संसद् आक्रमण गर्नेलाई भारतमा झुन्ड्याइयो

India-Hatyaनयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित भारतीय संसद्मा सन् २००१ मा आक्रमण गरेको आरोपमा अदालतबाट दोषी ठहरिएका कस्मिरी पृथकतावादी मोहम्मद अफ्जल गुरुलाई शनिबार फाँसी दिइएको छ । अदालतले यसअघि नै फाँसीको सजाय सुनएकामा शनिबार निर्णय कार्यान्वयन गरिएको छ ।
सन् २००१ मा संसद् भवनमा आक्रमण भएपछि पारमाणविक हतियारयुक्त मुलुक भारत र पाकिस्तान युद्धको सँघारमा पुगेका थिए । फलफूल व्यापार गर्दै आएका गुरुलाई राजधानीको बाहिरी भागमा रहेको तिहाड जेलमा मृत्युदण्ड दिइएको हो । गुरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष गरेको अन्तिम पुनरावेदन अस्वीकार गरिएपछि उनलाई फाँसी दिइएको हो । गुरुलाई मृत्युदण्ड दिइएपछि भारतप्रशासित काश्मिरमा हिंसा फैलिनसक्ने आशंकामा प्रशासनले काश्मिरमा कफ्र्यु लगाएको छ । भारतको प्रमुख प्रतिपक्षी पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मृत्युदण्डको स्वागत गरेको छ । भारतीय गृहमन्त्री सुशीलकुमार सिन्देले गुरुलाई बिहान स्थानीय समयअनुसार ८ बजे झुन्ड्याइएको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर मृत्युदण्ड दिइएको उनले बताए ।
गुरुले अन्य चरमपन्थीसँग मिलेर सन् २००१ को डिसेम्बरमा संसद्मा आक्रमण गर्ने योजना तयार पारेको आरोप लगाइएको थियो । मृत्युदण्ड दिइएका गुरु प्रतिबन्धित चरमपन्थी समूह जैस–ए–मोहम्मदका सदस्य भएको बताइन्छ । यो समूहले भारत तथा पाकिस्तानबीच विभाजित काश्मिरी क्षेत्रमा संघर्ष चलाउँदै आएको छ । काश्मिरमा क्षेत्रमा पृथकतावादी द्वन्द्वका कारण करिब एक लाख जनाको मृत्यु भएको छ ।
पाँच सशस्त्र विद्रोहीले सन् २००१ को डिसेम्बर १३ मा संसद भवनभित्रै प्रवेश गरी आठ प्रहरी अधिकारी तथा एक मालीको हत्या गरेका थिए । यसपछि सुरक्षाकर्मीहरूले गोली बर्साउँदा उनीहरूको मृत्यु भएको थियो । आक्रमणमा परी घाइते भएका एक पत्रकारको महिनौँपछि मृत्यु भएको थियो । भारत प्रशासित काश्मिरको राजधानी श्रीनगरमा कफ्र्यु आदेश जारी नभए पनि सडकका प्रमुख केन्द्रमा प्रदर्शन हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ । भारतले संसद आक्रमण गर्नेहरूलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइले सहयोग गरेको आरोप लगाउने गरेको छ । संसद भवनमा हमलापछि दुई मुलुकको सीमामा करिब आठ महिनाका लागि करिब दश लाख सैनिक तैनाथ गरिएको थियो । (एएफपी)

प्रतिक्रिया