“खुफिया एजेन्सी र प्रहरीको कमजोरी”

इस्लामावाद : ८१ जनाको ज्यान जानेगरी शनिबार पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा सहरमा भएको बम हमलामा खुफिया एजेन्सी र प्रहरीको कमजोरी देखिएको सो प्रान्तका गभर्नर जुल्फिकार मगसीले आरोप लगाएका छन् । गत जनवरीमा उत्तिकै शक्तिशाली बम अक्रमण भएपछि तत्कालीन सरकारलाई बर्खास्त गरी मगसीलाई राज्यको कार्यकारी प्रमुखमा नियुक्त गरिएको थियो । मगसीले खुफिया एजेन्सी र प्रहरी प्रशासन डराएको हुनसक्ने दाबी गर्दै यी निकायले आफ्नो जिम्मेवारी बिर्सिएको आरोप लगाए । चरमपन्थीलाई निमिट्यान्न पार्न सुरक्षा निकायलाई पूर्ण अधिकार दिइएको भए पनि उनीहरू आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट पूर्णरूपमा असफल भएको उनको भनाइ छ । ‘यहाँ त कानुन नै छैन कि जस्तो देखिएको छ । यस्तो हमला रोक्ने काम सुरक्षा निकायको हो किनभने उनीहरूलाई राज्यले पैसा दिन्छ ’ मगसीको आरोप छ । जनवरीमा भएको आतंककारी हमलामा ९२ जनाको ज्यान गएको थियो । तत्कालीन मुख्यमन्त्री असलम रैसानीको सरकारलाई बर्खास्त गरी मगसीलाई राज्यको कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।
पछिल्लो बिस्फोटनमा एक सय ७८ जना घाइते भएको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसैबीच पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारीले आइतबार टेलिफोन सम्पर्क गरी मगसीलाई थप आक्रमणबाट बलुचिस्तानका नागरिकलाई जोगाउन सक्दो व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार राति भएको हमलाको जिम्मेवारी प्रतिबन्धित सुन्नी संगठन लश्कर–ए–झांगवीले लिएको छ । हमलाको विरोधमा आइतबार विरोध प्रदर्शन भयो । चाँडोभन्दा चाँडो यस घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न प्रदर्शनकारीको माग छ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको क्षेत्रमा पर्ने बलुचिस्तानमा पृथकतावादी आन्दोलनसँगै जातीय हिंसा चल्दै आएको छ । सिया समुदाय यहाँको हिंसामा सबैभन्दा बढी पीडित छन् । (एजेन्सी)

प्रतिक्रिया