म्युनिक : सिरियाका विद्रोही नेताले रुस र इरानका अधिकारीसँग वार्ता गरेका छन् । सिरियाली सत्ताको समर्थन गर्दै आएका रुस र इरानका अधिकारीले सिरियाका विद्रोही पक्षसँग औपचारिक छलफल गरेपछि करिब दुई वर्षदेखी विद्यमान सिरियाली संकटले निकास पाउने अनुमान गरिएको छ ।
रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभ र इरानी विदेशमन्त्री अली अकबर सालेहीसँग सिरियाका विपक्षी नेता मोज अल्खातिबले वार्ता गरेका हुन् । ‘रुसका केही निश्चित दृष्टिकोण रहेछन् । यद्यपि, संकट समाधानका लागि हुने वार्ता र छलफललाई हामी स्वागत गर्दछौँ । छलफल गर्नुपर्ने अन्य थुप्रै विषयहरू छन् र ती विषयमा वार्ता गर्न सकिन्छ,’ वार्तापछि विपक्षी नेता अल्खातिबले भने । सिरियाली जनताले बेहोरिरहेका दु:ख अन्त्यको उपाय
पत्ता लगाउने विषयमा सहमति बनेको इरानी विदेशमन्त्रीसँगको भेटपछि उनले जानकारी दिए ।
त्यसैगरी अल्खातिबले अमेरिकी उपराष्ट्रपति जो बिडेन र सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत लख्दर ब्राहिमीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटका अवसरमा कम रक्तपात र न्यूनतम मानवीय क्षतिमार्फत सिरियामा सत्ता परिवर्तन गराउने विषयमा छलफल भएको जानकारी अल्खातिबले दिए । केही समयअघि उनले सिरियाली राष्ट्रपति असदका दूतसँग समेत भेट गरेका थिए, जसकारण विद्रोही खेमाभित्र उनको चर्को आलोचना भएको थियो ।
सिरियाली राष्ट्रपति बसर अल असदको शासन अन्त्यको माग गर्दै जारी आन्दोलन तथा सशस्त्र विद्रोहका कारण ६० हजार जनाको मृत्यु भइसकेको छ । सिरियाली सरकारलाई विपक्षीको माग सुनुवाई गर्न बाध्य पार्ने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषद्ले ल्याएको प्रस्ताव रुसले तीनपटक रोकिसकेको छ । सुरक्षा परिषद्मा भिटो शक्ति भएको अर्को राष्ट्र चीनसँग मिलेर रुसले प्रस्ताव रोकेको हो । तैपनि, असदले देश छोड्नुपर्ने अवस्था आए उनलाई आश्रय नदिने जनाएर रुसले लचिलो बन्न सिरियाली सत्तालाई दबाब पनि दिएको थियो ।
‘सिरियाली संकट समाधानबारे घनिभुत छलफल भइरहेको छ । छलफलमा सिरियाको कट्टर समर्थक इरानलाई पनि समेटिनुले यसले ठूलो संकेत दिएको छ,’ एक कूटनीतिज्ञले नाम उल्लेख नगर्ने सर्तमा भने ।
मध्यपूर्वमा इरानसहित हिजबुल्लाहले सिरियाली सत्ताको समर्थन गर्दै आएका छन् । इरान सिया मुसलमान बहुल राष्ट्र हो भने सिरियामा अल्पमतमा रहेका सियाले बहुसंख्यक सुन्नी समुदायमाथि शासन गर्दै आएका छन् । इरान र हिजबुल्लाहबाहेक प्यालेस्टाइनी समूह हमाससमेत सिरियाको पक्षमा छन् । त्यस्तै चीन र रुसजस्ता सुरक्षापरिषद्मा भिटो शक्ति भएका राष्ट्रले पनि सिरियामाथि हुनसक्ने वैदेशिक सैन्य हस्तक्षेपको विरोध गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया