ऊर्जा विकासमा ध्यान देऊ

लोडसेडिङको मार भोगिरहेको नेपालमा जलस्रोतको भण्डार भए पनि उपयोग गर्न सकिएन । विद्युत् विकासमा नीति निर्माणदेखि, योजना स्थलसम्म राजनीति र कमिसनको खेल हुने गरेकाले आयोजनाहरू प्रभावित हुने गरेका छन् । आयोजनाहरू सुरु गर्नमै पनि साह्रै ढिलो गर्ने गरिएको छ । जसले गर्दा एक सय वर्षको बिजुली इतिहासमा सबैभन्दा सुस्त र नगन्य रूपमा मात्र विद्युत् विकास भयो । यसको फलस्वरूप प्रचुर सम्भावना केबल सम्भावनामा सीमित भए । अरुण तेस्रो आयोजनामा देखिएको राजनीतिक किचलोले निकै नराम्रो प्रभाव पार्‍यो । त्यसको मार अहिलेसम्म नेपालले भोग्दै छ भने अत्यधिक बिजुली उत्पादन गरेर अर्बौं आम्दानी गर्ने भनिएको पञ्चेश्वरमा भारतले रोकावट खडा गरिदियो । भारतसँग पञ्चेश्वर सम्झौता गरेको २० वर्ष हुन लाग्यो । यदि, यो आयोजना बनेको भए अहिले नेपालकै मुहार फेरिइसकेको हुने थियो । तर, त्यसताका भारतले विद्युत् विकासमा बाधा पुर्‍याउन मात्र सम्झौता गरेको थियो । फलस्वरूप सबै आयोजना चौपट भए ।
नेपाल सरकारले आयोजना निर्माण गर्न ताकेता र दबाबको उपाय अपनाउन सकेन । यसरी शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातलगायतका क्षेत्रमा उल्लेख्य विकास भए पनि विद्युत् उत्पदानका क्षेत्रमा पटक्कै विकास हुन सकेन । जसले गर्दा नेपाली जनताले अझै वर्षौसम्म अन्धकारमा बस्नुपर्ने भएको छ ।
अहिले हामीसँग थुप्रै आयोजना पाइप लाइनमा छन् । माथिल्लो तामाकोसी, सेती, अरुण, बूढीगण्डकी र अन्य आयोजना पनि सुरु भएका छन् । तर, सुरु भएका ती आयोजनालाई पूरा हुन दिन नीति निर्माण तहदेखि कार्यस्थलसम्म सहज र सजिलो अवस्था सिर्जना गरिदिनुपर्छ । अन्यथा कुनै पनि आयोजना पूरा हुँदैनन् । अहिले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको ६ सय मेगावाटको बूढीगण्डकी जलासययुक्त आयोजनाको विस्तृत परियोजना अध्ययन (डिपिआर) सुरु भएको छ । विकास समिति र विद्युत्
प्राधिकरणबीचको सम्बन्धका कारण ढिला हुन गएको बूढीगण्डकी आयोजनालगायत माथिल्लो तामाकोसी, अरुण, सेती र अन्य आयोजना निर्माणका कार्यलाई तीव्रता दिन जरुरी छ । नेपालमा जलविद्युत्लाई मात्र ऊर्जा संकट हटाउने माध्यम ठानिएकाले पनि नेपाली जनताले लोडसेडिङ भोग्नु परेको हो । जलविद्युत्बाहेक अन्य विकल्पमा नसोचिनु अर्को दुर्भाग्य बनेको छ । ऊर्जा संकट हटाउने विभिन्न वैकल्पिक मार्ग नअपनाउने र जलविद्युत् विकासमा पनि सहज उपलब्धि हासिल गर्न नसक्दा लोडसेडिङ निरन्तर भोग्नु परेको छ । अब यस वैकल्पिक ऊर्जातर्फ पनि ध्यान दिनु जरुरी छ ।
निकै महँगा र निर्माणमा अत्यन्तै जटिल जलविद्युत् आयोजनातर्फ नै ध्यानकेन्द्रित गर्नुका कारणहरू विभिन्न छन् । त्यसमा पनि कमिसनकै चक्कर चलेको हुन्छ । स्वच्छ र पवित्र उद्देश्य सम्बन्धित निकायमा पाइँदैन । कमिसन, घूस र अतिरिक्त आम्दानीतर्फ मात्र ध्यान दिनाले विद्युत् विकासमा अवरोध पुगेको हो । निकै महँगा र डलरमा खरिद गर्नुपर्ने आयोजनाहरूलाई साह्रै छिटो निर्माणको प्रक्रिया पूरा गरिदिने र सस्तोका साथै जनसहभागिताबाट बन्ने आयोजनाहरूलाई बाधा, अड्चन हाल्दै असफल बनाउने तानाबाना बुन्ने काम गरिनु निहित स्वार्थ पूरा गर्ने उद्देश्य नै हो । जनताले चाहेको छिटो सम्पन्न हुने जलासययुक्त आयोजनाहरूको छनोट गरी निर्माण कार्य थालनी गर्नुपर्छ । यस सँगसँगै वैकल्पिक उपायहरूतर्फ पनि ध्यान दिनुपर्छ । छिमेकी मुलुकका सर्तहरू पूरा गर्दै महँगोमा विद्युत् किन्ने र सस्तोमा उपभोग गर्ने चलन आफैँमा खराब हो । विद्युत् विकास समिति र विद्युत् प्राधिकरणले आयोजनाहरू निर्माण हुने सुनिश्चितता गर्ने र सोही अनुरूप निश्चित समयभित्र नेपाललाई लोडसेडिङमुक्त बनाउँछौँ भन्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ । नेता वा प्रधानमन्त्रीले भाषण गरेकै भरमा लोडसेडिङ घट्दैन । तसर्थ, सम्बन्धित पक्ष नै ऊर्जा विकासमा निश्वार्थ भएर लाग्न जरुरी छ ।

प्रतिक्रिया