शीतलनिवासमा भएका दुई बैठक अनिर्णीत

काठमाडौं : नयाँ प्रधानमन्त्रीको खोजीमा रहेका ठूला राजनीतिक दलहरू राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार दुईपटक छलफलमा जुटे पनि सहमति कायम गर्न विफल भएका छन् ।
एमालेले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने वा नबनाउने विषय पार्टीको केन्द्रीय समितिमा छलफल गरी टुंग्याउन समय मागेपछि बिहीबार राष्ट्रपतिको उपस्थितिमा भएको दुईपटकको छलफल अनिर्णीत बनेका हुन् । बिहीबार बिहान राष्ट्रपति कार्यालय पुगेका ठूला तीन दल एमाओवादी, कांग्रेस र एमालेसहित मधेसी मोर्चाका नेता दिउँसो पुन: ३ बजे आउने भन्दै बाहिरिएका थिए । दिउँसो ३ बजेपछि भएको छलफलमा एमालेले समय दिन माग गरेको थियो ।
एमालेले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकको निर्णय कुर्न आग्रह गरेपछि एकै दिन दुईपटक शीतलनिवास पुगेका नेताहरूले निष्कर्ष निकाल्न नसकेका हुन् । एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको केन्द्रीय समिति बैठकको निर्णयपछि सहमति जुट्न सक्ने बताए । ‘भोलि (शुक्रबार) हामीले केन्द्रीय समिति बैठक बोलाएका छौँ । हाम्रो पार्टी एउटा निर्णयमा पुगेपछि सहमति बन्न सक्छ ।’ कांग्रेस उपसभापति पौडेलले एमालले बिहीबार निर्णय गर्न नसक्दा सहमति जुट्न नसकेको बताए । (सौस)

प्रतिक्रिया