टेलिकमको भविष्य

सरकारी सेवाप्रदायक कम्पनी नेपाल टेलिकम १०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल दूरसञ्चार संस्थानबाट ०६० सालमा कम्पनी बनेको टेलिकम नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने कम्पनी पनि हो । ८४ लाख ग्राहक संख्या रहेको टेलिकमको कुल आम्दानी ३६ अर्ब नौ करोड रुपियाँ पुग्नु यो सेवाप्रति ग्राहक आकर्षित हुनु पनि हो । विभिन्न प्रकारका सेवा सुविधा पुर्‍याउँदै आएको टेलिकमको ९२ प्रतिशत सेयर नेपाल सरकारको रहेको छ । केहीसमय अघिसम्म यो प्रतिस्पर्धाविहीन थियो । अहिले दूरसञ्चारका क्षेत्रमा पाँचवटा सेवाप्रदायक आएपछि कम्पनीको एकाधिकार समाप्त भएको छ । अन्य सेवाप्रदायक बजारमा प्रतिस्पर्धी बनेपछि कम्पनीले आफूलाई चुस्त, दुरुस्त र अत्याधुनिक प्रविधिबाट लेस गर्नुपर्ने बाध्यता थपिएको छ । ग्राहकको सन्तुष्टि र विश्वासले नै टेलिकमको बजार विस्तार र ग्राहकको बढोत्तरी हुने भएकाले यसले आफूलाई प्रतिस्पर्धामा खरो उतार्नुपर्ने भएको छ । सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने टेलिकम सरकारको स्वामित्वमा रहेका अन्य संस्थाभन्दा आर्थिक रूपले सम्पन्न छ । तर, यो कम्पनीलाई सेवामुखी बनाउनेभन्दा पनि सरकारले मुनाफामुखी बनाउँदै गइरहेको छ । ९२ प्रतिशत सरकारकै सेयर भएको र सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनी भएको हुँदा यसलाई अरू सस्तो, सुलभ र भरपर्दो बनाउन जरुरी छ । यसतर्फ कम्पनी र सम्बन्धित पक्षले सोच्नुपर्छ ।
कम्पनीमा परिणत भएपछि यसले तीव्र गतिमा विकास गरेको हो । सेवाभावले स्थापना भएको दूरसञ्चार संस्थान कम्पनीमा परिणत गर्दा अझ बढी सेवामुखी बन्छ भन्ने विश्वास गरिएको थियो । तर, त्यो विश्वासअनुसार कम्पनीले काम गर्न सकेको छैन । दुर्गम ग्रामीण क्षेत्रभन्दा पनि सहरी क्षेत्रलाई प्राथमिकता दिएर यसले आफ्ना गतिविधिहरू बढाएको पाइन्छ । राज्यकोषबाट ९२ प्रतिशत सेयर हालिएको कम्पनी जनताको पैसाले चलेको कम्पनी हो । तसर्थ, कम्पनीले मुनाफाभन्दा सेवामा बढी जोड दिनुपर्छ । दुर्गम ग्रामीण क्षेत्रका जनता र राजधानीका जनतालाई समान रूपमा सेवाप्रदान गर्न नसक्ने हो भने सरकारी स्वामित्वको कम्पनी भन्नुको अर्थ रहँदैन । अत्यधिक मुनाफा आर्जन गर्ने उद्देश्यले काम गर्ने अन्य कम्पनी र संस्था बजारमा आइसकेका छन् । तसर्थ, दूरसञ्चार ठूलो बजार क्षेत्रमा मात्र केन्द्रित रहनु हँुदैन । सेवा विस्तारलाई पहिलो प्राथमिकतामा राखेर यस कम्पनीले आफ्ना योजना अगाडि बढाउनुपर्छ । ग्राहक संख्या ८४ लाख पुगे भनेर गर्व गर्नुको पनि कुनै तुक छैन । चार दोब्बर सेवा पाइरहेका सहरी क्षेत्रका ग्राहक र ताप्लेजुङ अथवा दार्चुलाका सेवा नपाएका जनतालाई एउटै गणनामा पारिनु हँुदैन । सहरी क्षेत्रका जनताको प्रत्येक घरमा विभिन्न प्रकारका सुविधा प्रयोग हँुदै छन् भने दूरदराज ग्रामीण क्षेत्रका जनता दुई दिन पैदल बाटो हिँडेर टेलिफोन गर्न धाउनुपर्ने अवस्था छ । यो निकै संवेदनशील र लाजमर्दो विषय हो । टेलिकमले यो खाडल पुर्नुपर्छ ।
विभिन्न कारणले होला टेलिकमको सेवा भरपर्दो र विश्वासिलो छैन । कुनै पनि सेवाप्रदायक कम्पनीलाई टिकाउ र दिगो बनाउने मुख्य तत्त्व विश्वसनीयता हो । टेलिकमले संख्यात्मक रूपमा आफूलाई अग्रस्थानमा राखेर मात्र हुँदैन । गुणात्मक विकास पनि गर्न सक्नुपर्छ । प्राविधिक रूपमा आफूलाई चुस्त, दुरुस्त र सबल राख्ने विषयमा टेलिकमले कन्जुस्याइँ गर्नुहँुदैन । यसलाई ग्राहकले धेरै माया गरेका छन् र मुनाफा पनि थुप्रै आर्जन भएको छ । अब, ग्राहकको मन जित्न विश्वासिलो भरपर्दो सेवा उपलब्ध गराउने साथै न्यूनतम शुल्कमा सेवा दिनेतर्फ टेलिकम लाग्नुपर्छ । मुनाफा बढाउने उद्देश्य त्यागेर दुर्गम क्षेत्रका जनतासम्म सेवा पुर्‍याउने, गुणस्तर बढाउनेतर्फ टेलिकम नलाग्ने हो भने यसको भविष्य चौपट हुन सक्छ । छोटै समयमा निकै प्रगति गरेको टेलिकमले मुनाफा घटाउने साथै आफ्नो सेवालाई सस्तो, भरपर्दो र विश्वासिलो बनाउँदै लान सक्नुपर्छ । सरकारलाई धेरैभन्दा धेरै राजस्व बुझाउने होडमा टेलिकम लाग्नुहँुदैन । किनकि, सेवामुखी बन्न नसक्ने हो भने बजारमा गुणस्तरीय सेवाप्रदायक भित्रिएपछि यो कम्पनी तुरुन्तै थला पर्नेछ । आफूले आर्जन गरेको विश्वासलाई कायम राख्दै अझ प्रभावकारी बन्दा नै यसको भविष्य सुनिश्चित हुनेछ ।

प्रतिक्रिया