करोडौंको पुल गुणस्तरहीन

Bagmatiरौतहट, २५ माघ । हुलाकी राजमार्ग मदौलिया आयोजना अन्तर्गत बडहर्वाघाट बागमती नदीमा निर्मित पुलमा गुणस्तरहीन सामग्री प्रयोग भएको पुष्टि भएको छ । सिडिओ शिवहरि उपाध्यायले निमार्ण कार्य रोकेर गुणस्तरीय साम्रगीको प्रयोगपछि मात्र निर्माण सुरु गर्न दिइएको आदेश पनि ठेकेदारले अटेर गरेका छन् ।

पुल निर्माणको ठेक्का पाएका लुम्बिनी बिल्डर्स प्रालिले निर्माणमा मापदण्ड अनुसारको सामग्री प्रयोग नगरेकाले सिडिओ उपाध्यायले निर्माण कार्य बन्द गर्न निर्देशन दिएका थिए । स्थानीयले पुल निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको भन्दै सिडिओ कार्यालयमा उजुरी गरेपछि स्थलगत निरीक्षण गर्न पुगेका सिडिओ उपाध्यायले स्टमेटअनुसारको सामग्री प्रयोग गर्न आदेश दिएका थिए । साथै निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको ठहर भएमा सरकारले तोकेबमोजिमको कानुनी कारबाही गरिनुका साथै निर्माण कम्पनीको इजाजत पत्रसमेत रद्द गरिने चेतावनीसमेत दिएका थिए ।
तर, पुल निर्माणमा सरकारको प्रतिनिधित्व गरिरहेका इन्जिनियर शशांक मिश्र र सत्यनारायण रायले नै आर्थिक प्रलोभनका कारण ठेकेदारको गुणस्तरहीन कामलाई पनि नदेखेको गरिदिएपछि भ्रष्टाचार संरक्षण भएको हो । ‘गुणस्तरहीन काम भइरहँदा पनि इन्जिनियरले हेरेका रहेनछन्, उनीहरूको पनि मिलेमतो हुनसक्ने आशंका छ’ सिडिओ उपाध्यायले भने । पटकपटक भन्दा पनि ठेकेदारले अटेरी गरेपछि पुलको रकम निकासा बन्द गराइएको सिडिओ उपाध्यायले बताए ।
करिब ३६ करोड रुपियाँको लागतमा तीन वर्षमा निर्माण कार्य पूरा हुने भनिएको पुल ६ सय ३३ मिटर लामो र आठ मिटर चौडाइ हुने बताइएको छ । निर्माण कार्य सुरु भएको दुई वर्ष बित्दा ३५ प्रतिशत काम सकिएको छ । स्थानीयले पनि करोडौँको लगानी भएको पुलमा गुणस्तरहीन सामग्रीको प्रयोग हुनु आपत्तिजनक भएको र निर्माण कार्यमा माटो मिसिएको बालुवा तथा गिटी प्रयोग भएको बताएका छन् । ‘पुल नजिक निर्माण भइरहेको ड्याम बोल्डरको साटो मिक्स ग्राभल गिटी राखिएको छ र माटो मिसिएको गिटी तथा बालुवाको प्रयोग भएको छ,’ स्थानीय विजय साहले भने । बडहर्वा गाउँ विकास समितिका निवर्तमान गाविस अध्यक्ष कुवेर सिजापतिले पनि पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको बताए । ‘गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको छ,’ उनले भने, ‘निर्माण कार्यमा माटो मिसिएको बालुवा तथा गिटी प्रयोग भएको छ ।’
सरकारको नीतिनिर्देशन अनुसार सरकारी लागतमा कुनै पनि निर्माणको काम हुँदा निर्माण स्थलमा निर्माण कार्यको सम्पूर्ण विवरणसहितको वडापत्र राख्ने व्यवस्था रहे पनि करोडौँको योजना निर्माण भइरहँदा जानकारीको लागि कुनै बोर्डसमेत राखिएको छैन ।
सरकारका प्रतिनिधि रहेका इन्जिनियर शशांक मिश्र र सत्यनाराण रायले पनि निर्माण भइरहेको पुलमा २० देखि २५ प्रतिशत कार्य गुणस्तरहीन रहेको स्वीकार गर्दै सुधारको लागि पटकपटक निर्देशन दिँदा निर्माण कम्पनीले नै अटेरी गरेको बताए ।
रौतहटलाई सर्लाहीसँग जोडने पुलको निर्माणपछि पूर्वको यात्राका लागि समयको बचत हुने विश्वासका साथ रौतहटबासीले महत्त्वाकांक्षी पुलका रूपमा निर्माणाधीन पुललाई लिएका छन् ।

प्रतिक्रिया