काश्मिरमा आत्मनिर्णयको अधिकारलाई पाकिस्तानको समर्थन

jardariकाठमाडौं : पाकिस्तानी राष्ट्रपति असिफ अदि जर्दारीले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई जायज मागको संज्ञा दिँदै यसलाई पाकिस्तानले समर्थन गर्ने बताएका छन् । काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा मंगलबार दिएको सन्देशमा जर्दारीले काश्मिरी ‘बन्धु’हरूलाई उनीहरूको आत्मनिर्णयको अधिकार प्राप्तिको दिशामा राजनीतिक, नैतिक तथा कूटनीतिक सहयोग गर्न पाकिस्तान सरकार तथा पाकिस्तानी जनता तयार रहेको जिकिर गरेका छन् ।
नेपालस्थित पाकिस्तानी दुतावासले उपलब्ध गराएको जर्दारीको सन्देशमा राष्ट्रसंघीय बडापत्र एवं राष्ट्रसंघीय प्रस्तावनाले समेत काश्मिरका जनताको आत्मनिर्णयको अधिकार स्थापित गरेको उल्लेख छ । आफ्नो भाग्यको फैसला आपैँm गर्न पाउने नैसर्गिक अधिकार प्राप्तीका लागि काश्मिरी जनताले चलाएको विरतापूर्ण संघर्षप्रति पनि राष्ट्रपतिको सन्देशमा सम्मान व्यक्त गरिएको छ ।
विगत ६ दशकदेखि काश्मिरी जनतामाथि बर्बर दमन हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति जर्दारीको सन्देशमा भनिएको छ, ‘जायज मागका लागि स्थानीय स्तरमा सञ्चालित संघर्षलाई बल, नियन्त्रण र आधारभूत मानवअधिकारको उल्लंघनमार्फत दमन गर्न सकिँदैन भन्नेमा पाकिस्तान विश्वस्त छ ।’
भारत प्रशासित काश्मिरका जनतामा रहेको संघर्षप्रतिको दृढताले लक्षित उद्देश्य हासिल गर्ने विश्वाससमेत जर्दारीले व्यक्त गरेका छन् । काश्मिर विवादको उपयुक्त तथा शान्तिपूर्ण समाधानको खोजी गर्न पाकिस्तान प्रतिबद्ध रहेको जिकर उनले गरेका छन् ।
त्यसैगरी नेपालका लागि पाकिस्तानी राजदुत अर्सद साउद खोसाले धर्म, भूगोल, संस्कृत, आकांक्षा तथा अर्थतन्त्रमा पाकिस्तान र काश्मिरबीच प्रगाढ सबन्ध रहेको जिकिर गर्दै काश्मिरका जनताप्रति पाकिस्तानी जनताको ऐक्यबद्धता स्वभाविक रहेको बताएका छन् । सन् १९४७ यता भारत प्रशासित काश्मिरका हजारौँ जनताले पाकिस्तानमा बसाइँ सरेको उदाहरण पेस गर्दै राजदुत खोसाले यसबाट पाकिस्तानप्रति काश्मिरी जनताको भावनात्मक लगाव प्रस्ट भएको जिकिर गरेका छन् । ‘भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई काश्मिरमा जनमतसंग्रह गराउने विषयमा प्रश्न गर्दा उहाँले जनमतसंग्रह भए काश्मिरी जनताले पाकिस्तानका पक्षमा मत हाल्ने र यस्तो जनमतसंग्रह गराउन सहमत हुने सरकारको भारतमा खैरात नहुने भनाइ राख्नुभएको थियो,’ ऐक्यबद्धता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
दुई परमाणु शक्तिसम्पन्न राष्ट्रबीच विद्यमान काश्मिर विवादलाई अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर रूपमा लिनुपर्ने विचार राजदुत खोसाले प्रकट गरे । जम्मु र काश्मिरमा विद्यमान अवस्थाले दुई राष्ट्रबीच पुन: द्वन्द्व सिर्जना गर्नसक्नेसमेत उनले आँैल्याए ।
सन् १९४७ मा स्वतन्त्र भए यता पाकिस्तान र भारतबीच काश्मिरलाई लिएर पटकपटक युद्ध भड्किसकेको छ । काश्मिरको कुल भू–भागको दुई तिहाइ क्षेत्रमा भारतीय प्रशासन सक्रिय छ भने बाँकी क्षेत्रको प्रशासनको जिम्मा पाकिस्तानले लिँदै आएको छ । भारत प्रशासित क्षेत्रलाई ‘नियन्त्रीत काश्मिर’ र पाकिस्तान प्रशासित क्षेत्रलाई ‘आजाद काश्मिर’ भन्ने गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया