हुलगाउँको अनुकरणीय कार्य

नेपालका पहाडी गाउँहरू दुर्गम छन् र त्यहाँ विकास कार्य भइरहेका छैनन् । डोल्पा र हुम्लाजस्ता जिल्ला सदरमुकाममा मोटरबाटो पुग्न सकेको छैन । अन्य कतिपय पहाडी जिल्लाका सदरमुकाममा हिउँद याममा मरितरी मोटर पुग्ने भए पनि वर्षायाम लागेपछि ती सदरमुकाममा गाडी जाँदैनन् । अर्थात् नेपालको ठूलो जनसंख्या बर्खामा यातायातको सुविधाबाट वञ्चित हुन बाध्य छ । अझ सदरमुकामभन्दा टाढाका गाउँमा कच्ची सडकसम्म पुर्‍याउन सकेको अवस्था छैन । जनप्रतिनिधिमूलक स्थानीय निकायको विघठन र माओवादी द्वन्द्वले दुर्गम क्षेत्रका विकास कार्यलाई बढी नै प्रभाव पार्‍यो । जसले गर्दा विकास निर्माणको गति निकै धिमा भयो भने कतिपय स्थानमा ठप्पै रोकियो । विकास निर्माणलाई छुट्टयाइएको रकम खर्च भएको देखिने र नेताका भाषणमा विकास कार्य भएको सन्दर्भ उठ्ने प्रक्रिया भने रोकिएन । अर्थात् सबै दलका उपल्लो तहका नेतादेखि जिल्ला स्तरका कार्यकर्ताले समेत विकास बजेट हिनामिना गर्न भ्याए, काम भने गरेनन् । जिल्ला र गाविसमा विकास कार्यका लागि छुट्टयाइएको रकम दलका स्थानीय कार्यकर्ताले बाँडेर खाने थिति बसालियो । यसले स्थानीय जनताले केन्द्रीयदेखि स्थानीय तहका नेतासम्मलाई घृणा गर्न थाले । विकास कार्यको बजेट भागबन्डा गरेर सर्वदलीय समितिका व्यक्तिले खान थालेपछि स्थानीय जनता आक्रोशित बन्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ– गुल्मी मभुङ–५ हुल गाउँ ।
आफ्नो गाउँमा बाटो पुर्‍याउने २१ वर्षअघिको चाहाना नेताहरूले अलपत्र पारिदिएको ठहर गर्दै स्थानीय युवाले आफ्नो बाटो आफैँ पूरा गरेका छन् । गुल्मी क्षेत्र नं. ३ को मुख्य बजार सिमलटारीबाट पाँच किलोमिटर मात्र टाढा हुल गाउँमा पहिलोपटक मोटर पुगेको छ । दलका स्थानीय नेतालाई पन्छाएर गाविसले छुट्टयाएको बजेट साँच्चै त्यही सडकमा खर्च गरेपछि २१ वर्षअघिदेखि बन्न नसकेको बाटो पूरा भएको हो । हुल गाउँका उत्साहित युवाको जाँगर, जोस र उचित निर्णयका कारण बनेको बाटोमा नेतालाई बहिष्कार गरिएको छ । स्थानीय नेताले छुट्टयाइएको थोरै बजेट र उठेको चन्दामा पनि आँखा गाडेका थिए । व्यक्तिगत खातामा रकम जम्मा गरेर भागबन्डा गर्न लालायित स्थानीय नेतालाई हुल गाउँका युवाले अस्वीकार गरे । जसका कारण सडक निर्माण गर्न सहज भयो । सडक खनिसकेपछि उद्घाटनका लागि नेतालाई बोलाउने चलन पनि स्थानीयले तोड्दै गाउँकै वयोवृद्ध व्यक्तिबाट उद्घाटन गराए । स्थानीयको यो कार्यले नेताहरूको हातमा पैसा परेन भने विकास कार्य हुन्छ भन्ने सन्देश दिएको छ भने आफ्नो गाउँको विकास गाउँकै युवाद्वारा सम्भव छ भन्ने सन्देश पनि दिएको छ ।
भ्रष्टाचार, अनियमितता, घुस र कमिसनले विकास कार्य अवरुद्ध पार्न मुख्य भूमिका खेलेको छ । स्थानीय निकाय विघटनपछि जिल्ला–जिल्लामा बनेका सर्वदलीय समितिले आफूलाई निष्कलंक राख्न सकेनन् । छुट्टयाइएको बजेट बाँडीचुँडी खाने चलन बसाइएको आरोप समितिमाथि जनताले लगाए । अधिकांश जिल्लाबाट समिति बदनाम भएका सन्देश फैलिए । अर्थात् राजनीतिक दलका नेताहरूलाई विकासविरोधी र भ्रष्टाचारीका रूपमा प्रस्तुत गर्न सजिलो कार्य नेताहरूले नै गरे । मभुङ हुल गाउँको त्यो सीमित बजेट पनि सर्वदलीय समितिको हातमा सुम्पिएको भए स्थानीय जनताको २१ वर्षअघिदेखिको मोटरबाटोको सपना अधुरै रहने थियो । तर, हुल गाउँका सचेत युवाले आफ्नो गाउँ आफैँ बनाउँm र नेताहरूको विश्वास नगरौँ भन्ने सोच राखेका कारण हुल गाउँमा मोटर पुग्यो । आफ्नो परिश्रमका कारण मोटर पुगेकाले त्यहाँका जनता हर्षित भए । वास्तवमा गुल्मीको हुल गाउँका युवाले निकै ठूलो र अन्य क्षेत्रका युवाले पनि अनुसरण गर्न उपयुक्त कार्य गरेका छन् । आफ्नो क्षेत्रको विकास गर्न आफैँ लाग्नुपर्छ । नेताको मुख ताक्ने र भाषणमा विश्वास गर्ने बानी हटाउनुपर्छ । हुल गाउँ राम्रो नमुना बनेको छ । विकासप्रेमीले यसलाई पछयाउन सके थुप्रै राम्रा कार्य गर्न सकिन्छ ।

प्रतिक्रिया