‘सर्तसहित वार्ता हुन सक्दैन’

दमास्कस : आन्दोलन तथा सशस्त्र विद्रोह मच्चाइरहेका विपक्षीसँग वार्ता गर्न आफू तयार रहेको सिरियाली सरकारले जनाएको छ । तर, यस्तो वार्ता आरम्भ गर्नुअघि कुनै पूर्वसर्त तेर्साउन नहुने उसले प्रस्ट पारेको छ ।
सिरियाली सरकारका तर्फबाट सूचनामन्त्री ओम्रान अल–जोहबीले शुक्रबार यस्तो जानकारी दिएका हुन् । प्रतिपक्षी समूहका नेताले सिरियाली सरकारसँग वार्ताका लागि प्रस्ताव राखेपछि जवाफमा सूचनामन्त्री जोहबीको भनाइ बाहिर आएको हो । सरकारी टेलिभिजनमार्फत उनले वार्ताका लागि ढोका खुला भएको र सरकारसँग वार्ता गर्न चाहनेलाई आफूहरूले स्वागत गर्ने बताए । वार्ताप्रति आफूहरू गम्भीर रहेको जिकिर उनले गरे । वार्ता विनासर्त हुनुपर्ने जिकिर गर्दै उनले यस्तो वार्ता कसैले बहिष्कार गर्न नहुने बताए ।
यसअघि प्रतिपक्षी सिरियन राष्ट्रिय गठबन्धनका नेता मोआज अल–खातिबले वार्ताको प्रस्ताव राखेका थिए । यसका लागि सरकारले कारागारमा राखेका एक लाख ६० हजार राजनीतिक बन्दीलाई रिहा गर्नुपर्ने बताउँदै त्यसो भए सरकारमा रहेर पनि हिंसामा संलग्न नभएका व्यक्तिसँग वार्ता गर्न आफूहरू तयार रहेको बताएका थिए । (एएफपी)

प्रतिक्रिया