सिडिओले मागे लिखित स्पष्टीकरण

भैरहवा, २२ माघ । ऐनविपरीत आफू मातहातका कर्मचारीलाई काममा खटाउने कार्यालय प्रमुखलाई सिडिओले लिखित स्पष्टीकरण सोधेका छन् ।

रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालय, भैरहवामा कार्यरत खरिदार ज्ञानबहादुर चौधरीलाई ऐनविपरीत काममा खटाएको आरोपमा जिल्ला प्रमुखले स्पष्टीकरणका लागि पत्र काटेका हुन् ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका कार्यालय प्रमुख आनन्दराम रेग्मीले ऐन–कानुनविपरीत मातहतका कर्मचारीलाई निजी प्रतिष्ठानमा काम गर्न पठाएर सोही प्रतिष्ठानबाट हाजिरी अभिलेख पेस गराउन लगाएको विषयमा सिडिओ कार्यालय रुपन्देहीले स्पष्टीकरण मागेको हो ।
खरिदार चौधरीलाई कार्यालय प्रमुख रेग्मीले १ माघदेखि पूर्णकालीन रूपमा कामकाज गर्नेगरी कार्यालयअन्तर्गतको माउन्ट एभरेस्ट डिस्टीलरी प्रालि टिकुलीगढमा अन्त:शुल्क प्रतिनिधिका रूपमा खटाएका थिए । उनको हाजिरी प्रतिष्ठानबाट प्रमाणित गरी पेस गराउन निर्देशनसहितको पत्र लेख्दै काममा खटाइएको थियो ।
कर कार्यालयका कर्मचारीको हाजिरी निजी कम्पनीको हातमा भन्ने समाचार प्रकाशन भएपछि रुपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले कर कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टीकरण मागेका हुन् ।
‘मैले पत्रिकामा समाचार प्रकाशन भएकै दिन लिखित रूपमा के भएको हो भनी स्पष्टीकरणका लागि पत्र पठाइसकेको छु,’ उनले भने, ‘पत्रको जवाफ कस्तो आउँछ त्यसैअनुसार कारबाही अघि बढ्नेछ ।’
निजामती कर्मचारीलाई आफूअनुकूल प्रयोग गर्न खोजेको भन्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले पनि चासो देखाएको छ । संगठनका जिल्ला अध्यक्ष मेघदेव पन्त, सचिव नारायण भण्डारीसहितको टोली खरिदार चौधरी अन्यायमा परेको भन्दै यससम्बन्धमा कार्यालय प्रमुखसँग छलफल गर्न आन्तरिक राजस्व कार्यालय भैरहवा गएका थिए । कार्यालय प्रमुखले फुर्सद नभएको भन्दै कार्यालयमा भएर पनि भेट्न नचाहेको संगठनका अध्यक्ष पन्तले बताए । पन्तले भने, ‘आन्तरिक राजस्व कार्यालयमा कर्मचारीलाई अनधिकृत रूपमा काममा लगाइएको सम्बन्धमा बुझ्न र छलफल गर्न हामी संस्थागत तवरले गएका थियौँ । तर, हाकिमले भेट्न चाहेनन् ।’

प्रतिक्रिया