धेरै टिभी हेर्ने पुरुषमा शुक्रकिट कम

पेरिस : प्रतिसाता २० घन्टाभन्दा बढी समय टेलिभिजन हेर्ने पुरुषमा कम टेलिभिजन हेर्ने वा हेर्दै नहेर्ने व्यक्तिको तुलनामा शुक्रकीट को संख्या आधा हुने मंगलबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले १८ देखि २२ वर्ष उमेर समूहका एक सय ८९ युवकलाई उनीहरूको शारीरिक अभ्यास, खाना तथा टिभी हेर्ने बानीका विषयमा प्रश्न गरेका थिए । यसपछि उनीहरूको शुक्रकीट को नमुना लिइएको थियो ।
अनुसन्धानमा प्रतिसाता २० घन्टाभन्दा बढी टिभी हेर्ने युवकमा निकै कम हेर्ने वा हेर्दै नहेर्ने युवकको तुलनामा ४४ प्रतिशत कम शुक्रकीट फेला परेको थियो । शुक्रकीट कम हुनुको प्रमुख कारणमा युवकले गर्ने शारीरिक अभ्यास पनि रहको बताइएको छ । यो अनुसन्धान प्रतिवेदन ‘ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिन’मा प्रकाशन भएको छ ।
प्रतिसाता १५ वा बढी घन्टा शारीरिक अभ्यास गर्ने युवकमा प्रतिसाता पाँच घन्टाभन्दा कम शारीरिक अभ्यास गर्ने युवकमा भन्दा ७३ प्रतिशत बढी शुक्रकीट हुने अध्ययनले देखाएको छ । शुक्रकीटको मात्रा कम हुने पुरुषबाट महिलाले सन्तान जन्माउन सक्दैनन् । अन्य धेरै मुलुकमा गरिएको अध्ययनमा व्यक्तिमा शुक्रकीट को गुणस्तर घट्न थालेको देखिएको छ । यसको वास्तविक कारण हालसम्म फेला पर्न सकेको छैन । तर, वैज्ञानिकहरूले मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण यस्तो भएको अनुमान गरेका छन् । (एएफपी)

प्रतिक्रिया