आस्था झुकेको दिन

bijaya-sapkotaअन्तत: यो गुम्बामा आएर मेरो आस्थाले घुँडा टेक्यो । बाहिर निस्कँदा मन शान्त र चंगा थियो । आस्था गुमाएर हो अथवा पाएको जिम्मेवारी सम्पन्न गरेकोमा त्यतिखेर विश्लेषण गरिबस्ने इच्छा थिएन मनभित्र । म ओशोले भनेझैँ खुसी नभएर आनन्दित थिएँ ।
तर, म ओशोभक्त थिइनँ न त कुनै धार्मिक सत्तालाई विश्वास गरिहिँड्थेँ । आस्तिकतालाई नकार्नु मेरो आस्था थियो । चाडपर्व, कर्मकाण्ड र अरूका धार्मिक आस्थालाई कटाक्ष गर्नु मेरो स्वभावजस्तै थियो । यो त्यो बेला थियो जुनबेला म १८–१९ वर्षे जोसमा उग्रक्रान्तिकारी बन्ने आवेगले धप्प बलेको थिएँ । आफू हुर्किएको परिवेश, कम्युनिस्ट साहित्य र त्यसको बाटो देखाउने अग्रज दाजुहरूलाई पनि जितेर म बेग्लै बाटो हिँड्न उद्यत भइसकेको थिएँ । यद्यपि यसको छायामा कलिलो उमेरमा केही भावना पराजित हुनुको कारण पनि छँदै थियो । कम्युनिस्ट बन्नकै लागि आफूले त्यो उमेरमा लेखेका ठेलीका ठेली कविता, कथा र उपन्याससमेत जलाएर म आफ्नै दृष्टिमा खारिने तरखरमा थिएँ र सानैदेखि आदर्श मानिएका व्यक्तित्वहरूको चाहनाविपरीत बाटो हिँड्न बलियो मानसिकताका साथ तयार भइसकेको थिएँ । यो बाटोमा अग्रसर हुँदै आफूलाई माया गर्ने मान्छेहरू, साथीहरू र घरपरिवारसमेतलाई मैले चिढ्याइसकेको थिएँ । सबैसित दूरी बढाएर पनि म नयाँ सम्बन्धहरू गाँस्न लालायित थिएँ ।
तर, यति दु:ख गरी बोकेको मेरो आस्थाको जग मैले सोचेजस्तो बलियो रहेनछ । त्यो त यति कमजोर रहेछ कि कसैको आँसुका केही थोपाले नै त्यसलाई बगाएर हुत्याउनसक्ने रहेछन् ।
उकालिँदो लेकाली बाटो अनि उकालिँदो थकान । मलिन आकाशमुनि कुइरोको धुवाँमा निसास्सिँदो अँध्यारो सानो बजारमा मैले भेट्न पुगेथेँ त्यो दु:खी केटीलाई । हाँस्दाहाँस्दै पिल्पिलाइरहने त्यो प्रसंगवश आफ्नो पुरानो अवतारमा फर्किइथी र गहभरिको आँसु रोएकी थिई ।
‘यो मेरो आफ्नै हाँसो होइन भाइ † यो त मेरा आमाबाउ र दाजुको हाँसो †’
मलाई छक्क पार्ने गरी उसले भनेकी थिई । प्रश्नै प्रश्न रोपेर मैले बाहिरी आवरणबाट उसको भित्री मन चियाउन खोजेथेँ † ऊ उत्तरैउत्तर असरल्ल उमारेर रोइथी । चिल्थिएको मन फिँजेर उसले मसँग घरिघरि मैले चिन्दै नचिनेका अनेकसँग आफूलाई मुछेर भुनभुन गरिरही ।
बाउले छोरीको जिउको पसल थाप्छ, दाजुले दलाली गर्छ र आमा खनखनी पैसा गन्छे र सुनको दाँत हाल्छे । यस्तो फिलिममा मात्रै हो कि साँच्चिकै पनि हुन्छ ? रगतको सम्बन्ध पनि यति घिनलाग्दो वृत्तिमा उद्यत रहन्छ यो अविश्वसनीय भए पनि मैले विश्वास गर्नैपथ्र्यो ।
मेरो जिउँदोजाग्दो क्रान्तिकारिता त्यतिखेर यथार्थमा प्रकट हुनुपर्ने हो । मैले बोकेको विश्वासअनुसार उसलाई विद्रोहका लागि तयार गर्नुपर्ने हो । आफूमाथिको अन्यायलाई प्रतिकार गर्न जागरुक गराउनुपर्ने हो । अथवा त्यति गर्न नसके आफैँले तदारुकता देखाएर उसलाई त्यो नरकबाट मुक्त गराउन पहल गर्नुपर्ने हो । तर म…, म त बिजुलीको पहेँलो प्रकाशमा उसको अनुहारको दु:ख देख्नु नपरोस् भनेझैँ सिधा हेर्न नसकेर छेलिएको थिएँ । मनभित्र उसको आँसुले बनाइदिएको सानोतिनो दहमा पौडिएर खोजिरहेको थिएँ– उसका बैँसालु सपना । असरल्ल छरिएका सपनाहरू टिपिदिने भावुकताले उद्वेलिन्थ्यो मन कहिले–कहिले त । फेरि डरलाग्थ्यो र नजानिँदो गरी काप्थेँ म ।
