बेलायती प्रधानमन्त्री मुम्बईमा

Devid-Camrunमुम्बई : बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन व्यापारिक उद्देश्यले तीन दिने भारत भ्रमणका क्रममा सोमबार भारतको वित्तीय केन्द्र मुम्बई पुगेका छन् । बेलायतमा निर्माण भई भारतलाई हेलिकोप्टर बिक्री गर्दा व्यापक भ्रष्टाचार भएको आरोप लागिरहेका बेला उनी मुम्बई पुगेका हुन् । यसअघि भारतले अति विशिष्ट व्यक्तिका लागि बेलायती–इटालियन व्यापारिक संस्था अगस्तावेस्टल्यान्डबाट ७४ करोड ८० लाख अमेरिकी डलरमा १२ वटा हेलिकोप्टर खरिद गरेको थियो । सो खरिदमा भ्रष्टाचार भएको समाचारले भारतीय सञ्चारमाध्यम तातिरहेका बेला क्यामरुनको भारत भ्रमण आरम्भ भएको हो ।
इटालीमा गरिएको एक अनुसन्धानले हेलिकोप्टर बिक्री सम्झौता गराउन मध्यस्थकर्तामार्फत घूस दिइएको देखाएको थियो । त्यसपछि सम्झौता रद्द गर्नसक्ने अधिकारसमेत दिएर भारतले सम्झौताबारे आफ्नै प्रहरीलाई अनुसन्धान गर्न लगाएको छ । भारत बसाईका क्रममा प्रधानमन्त्री क्यामरुनले हेलिकोप्टर बिक्री सम्झौताबारे पत्रकारहरूबाट अनेक प्रश्नको सामना गर्ने अनुमान गरिएको छ । भारतलाई बिक्री गरिएका हेलिकोप्टर बेलायतमा निर्माण भएका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सयद अब्बरुद्दिनले भ्रष्टाचार विषयमा नोभेम्बरमा बेलायतसँग आवश्यक सूचना उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिए । यस विषयमा इटालीले अनुसन्धान गरिरहेकाले अध्ययनको परिणाम आएपछि यस विषयमा कसरी अघि बढ्ने भन्ने थप प्रस्ट भइने उनले बताए । यस विषयमा थप अनुसन्धानका लागि भारतीय अनुसन्धानकर्ताले यसै साता इटाली भ्रमण गर्ने नयाँदिल्लीस्थित सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) ले आइतबार जनाएको थियो ।
प्रधानमन्त्री क्यामरुनका साथ ठूलो संख्यामा बेलायती व्यापारिक प्रतिनिधिको उपस्थिति छ । प्रधानमन्त्री क्यामरुनले भारतसँग सन् २०१० मा ११.५ अर्ब बेलायती पाउन्ड बराबर व्यापार भएकोमा सन् २०१५ मा २३ अर्ब पाउन्ड पुर्‍याउने लक्ष्य आफूहरूले राखेको बताएका छन् । भारतीय दैनिक पत्रिका ‘हिन्दुस्तान टाइम्स’लाई दिएको अन्तर्वार्तामा उनले भारतले शताब्दीकै ठूलो सफलताको कथा रच्नेमा आफूलाई कुनै शंका नभएको र भारतको वृद्धिमा बेलायतले साझेदार हुन चाहेको उल्लेख गरे । अन्तर्वार्ता सोमबार प्रकाशित भएको थियो ।
सोमबार मुम्बईमा व्यापारिक वार्तापछि क्यामरुन आफ्ना भारतीय समकक्षी डा. मनमोहन सिंह र राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गर्न नयाँदिल्ली जानेछन् । यसअघि क्यामरुनले सन् २०१० मा भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले भारतलाई १२ अर्ब अमेरिकी डलरमा एक सय २६ वटा बेलायती युरोफाइटर विमान खरिद गराउन प्रयास गरेका थिए । गत जनवरीमा भारतले खरिदका लागि फ्रान्सको डासल्ट एभिएसनको राफाल युद्धक विमान छनोट गरेको थियो । यद्यपि, अहिलेसम्म खरिद सम्झौता भइसकेको छैन । यस पटकको भ्रमणमा समेत प्रधानमन्त्री क्यामरुनले भारतलाई युरोफाइटरको फाइदाबारे सम्झाउन प्रयास गर्ने अनुमान गरिएको छ । (एएफपी)

प्रतिक्रिया