भगौडा तिब्बतीको दुस्साहस

नेपाल एक चीन नीतिको पक्षपाति मुलुक हो । दुवैतिरका विशाल छिमेकी मुलुकप्रति हाम्रो उच्च सद्भाव र सम्मान रहेको छ । संयुक्त राष्ट्रसंघको सदस्यका नाताले नेपालको परराष्ट्र नीति पञ्चशीलको आधारमा स्थापित भएको छ । नेपालले आफ्ना दुवै छिमेकी मुलुकप्रति मैत्रीपूर्ण, सद्भावपूर्ण र सम्मानपूर्ण व्यवहार गर्दै आएको छ । नेपालभित्रबाट आफ्ना छिमेकी मुलुकप्रति अनास्था फैलाउने खालका गतिविधि हुन नदिने सम्बन्धमा हामीले प्रतिवद्धता जाहेर गरेका छौँ । यहीकारणले गर्दा एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध र दृढ छ । यो दृढता र प्रतिवद्धता हुँदाहँुदै पनि यदाकदा हाम्रा छिमेकी मुलुकविरुद्ध उच्छिशृंखल र अमर्यादित गतिविधि हुने गरेका छन् । यस्ता गतिविधि हुन नदिन र छिमेकी मित्र राष्ट्रप्रति अनास्था फैलाउन नदिन सरकारले सबैखाले प्रयास अपनाउन जरुरी छ । बुधबार एक तिब्बती भगौडाले नेपाललाई नै लाञ्छित गर्ने गरी काठमाडौंको बौद्धमा आत्मदाहको प्रयास गरेर नेपाललाई एक चीन नीतिविरुद्ध उभ्याउन खोजेका छन् । ती भिक्षुलाई आत्मदाह गर्न उकासेर फोटो खिच्ने, पछिपछि दौडिने र ‘फ्री’ तिब्बतको नारा लगाउने पश्चिमी मुलका नागरिक देखिएका थिए । यी पश्चिमाहरू तिब्बत टुक्राउने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नेपाल प्रवेश गरेका हुन् । यसप्रति सरकार सचेत हुन जरुरी छ ।
यो अत्यन्तै निन्दनीय र घृणितकार्य नेपालको राजधानीमा हुनु नेपाल–चीनबीचको सुमधुर सम्बन्धमा आँच पुर्‍याउने उद्देश्यले गरिएको छ । यो घटना हुँदै छ भन्ने सूचना सुरक्षा निकायलाई एक महिनाअघि नै थाहा थियो । तर रोकथामको उपाय अपनाइएन र तीन जना भिक्षुलाई आत्मदाह गराउने निहित उद्देश्यले भारतबाट नेपाल प्रवेश गरेको १२ जनाको टोलीलाई तत्काल उतै फर्काउने कार्य पनि गरिएन । यो सुरक्षा निकायको लापरवाही पनि हो । नेपाली जनतालाई असह्य हुने र छिमेकीसँगको सम्बन्ध बिगार्न उद्धत यस्ता विदेशी व्यक्ति, समूह वा संघ, संगठन सबैलाई नेपाल सरकारले देश निकाला गर्नुपर्छ । को हुन ती पश्चिमा नागरिक ? किन नेपाल चीन सम्बन्ध बिगारेर उनीहरू फोटो खिच्न उद्धत भए ? सरकारले यो सबै विषयमा छानविन पनि गर्नुपर्छ ।
चीनको स्वशासित क्षेत्र तिब्बत चीनकै भूभाग हो । हामी एक चीन नीतिमा दृढ छौँ । यहाँ तिब्बतबाट भागेर आएका केही व्यक्तिलाई मानवीय आधारमा शरण दिएको हुन सक्छ । त्यसैको फाइदा उठाउँदै चीन विरोधी गतिविधि कसैले गर्छ भने त्यो नेपाललाई पाच्य हँुदैन । बौद्धमा आत्मदाह गर्ने प्रयास किन गरियो वा गराइयो । सरकारले छानविन गरी स्पष्ट पार्न जरुरी छ । तिब्बतीहरू लखेटिएका शरणार्थी होइनन् । उनीहरू निहित उद्देश्य बोकेर नियोजित ढंगले नेपाल भित्रिएका हुन् ।
छिमेकी मुलुक भारतको धर्मशाला भन्ने स्थानमा ‘फ्री तिब्बत’ को वकालत गर्नेहरू बस्ने र खुला सीमानाको फाइदा उठाएर ती चीन विरोधीहरू नेपाल छिर्ने गरेका छन् । त्यस्तै कतिपय तिब्बती नेपालमा बसेर चीन विरोधी गतिविधि गर्न तिब्बतबाटै नेपाल भित्रिएका छन् । यी सबैको तथ्यांक संकलन गरेर उनीहरूका गतिविधिप्रति सरकारले जानकारी राख्न जरुरी छ । साथै सकिन्छ र मिल्छ भने उनीहरूलाई आफ्नै मुलुक फिर्ता गर्नेसम्मको नीति अख्तियार गर्नुपर्छ । कुनै पनि बहानामा नेपालभित्र बसेर छिमेकी मित्र राष्ट्रपति अनास्था र उत्तेजना फैलाउन पाइँदैन । यदि, त्यस्ता गतिविधि कुनै संघ, संस्था, समूह वा व्यक्तिले गर्छ भने त्यस्तालाई नेपाल सरकारले देश निकाला गर्नैपर्छ ।
अहिले ३१ वर्ष अघिको खम्पा विद्रोह पुनरावृत्तिगर्न खोजिँदै छ । यसलाई बेलैमा नदबाउने हो भने नेपाल–चीनबीचको सम्बन्ध बिग्रने मात्र होइन यो मुलुक चीन विरोध गतिविधि गर्ने थलोका रूपमा विकसित हुन सक्छ । तसर्थ, समस्याका रूपमा देखिएका भगौडा तिब्बतीहरूको बेलैमा उपचार हुनुपर्छ । र, भगौडा तिब्बतीहरूलाई उतै फर्काउने कार्य गरिनुपर्छ । बौद्ध घटनाप्रति सरकारले गम्भीर भएर तुरुन्तै निर्णय गर्न जरुरी छ ।

प्रतिक्रिया