राजनीतिक संकटले देश थलिएको छ । संवैधानिक रिक्तता थपिँदै छ । न्यायालयमाथि दृष्य वा अदृष्य रूपमा प्रहार गरिँदै छ । कानुनी राज्यलाई तहसनहस बनाएर अपराधिक गतिविधिलाई बढावा दिने काम हुँदै छ । असुरक्षा, मूल्यवृद्धि, हत्या, हिंसा, चन्दा आतंक, अपहरण र सामाजिक उत्पीडनले जनता भयग्रस्त बनेका छन् । अर्थात् जनताको स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार हरण गरिँदै छ । यो सब कार्य गर्नेमा वर्तमान कामचलाउ सरकार आफँै लाग्नु बिडम्वना बनेको छ । यो अवस्थाबाट मुलुकलाई मुक्त गर्दै जनतालाई राहत दिनेतर्फ सबै तह, तप्का र क्षेत्रबाट सोच्नुपर्ने अवस्था विद्यमान छ । त्यसमा पनि जोशिला, सचेत युवावर्गले यसप्रति गम्भीर चासो लिएर समस्या समाधानमा नजुट्ने हो भने राष्ट्रको भविष्य सुखद हुनसक्दैन । यही कारणले युवाहरूको काँधमा गहन जिम्मेवारी र दायित्व थपिएको छ । अहिले प्राय: युवाहरू संगठित छन् र मुलुकको बागडोर सम्हाल्न सक्ने अवस्थामा पनि छन् । यहीबेला तुलनात्मक रूपमा सशक्त, जुझारु, कर्तव्यनिष्ट र संगठनको हिसाबले मजबुत नेकपा (एमाले) निकट युवा संघको आठौं महाधिवेशनको चर्चा सुरु भएको छ । जबजब राष्ट्रमा राजनीतिक विपत्ति आउँछ तबतब यस संघले आफूलाई अग्रपंक्तिमा राखेर विपत्तिको सामना गर्ने अगुवाइ गरेको छ । यो युवा संघको इतिहास हो । यसलाई युवा संघका युवाहरूले अक्षुण राख्न के त्याग गर्नुपर्छ त्यसका लागि तयार हुन जरुरी छ ।
युवा संघको महाधिवेशन नजिकिँदै छ । यो महाधिवेशनले भावी नेतृत्व चयन गर्ने मात्र होइन मुलुकका तमाम खाले समस्या समाधान गर्ने उपायहरू सुझाउनेतर्फ सोच्न पनि जरुरी छ । तर, सुन्नमा आएको छ नजानिदो गरी युवा संघमा गुटगत प्रवृत्ति प्रवेश गर्दै छ । यदि यो वास्तविकतामा परिणत भयो भने मुलुकका लागि दुर्भाग्य र माउ पार्टीका लागि अभिशाप हुनसक्छ । तसर्थ, युवाहरूले युवा संघ हाँक्नसक्ने सक्षम, सक्रिय, सर्वसम्मत र सर्वस्वीकार्य नेतृत्व दिन सक्नेतर्फ सोच्न जरुरी छ । पार्टीभित्र गुटबन्दी अन्त्यका लागि प्यानलगत प्रतिस्पर्धा नगराउन नेकपा एमालेले निर्देशिका जारी गरे पनि भातृसंगठन युवा संघ नेपालमा तीन प्यानलको स्वरूप देखिएको खबरबाहिर आएका छन् । गुटगत प्यानल आफैँमा घातक र शत्रुतापूर्ण साथै कटुतापूर्ण हुन्छ । गुट आफैँमा सग्लो र सर्वस्वीकार्य हुँदैन । यसले कटुता र वैरभावको बिजारोपण गर्छ । आफूलाई वैचारिक, सांगठनिक र कार्यक्रमिक रूपले सशक्त बनाउन सकेन भने युवा संघको गरिमा, छवि, ओझ र उच्चाइमा नकारात्मक असर पर्न सक्छ । तसर्थ, युवाहरूले कुनै व्यक्तिको आशीर्वाद लिएर गुटगत धारणा निर्माण गर्नुहँुदैन ।
युवा संघ नेपाल निर्माणको जगमा थुप्रै अग्रजको ठूलो परिश्रम, लगानी र पसिना खर्च भएको छ । यसको बडो सुन्दर र गौरवशाली इतिहास पनि बनेको छ । मुलुकलाई साँच्चै आपत् परेको बेला आफूलाई यसले नैतिक, वैचारिक र सांगठनिक रूपले अग्रपंक्तिमा उभ्याएको छ । विभिन्न कालखण्डमा युवा संघलाई समाप्त पार्न राज्य शक्ति नै लागेको थियो । तर, युवाहरूको उल्लेख्य सहभागिताका कारण यसलाई ढाल्न खोज्नेहरू आफैँ ढले । यस्तो अवस्थामा संघमा कुनै प्रकारको छिद्र नपरोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । युवाहरू स्पष्ट हुन जरुरी छ । गुटगत प्यानल बन्यो भने त्यो घातक र असहज बन्न सक्छ । नेकपा (एमाले) को एउटा खम्बाको रूपमा रहेको युवा संघको महाविधेशनले निकै ठूलो अर्थ राख्छ । यो संघ आफैँ संकटमा परोस् भन्ने चाहना राख्नेहरू पनि छन् । यी सबै पक्षलाई गम्भीरतापूर्वक लिएर युवा संघले आफ्नो महाधिवेशनमा गुटगत प्यानलको अवधारणालाई पूर्णरूपमा हटाउन सक्नुपर्छ । जसले पार्टीको गुटलाई पनि सोच्न बाध्य पार्ने छ र युवा संघप्रति सबैमा सकारात्मक धारणा जगाउनेछ ।
प्रतिक्रिया