काश्मिरमा संगीत समूह भंग

श्रीनगर : भारतको काश्मिरमा तीन बालिकाले स्थापना गरेको ‘ प्रगाश’ नामको संगीत समूह अश्लील भएको ठहर गर्दै भंग गर्न इस्लामी धार्मिक समूह ‘ग्रान्ड मुफ्ती अफ जम्मु एन्ड कश्मीर’का धर्मगुरु बशिरुद्दिन अहमदले धार्मिक आदेश जारी गरेपछि सो समूह भंग भएको जानकारी यसका व्यवस्थापकले मंगलबार दिएका छन् ।
समूह स्थापना गर्ने सबै बालिका अझै विद्यालयमा अध्ययन गर्छन् । उनीहरूले डिसेम्बर महिना ‘ब्याटल अफ ब्यान्डस’ प्रतियोगितामा विजयी भएका थिए । यसपछि सो समूह इस्लामिक धर्मगुरुहरूको घृणाको पात्र बनेको थियो । यसअघि समूहले थप संगीत सिर्जना गर्ने जानकारी दिँदा यसविरुद्ध धार्मिक आदेश जारी भएपछि समूह भंग भएको हो । तीन बालिकामध्ये एककी आमाले आफ्नी छोरीले समूह छोडेको तथा उनी हाल कश्मीरबाहिर नातेदारकामा बसोबास गरिरहेको बताइन् । मुफ्तीको आदेशको व्यापक आलोचना भएको छ । काश्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहले समूह स्थापना गर्ने बालिकालाई धार्मिक आदेशबाट नडराउन तथा संगीत नछोड्न आग्रह गरेका छन् । भारत प्रशासित काश्मिर मुसलमान धर्मावलम्बीको बाहुल्य भएको राष्ट्र हो । यहाँका कट्टरपन्थी इस्लामिक धर्मावलम्बीहरूले राज्यमा इस्लामिक कानुन अनुरूप सिनेमा हल तथा मदिरा पसल बन्द गर्न आदेश दिने गरेका छन् । (एएफपी)

प्रतिक्रिया