माया गरेको मान्छे पैसा कमाउन सहर पस्छ, ऊ कुरेर गाउँमै बसिरहन्छे । तर, ऊ फर्किएर आउँदैन । ऊ खोज्दै जान पनि सक्दिन । भर्सेला परोस् भनेर मन मोड्न पनि सक्दिनँ । अनि जँड्याहा बाउको होटलमा दालभातसँगै बैँस बेच्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसबाट मुक्त हुन पनि सक्दिन । कहिलेकाहीँ मर्ने इच्छा राख्दाराख्दै पनि मर्न सकिन, आफूले माया गरेको टुहुरो मान्छे, भोलि खोज्दैखोज्दै आइपुग्यो भने…? उसलाई त माया गर्ने कोही पनि छैन † एउटा छ कोही नभएर टुहुरो बनेको । अर्को छ सबै हुँदाहँुदै पनि टुहुरो बनेको । उसको ग्याल्जेन टुहुरो छ, माया चाहिन्छ उसलाई । ऊ, उसकी मायालु माया गर्छे– मायालुको माया पनि गर्छे आमाको माया पनि । ऊ पनि त टुहुरी नै त हो नि, स्नेह छैन भने आफन्तको अर्थ के ? तर, उसको मान्छे फर्किएर आउँछ त ? जागिर खान हिँडेको छ मायालाई छोडेर । भारी बोक्दै गर्दा कतै हिउँपहिरोमा पुरियो कि ? अथवा सहरतिर गर्तमा कतै भासियो र उम्किनै सकेन । अथवा कतै नयाँ जीवन पो सुरु गर्‍यो कि ? तर उसको मनमा अलिकति पनि आशंका छैन, बरु ऊ कतै दु:खमा फसिरहेको पो छ कि भन्ने डर मात्रै छ । ऊ राम्रो खबरको प्रतीक्षामा छे तर ग्याल्जेन बेखबर भएको खबर मात्रै आउँछ गाउँमा । त्यसो त खबर त जस्तोसुकै आउन पनि सक्छ । आखिर भर के पो छ र । फेरि त्यो फर्किएरै आए पनि यो अवस्था बाँचिरहेकी स्वास्नीमान्छेलाई ग्याल्जेन नाउँको त्यो लोग्नेमान्छेले कहिल्यै स्विकार्ला त ? मेरो मनमा आशंका जन्मिएको थियो । तर, मैले नसोधीकन उसैले उत्तर दिएकी थिई– म आफैँ पनि त जाँदिन नि उसँग । म उसका लागि लायककी कहाँ भएँ र । …तर एकपटक हेर्ने रहर छ …।’
मनजस्तै धमिलो परिवेशमा पनि सङ्लो बाँच्न सक्दोरहेछ । आस्थाको चुरो मान्छेले जस्तै प्रलयमा पनि बचाइराख्न सक्दोरहेछ, आँट्यो भने । संघर्षमय जीवनको त्यो डरलाग्दो आँधीमा आफ्नो आस्था जोगाउन सक्ने त्यो मान्छेलाई सलाम गर्ने आँट भने ममा पटक्कै आएन । अहो मेरो आस्थाभन्दा त्यो आस्था कति बलियो र अविचल थियो †
मैले आफ्नो वास्तविक आँट, साहस र वैचारिकताको जग त्यो दिन नियालेँ । उसितको केही घन्टाको बसाइले मेरो दिमागी क्रान्तिकारिताको रातो रंग सबै पखालेर लगिसकेको थियो । अब मलाई ऊ हाइस्कुलमा हुँदा पढेका प्रकाश कोविदका उपन्यासहरूकी दु:खी नायिकाजस्तो लाग्न थालिसकेकी थिई, उसले माया गरेको ग्याल्जेन नायकजस्तो अनि आफू पनि कुनै सहायक चरित्रजस्तो…। म त्यसैत्यसै उमेरजन्य भावुक कोमलताको हावामा सुस्तरी लहराइरहेको थिएँ ।
‘माथि गुम्बामा ग्याल्जेनका लागि बत्ती बालिदिनुस् है भाइ †’ आखिरीमा उसले आग्रह गरी । मेरो भौतिकवाद त ढलिसकेको थियो तर पनि त्यो अप्रकट थियो । त्यसैले ममाथि त्यो चुनौती पनि थियो । भन्न सकिनँ मैले मायाले सम्झाएर– ‘गुम्बामा बत्ती बालेर पनि केही हुन्छ त † गर संघर्ष र जित आफ्नो जीवन । आफ्नो जीवन आफैँ जित †’
अनि हारेर म नीलो भएँ । मुन्टो हल्लियो पराजित र यान्त्रिक । समर्थनमा कि विरोधमा ?
मसँग त्यतिखेर आफ्नो पहिचान केही बाँकी थिएन । म शून्यमा त थिइनँ तर त्यसबाहेक अरू विषय सोच्न सकिरहेको पनि थिइनँ । उसको मप्रतिको विश्वास मेरो आफूप्रतिको विश्वासभन्दा बढी थियो । सत्र ठाउँ पट्याइएको पचासको नोट मतिर बढ्यो–गुम्बामा चढाइ मागेर ।
‘पर्दैन, मसँग छ नि ।’
तर, त्यो फिर्ता जान मानेन । चुपचाप नोट समातेँ । भुटेको भटमासको सगुन मायाको गोजीमा हालेर उक्लिँदै थिएँ भोलिपल्ट एकाबिहानै उकालो ।
भुइँकुइरोको लहँगा बेरेर नाँच्ने तयारीमा थिए चिसा पहाड । कन्जुस घाम तिनकै पोल्टामा पुल्टुङबाजी खेल्नमा मस्त थियो । चिसो हावा ज्यानमा थापेर म उक्लिँदै थिएँ । अलिकति माथि पुग्नासाथ फेरि निम्छरो आकाश चुइँकिन थालिहाल्यो । अब पहाडमा कुइरोबाहेक अरू केही छैन जस्तो आकासै त्यहीँ आएर थ्याच्च बसिदिएजस्तो वातावरण तयार भइसकेको थियो । मभित्रको बोझ त्योभन्दा गह्रौँ थियो । देवदार र धूपीका आदिम उपस्थिति बोकेको लेकाली बनको छेउमा फुलेको त्यो लेकाली फूलको लुछिनुको पीडा आदिम थियो कि आधुनिक …? बाटोभरि सिँगाने पानीले रुझेका रूखबुट्यानलाई यिनै प्रश्नसहित छाम्दै हिँडिरहेथेँ म ।
तीव्र द्वन्द्वको सामना गरेर आफूले आफैँलाई हराएर भए पनि उसको विश्वासलाई जिताउने काम गरेँ मैले । ग्याल्जेन हिँडिसकेपछिको पहिलो मान्छे सायद म नै भएँ जसले केही क्षणका लागि आफूलाई बाहिरै राखेर देवप्रतिमामुनि बत्ती बाल्यो काङलिनको दर्दभरिको आवाज छातीमा खोपेर । अनि…, भावुकताले आँखाभरि आँसु भरिएर आयो ।
गुम्बा बाहिर निस्किँदा भने मन शान्त र हलुका थियो । आस्था गुमाएर हलुको भएको थियो अथवा परित्यक्त मनलाई सहानुभूतिका आँखाले सुम्सुम्याउन पाएकोमा…, पत्तो भएन ।
अहिले १२ वर्षभन्दा बढी भयो, थाहा छैन मेरो आस्थाले घुँडा टेकेर उसको आस्थाको जित भयो कि भएन । तर, मेरो जीवनमा ठूलो शिक्षा दिने त्यो घटना र त्यससित जोडिएकी निमाको अनुहार मैले अझै बिर्सन सकेको छैन । थाहा छैन, उसको ग्याल्जेनलाई उसले भेट्न पाई या पाइन, न उसले त्यतै लेकहरूतिर आफूलाई उत्सर्जन गरी अथवा एउटा कुनै ड्र्राइभरको पछि लागेर नयाँ सपना रोप्न हिँडी । अथवा, मैले सोचेजस्तै कुनै आफ्नो जीवनको कालो हटाउन आफैँ लड्न अग्रसर भई । मेरो लागि यो कौतूहलता त छँदै छ । युवावयको सुरुवातमा गहिरोसित प्रत्यक्ष अनुभूत गरेको एउटा दु:खी केटीलाई त्यो नारकीय अवस्थाबाट जोगाउन केही सहयोग गर्न सक्थेँ कि सक्दिनथेँ, त्यसको उत्तर मैले अद्यापि पाउन सकेको छैन ।

प्रतिक्रिया