए ।
अमेरिका, युरोपेली युनियन, अरब लिग, राष्ट्रसंघलगायतले विद्रोहीहरूको पक्षमा मत जाहेर गर्दै आएका छन् । इरान, चीन र रुसले भने असदको पक्ष लिँदै आएका छन् । सन् २०११ को मार्चदेखि सुरु भएको आन्दोलनका क्रममा सिरियामा ६४ हजारभन्दा बढीले मृत्यु भइसकेको मानव अधिकारवादीहरूले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया