परिवारबाट बजारतिर समाज

Jaya-Luitelम काठमाडौंको एक कुना, चाबहिलमा जन्मिएँ, । मेरो बाल्यकालको समयमा हाम्रो लुगा दमाईं दाइले सिलाउँथे । हामी उनलाई दसँैमा भाग दिन्थ्यौँ । खसीको पुच्छार, केही मासु, रोटी, चामल लुगा सिलाएबापत उनले पाउने भाग हुन्थ्यो । दमाईं दाइ हाम्रो घरभित्र पस्दैनथे । मेरा बा–आमाले उनलाई छुन हुँदैन भन्थे । उनलाई खानेकुरा दिएका भाँडा पनि आगो–पानी हालेर चोख्याएपछि मात्रै घरभित्र लगिन्थ्यो । अहिले, हाम्रा तिनै बालीघरे दमाईं दाइका परिवार ठूलो व्यवसायी छन् । उनी बेला–बेला हामीकहाँ आउँछन्, पाहुना बनेर । उनका परिवारका कुनै सदस्यलाई पनि भित्र लैजान हाम्रो परिवारमा रोकतोक छैन । बाल्यकालदेखि आजसम्म देखिनेगरी भएको यो परिवर्तन नेपाली समाजको सहरी क्षेत्रमा आएको सांस्कृतिक परिवर्तनको उदाहरण हो ।
तीन दशकको अन्तरालमा अनुभूत गरेको यो परिवर्तन नेपाली समाज रूपान्तरणको एउटा पक्ष हो । अहिले नेपाली समाज विगतसँग विस्तारै टाढिँदै नयाँ गन्तव्यतर्फ जाँदै छ । राजनीतिक हिसाबले लोकतान्त्रिक, आर्थिक हिसाबले पँुजीवादी र सांस्कृतिक हिसाबले आधुनिकीकरणतर्फ समाज अघि बढिरहेको छ । तर, अघि बढ्ने गति भने फरक छ । समाजका विभिन्न खण्ड फरक–फरक गतिमा अघि बढ्दै छन् । समाज परिवर्तनका यी आयामलाई एउटै सूचकले पूर्णरूपमा बुझाउन सक्दैन । एउटै सूचकले समाजको बहुआयामिक परिवर्तनलाई नाप्न खोज्नु पनि हुँदैन । राजनीतिक, आर्थिक र सांस्कृतिक आयाम फरक हुन्छन् ।
व्यक्ति स्वतन्त्रपूर्वक राजनीतिमा भाग लिन पाउँछ कि पाउँदैन ? निष्पक्ष निर्वाचन हुन्छ कि हुँदैन ? राजनीतिक निर्णय कुनै निश्चित घेरामा हुन्छ कि सामूहिकतामा ? जस्ता पक्षले राजनीतिको परिवर्तनको पाटो देखाउँछ । आर्थिक परिवर्तनका सूचक बेग्लै छन् । मान्छे व्यवसाय गर्न कति स्वतन्त्र छ ? उसको जात, धर्म र परम्पराले व्यावसायिकतामा अवरोध गर्छ कि गर्दैन ? विश्वको आर्थिक अवस्थासँग कसरी एकाकार भएको छ ? भन्ने कुराबाट समाजको आर्थिक आयामको गति मापन गर्न सकिन्छ । सांस्कृतिक परिवर्तनको पाटोमा केही परिवर्तनका सूचक देखा परेका छन् जुन् माथि उल्लेख गरिसकियो । जातीय व्यवस्थामा आधारित समाज विस्तारै परिवर्तन भएको छ । अन्तरजातीय सम्बन्ध स्वीकार हुन थालिसक्यो, धर्ममा स्वतन्त्रता छ । यी व्यवस्था विस्तारै परिवर्तनतर्फ बढेको देखिन्छ । यी सूचकलाई मापन गरेर नै सामाजिक परिवर्तनको अवस्था हेर्न सकिन्छ । तर, फरक–फरक तह र गतिमा परिवर्तन भएको हुन्छ ।
प्रकृति र अन्य वस्तुमा जस्तै समाजमा पनि परिवर्तन अवश्यंभावी छ । विकासको समानुपातिक वितरण सबै समूहमा हुन नसक्दा समाज परिवर्तनको गति फरक भएको हो । विकास र लोकतन्त्रका उपलब्धिको बाँडफाँडमा भएको असमानुपातिक वितरणले गर्दा वर्ग, लिंग, जातीय र भौगोलिक रूपमा पछाडि पारिएका समूहको एउटै गतिमा पविर्तन हुन सकेन । समाज परिवर्तनको स्थिति उच्च र न्यून हुनुको कारण राज्यकै असमानुपातिक विकास पद्धति हो ।
सामाजिक परिवर्तनका आयाम हेर्दा नाता, परिवार, विवाहजस्ता विश्वव्यापी सामाजिक संस्थामा आएको परिवर्तन मुख्य कारणका रूपमा देखिन्छ । यी संस्थाका संरचनाको निरन्तरता आवश्यक छन् तर, यसको भूमिका परिवर्तन हुँदै छ । अहिले यी संस्थाविनै समाजको परिकल्पना गर्न थालिएको छ । परिवार र समाजको नियन्त्रणमा रहेको मानिस आज ती संस्थाबाट फुत्किँदै छ । घरबाट निस्केपछि हिजो मानिस कुल–कुटुम्ब, गुठियारी र समाजका अरू अंगका बीचमा पुग्थ्यो । तर, आज मानिस घरबाट निस्केपछि सिधै बजारभित्र छिर्छ र बजारसँगको सम्बन्ध विस्तारमा लागिहाल्छ । यस हिसाबले मानिसका सोचाइ, योजना, भविष्य कल्पना पद्धतिमा पनि परिवर्तन आएको हो । हिजो परिवारसँगै गाँसेर आफ्नो भविष्य सोच्ने मान्छे आज एक्लैको वैयक्तिक सपनाका पछि कुदिरहेको छ । ऊ परिवारदेखि टाढा बन्दै जान थालेको छ ।
समाजको आर्थिक व्यवस्थामा आएको परिवर्तनले प्रत्यक्षत: समाजको परम्परागत रूप विघटन हुन थालेको छ । यसले व्यक्तिका जीवनमा परिवारको निर्णायक भूमिका अन्त्य गरिदिएको छ र मानिस बजारको शरणमा जान थालेको छ । उत्पादन पद्धतिमा आएको परिवर्तनले मानिसलाई त्यता धकेलेको हो । निर्वाहमुखी कृषि प्रणालीको समयमा परिवारका सदस्यहरू उत्पादनका लागि श्रम शक्ति थिए । जति ठूलो परिवार, त्यति धेरै आम्दानी † उत्पादनका लागि अन्य क्षेत्रको विकास पनि भएको थिएन र कृषिकर्म गरेर मानिसहरू परिवारमै बस्थे । परिवार फुट्दा पनि जमिनको अंशबन्डा मुख्य आधार हुन्थ्यो र फेरि नयाँ आकारमा परिवारहरूको रचना हुन्थ्यो । तर, आज घर छाडेर हिँड्दा मानिस सहरी रोजगारी, सीप आर्जनलाई ध्यान दिइरहेको हुन्छ, पैतृक सम्पत्तिका रूपमा पाउने जमिनबाट लाभ लिने र परिवारमै बसेर आºना सपना पूरा नहुने सोच्न थालिएको छ ।
यसको पनि कारण छ । कृषि प्रणाली निर्वाहमुखीबाट व्यावसायिक हुँदै गयो । तर, बढ्दो जनसंख्यालाई कृषिले धानेन । हिजो सोखले मात्र अपनाउने साधन आज मानिसका आधारभूत आवश्यकता बनिसके । ती साधनहरूको उपयोग गर्ने सामथ्र्य भर्न पनि मानिसले उत्पादन बढाउनै पर्ने बाध्यता छ । त्यसका लागि नयाँ अवसर खोज्नुपर्‍यो । नयाँ अवसरको खोजीका लागि व्यक्ति सहर र औद्योगिक क्षेत्र केन्द्रित बन्न थाल्यो । विस्तारै फरक–फरक आम्दानीको क्षेत्रमा संलग्न भएपछि परिवारको संरचना बदलियो । एउटै परिवारमा फरक–फरक आम्दानीका एकाइ हुन थाले । परिवार बदलियो, सँगै व्यक्तिमाथि परिवारको भूमिका पनि बदलियो । यसले वैयक्तिक आत्मीयता घटाउन थालेको छ । नाता, पारिवारिक सम्बन्ध, वैवाहिक सम्बन्धमा विस्तारै नयाँ परिभाषा आउन थालेको छ ।
पृष्ठ ३४ बाट क्रमश:
नातालाई हिजो सुरक्षाको सम्बन्धका रूपमा लिइन्थ्यो तर आज नातावाद एउटा ‘अर्गानिक’ सम्बन्धमा सीमित बन्न पुगेको छ । पँुजीवादउन्मूख समाजमा परिवार सिस्टम, नाता सम्बन्धको भूमिका फरक हुँदै जान्छ । परिभाषा बदलिँदै गएर भोलि विघटन पनि हुन सक्छ । पश्चिमा बहिनीलाई नाता लगाउँदा ‘मेरो बाउको दाइको छोरी’ भन्छन् । तर, हाम्रो समाजमा अहिलेसम्म हामी बहिनी वा दिदी नै भन्छौँ । पँुजीवाद उन्मुख सामाजिक परिवर्तनले कुनै दिन हामीलाई त्यही अवस्थामा पुर्‍याउन सक्छ ।
समाज पँुजीवादी रूपान्तरणको चरण र प्रक्रियामा रहेकाले अहिले देखिएका परिवर्तन अनिवार्य र अवश्यंभावी पनि छन् । सकारात्मक या नकारात्मक जस्तो परिणाम आए पनि समाज परिवर्तन जसरी पनि हुन्छ । परिवर्तनका परिणाम देखिन थालिसकेका छन् । जिउनका लागि अपनाइने पेसाको विविधता एक परिणाम नै हो । एक पुस्ता अगाडि परिवारका सबै सदस्य कृषिमा संलग्न हुन्थे । जीवन निर्वाहका लागि विविध ‘पोर्टफोलियो क्रियसन’ले यसलाई पुष्टि गर्छ । अर्कोतर्फ सहरउन्मुख क्षेत्रमा, सार्वजनिक स्थानमा जातका आधारमा हुने भेदभाव लगभग हटेको छ । अन्तरजातीय विवाह लगभग ‘कमन’ जस्तै भइसक्यो । गाउँमा पनि अन्तरजातीय विवाहलाई अपराध मानिँदैन । अहिले परिवर्तनलाई आत्मसात् गर्न सक्ने लचकता मान्छेहरूमा आएको छ । मुख्य कुरा उत्पादन र जीविकोपार्जन हो भन्ने चेतनाले नै रूढ चेतनामाथि मान्छेले लचकता अपनाउन थालेको हो । परिवारमा छोरा र छोरीलाई शिक्षामा समान अवसर, पुरुष–महिला दुवैले घरबाहिरको काममा संलग्न हुने कुरा समाज परिवर्तनका पछिल्ला परिणाम हुन् । यी सकारात्मक पाटा हुन् ।
परिवर्तनका नकारात्मक पाटा पनि छन् । हिजोको समाजमा आलोपालो, पर्म, पैँचो चल्थ्यो । अहिले त्यो परम्परा विस्तारै हराएर उपभोक्तावाद बढ्यो । समाजमा ‘क्यास सिस्टम’ चल्छ । उपभोग गरेको वस्तुका आधारमा मान्छेको हैसियत निर्धारण हुने अवस्था आयो । यी कारणले गर्दा स्रोतको पहुँचमा पुग्न अस्वस्थ्य प्रतिस्पर्धा बढाइदियो । माक्र्सवादमा ‘कमोडिटी फेडरसन’ भनेझैँ उपभोग गर्ने वस्तुमा पहुँच नभएपछि मान्छे जसरी पनि स्रोतसम्म पहुँच खोज्छ । सके सहज बाटो अपनाउँछ, नभए गैरकानुनी बाटो अपनाउँछ । यसले समाजमा अपराध बढेको छ । अर्कोतर्फ पँुजीका लागि व्यक्ति समाजबाट अलग्गियो । पहिले व्यक्तिलाई समाजले निगरानी गथ्र्यो । ऊ अलग्गिएपछि समुदायको निगरानी उसमाथि पर्दैन । विस्तारै व्यक्तिमा अराजक प्रवृत्ति बढ्दै जान्छ ।
अनि, उपभोगका लागि उ जुनसुकै माध्यम अपनाएर भए पनि साधन प्राप्त गर्न चाहन्छ । व्यक्ति गलत बाटोमा लाग्यो भने नियन्त्रण गर्ने समुदायले हो, समुदायबाट अलग्गिएको अवस्थामा कानुनको आवश्यकता पर्छ । समाजको निगरानीबाट अलग्गै भएपछि कानुनी निगरानी पनि कमजोर हुन्छ । समाजमातहत रहेको मानिस आज कानुन, प्रहरी अनि अदालतको मातहतमा मात्र छ । प्रहरी, कानुन, अदालतलाई हामी सरकार भन्छौँ । प्रहरी, अदालत कमजोर हुनु कानुनको पालना नहुनु र समग्रमा सरकार नै कमजोर हुनु हो । सामाजिक नियन्त्रणको व्यवस्था भत्केको र कानुनी नियन्त्रणको जग बलियो नभइसकेको अवस्थामा अहिले नेपाल छ । लुटपाट, हत्या, बलात्कारजस्ता अपराध घटनाका कारणतत्त्व यहीँनेर छन् ।
समाज पँुजीवादतिर लम्किने अवस्थामा समाजमा अपराध अझ बढ्दै जान्छ । परिवर्तन ग्रहण गर्ने व्यक्तिको क्षमतासँग पनि अपराधको मनोवैज्ञानिक पक्ष जोडिएको हुन्छ । परिवर्तन स्वीकार गर्ने र नगर्ने पक्षबीचको मतभेद जहिल्यै समाजमा रहन्छ । उपभोक्तावादबाट गाँजिएको पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई जहिल्यै परिवर्तनको विपक्षी देख्छ । भौतिक पक्षले जितेपछि ऊ त्यसैको पछि दगुर्छ किनकि उसलाई आºनो स्तर कायम राख्नु छ । त्यही पछि दौडँदै गर्दा उसलाई मानवीय समवेदना प्रकट गर्ने फुर्सद पनि हुँदैन । भनिन्छ नि † ‘आफूलाई रुने–हाँस्ने फुर्सद छैन ।’ मानवीय संवेदनाको मुख्य प्रकटीकरण रुवाइ वा हाँसो हुन् । तर, उपभोक्तावादको पछाडि दौडिरहेको पुस्तालाई भौतिकवादले जितेको छ । ऊ मानवीय संवेदनाको पछाडि लागेर आºनो स्तरवृद्धिलाई घटाउन चाहँदैन । फलस्वरूप दुई पुस्ताबीच ‘टेन्सन’ भइरहन्छ । यो परिवर्तनको निरन्तर चलिरहने प्रक्रिया हो ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया