प्रकाशकीय प्रिय पाठकवृन्द

आज हामी आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा टेक्यौँ । यो एक वर्ष, अनुभवका हिसाबले, हाम्रा निम्ति सय वर्षभन्दा कम छैन । हो, यो छोटो यात्रामा हामीले असंख्य तीता–मीठा अनुभूति सँगालेका छौं, जुन आगामी दिनमा सौर्य दैनिकको सम्पत्ति भएर रहनेछ ।
एक वर्षअघि बग्रेल्ती अखबारहरूको भिडमा मिसिँदा हामीले एकखाले दुस्साहस नै गरेका थियौँ । ‘फेरि अर्को दैनिक पत्रिका †’ पहिल्यै बजारको मागभन्दा बढी अखबार भएको अवस्थामा आमपाठकको यस्तो प्रतिक्रिया अस्वाभाविक थिएन । अझ, कतिपयले सौर्य दैनिकलाई अखबारभन्दा पनि एउटा पानीको फोकाको रूपमा प्रचार गरेका थिए र भविष्यवाणी गरेका थिए, यो दिन वा केही महिनामा बिलाएर जानेछ । आज उनीहरू गलत सावित भइसकेका छन् । हो, यो एक वर्षमा हामीले कुनै ठूलो छलाङ मारेका छैनौँ । कुनै चमत्कार गरेका छैनौं (हामी चमत्कार गर्न आएका पनि होइनौँ) । तथापि, हामी पाठकमाझ चिनिएका छौँ, एउटा बेग्लै विशेषताका साथ । एक वर्षको छोटो अवधिमा हामीले पाठकवृन्द, विज्ञापनदाता तथा समाचार स्रोतहरूबाट पाएको साथ अमूल्य छ ।
हामीले सुधार्नुपर्ने कुरा अझै पनि असंख्य छन्, जसमा हामी सचेत छौँ । विभिन्न माध्यमबाट प्राप्त हुने आम, तटस्थ पाठकको जनमत नै हाम्रो पत्रिकाको मार्गदर्शन हो । यही मार्गदर्शनलाई पछ्याएर सौर्य दैनिकले आफूलाई परिमार्जन गर्दै आएको छ र भविष्यमा पनि गर्दै लानेछ । समाचारको छनोट र प्रस्तुतिमा फरकपना नै हाम्रो मूलमन्त्र हो । पत्रिकामा प्रकाशित सामग्री नहेरी यो फलानो पार्टीको पत्रिका, ढिस्कानो पार्टीको पत्रिका भनी लेबल लगाइदिनेहरूसित हामीलाई कुनै तर्क गर्नु छैन । तर, सम्पूर्ण पाठकलाई आश्वस्त गराउन चाहन्छौँ, यस दैनिकमा कुनै राजनीतिक वा गैरराजनीतिक शक्तिको छाया अहिलेसम्म परेको छैन र भविष्यमा पनि पर्ने छैन । हाम्रो सम्पूर्ण शक्तिको स्रोत भनेको आदरणीय पाठक र विज्ञापनदाता नै हुनुहुन्छ । पहिलोपटक सहकारीमार्फत दैनिक पत्रिका सञ्चालन गरेर हामीले सामूहिकताको अवधारणालाई व्यवहारमा उतारेका छाँै ।
अन्त्यमा दोस्रो वर्षको पहिलो अंकका रूपमा ६० पेजको सौर्य दैनिक पस्किन पाएकोमा खुसी व्यक्त गर्दछौँ । आशा गर्छाैं यहाँहरूको माया र सद्भाव निरन्तर रहिरहनेछ ।

प्रतिक्रिया