सफलताको झुटो प्रचार

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेका एक दर्जन राम्रा कामको सूची तयार गरेर प्रचार गरेका छन् । उनले आफूले गरेका १२ दर्जन नराम्रा काम छोप्न प्रचारमा ल्याएको एक दर्जन राम्रा काममध्ये नेपाली जनताले एउटालाई भने साँच्चै राम्रो मानेका छन् । त्यो हो काठमाडौंको सडक फराकिलो पार्ने कार्यको थालनी । यसबाहेक भट्टराईका राम्रामध्ये ११ लाई भने जनताले एमाओवादीले आफ्नै लागि मात्र गरेको कामका रूपमा लिएका छन् । युवालाई बेरोजगारी भत्ता र गरिबीका रेखामुनि रहेका जनतालाई परिचय पत्र वितरण गर्ने भन्ने खालको हावादारी निर्णयलाई जनताले आफ्ना लागि हो भनेर स्वीकार गरेनन् । ‘हेलो सरकार’ अथवा ‘जनताका घरमा प्रधानमनत्री’ जस्ता प्रचारमुखी र सस्तो लोकप्रियता आर्जन गर्ने कामलाई पनि नेपाली जनताले ‘राम्रो’ भनेर स्वीकार गर्न सकेनन् । जसले गर्दा प्रधानमन्त्री भट्टराईले राम्रा भनेका मध्ये ११ वटा जनताका लागि भन्दा प्रचारका लागि राम्रो भएको मान्न सकिन्छ । भट्टराईले भ्रष्टाचार, सरकारी ढुकुटीको ब्रम्हलुट र दण्डहीनताले मुलुक नराम्रो अवस्थातर्फ प्रवेश गरेको उल्लेख गरेनन् । बरु करोडौं खर्च गरेर आफ्ना कार्यकर्ता पोसेको कार्यलाई उनले शान्ति प्रक्रियाको जटिल पाटो टुंग्याएको उल्लेख गरे । लडाकुलाई सेनामा समायोजन होइन पैसा दिएर घर पठाए । यसलाई नै उनले आफ्नो सबैभन्दा उपलब्धिमूलक कार्य ठान्नु दुर्भाग्य हो ।
डा. बाबुराम भट्टराईले नेपाली इतिहासको असाध्यै चुनौतीपूर्ण खालखण्डमा बनेको आफ्नो नेतृत्वको सरकारले शान्ति प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण कार्यभार पूरा गरेको उल्लेख गरेका छन् । तर, आफ्ना लडाकुलाई सरकारी ढुकुटीबाट ‘कुस्त’ पैसा दिएर घर पठाउनु नै शान्ति प्रक्रिया टुंगिनु होइन । उनले शान्ति प्रक्रिया टुंग्याउन चाहेको हो भन्न सक्ने थिए । लुटेको सम्पत्ति फिर्ता गर्ने, विस्थापित जनतालाई आफ्नै बसोबास भएको ठाउँमा फर्काउने, द्वन्द्वकालका जघन्य हत्याका अपराधीलाई कारबाही गर्ने र पीडित परिवारलाई राहातको व्यवस्था गर्ने काम भट्टराईले सजिलै गर्न सक्थे । यसकार्यमा कसैले विरोध गर्ने थिएनन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत सबै दलले सहयोग नै गर्ने थिए । तर, भट्टराईले नेपाली जनताको ठूलो हिस्साले चाहेको यो काम गर्दा आफ्नै कुकर्मको इतिहास खोतलिने ठाने । जसले गर्दा शान्ति प्रक्रियाको हकमा सामान्य काम पनि भएन । लडाकुलाई नेपाली सेनामा समयोजन गरेको कार्यलाई उनले गरेको काम मानिएको छैन । त्यो काम एमाओवादी अध्यक्ष पुष्पकमल दाहलको ठाडो निर्देशनमा नेपाली सेनाले लडाकु शिविर कब्जा गरेपछि सुरु भएको हो । यसरी विश्लेषण गर्दा भट्टराई सरकार इतिहासकै भ्रष्ट र नालायक सरकार हो । तथापि उपत्यकाका साँघुरा सडकलाई फराकिलो बनाउने कार्यको थालनी गरेर यो सरकारले एउटा काम भने राम्रो गरेको मान्नै पर्छ ।
डा. बाबुराम भट्टराई नेपाली इतिहासको अत्यन्तै असफल प्रधानमन्त्रीका रूपमा स्थापित भए । मन्त्रिपरिषद्को गठन हँुदा नै अप्राकृतिक, अस्वाभाविक र बेमेलहरूको मेल भएकाले यो सरकार राष्ट्र र जनताका लागि नभई सत्ता कब्जाका लागि भएको थियो भन्न सकिन्छ । डा. भट्टराईले जति गफ गरेका थिए ती गफ सत्ताको आयु लम्ब्याउनका लागि मात्र गरिएका थिए । र, मुलुकको भविष्यभन्दा सत्तारूढ घटकका केही व्यक्तिको इच्छा पूरा गर्न गरिएका थिए । उनले आफ्नो अर्धमुखी सोचबाट उत्पादित हठ त्यागेका भए राम्रा काम गर्ने अवसर थियो । तर, पटक्कै चाहेनन् । बिप्पा सम्झौता गर्नु, विमानस्थल व्यवस्थापन विदेशीलाई दिने चाँजोपाँजो मिलाउनु, जुवा खेलेँ भन्नु र साँचो अन्तै रहेछ भन्नेजस्ता कार्य प्रधानमन्त्रीले गर्नहुने र बोल्नहुने काम थिए वा थिएनन् भविष्यले बताउनेछ । अहिले भने उनी इतिहासमै नालायक प्रधानमन्त्री बनी सकेका छन् । आफन्तलाई पैसा बाँड्नु र जागिर दिलाउनु नै प्रधानमन्त्रीको काम बन्यो । ४६ जना सल्लाहकार, जम्बो मन्त्रीमण्डल बनाउने काम बाबुरामले गरे । जसलाई नेपाली जनताले कुनै हालमा रुचाएनन् । यसर्थ, भट्टराईले राम्रा काम गर्दै गरेनन् भन्न सकिन्छ ।

प्रतिक्रिया