सुरक्षा पर्खालविहीन कारागार

भैरहवा : जिल्ला कारागारमा सुरक्षा पर्खाल नहुँदा र क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा असुरक्षित तथा असुविधा भएको छ । वि.सं. १९९० मा स्थापना भएको कारागारको चारैतिर खुला रहेकाले कारागार असुरिक्षत बनेको हो ।
सुुरक्षा पर्खाल नहुँदा कारागारमा सबै क्षेत्रबाट जोकोही सहजै रूपमा भित्र प्रवेश गर्छन् । जेलर सूर्यबहादुर यादवले कारागार संवेदनशील क्षेत्र भए पनि सुरक्षा पर्खाल नहुँदा समस्या भएको बताए ।
‘एक सय बन्दी राख्ने क्षमताको कारागारमा क्षमताभन्दा बढी तीन सय ७१ बन्दी राख्दा कैदीलाई समेत समस्या परेको छ,’ उनले भने । करिब एक बिघा १० कठामा रहेको कारागार पुरुष बन्दीका लागि मात्र भएकाले महिला बन्दी राख्ने सुविधा नहँुदा समस्या छ ।
कारागारका अनुसार रूपन्देहीमा महिला कारागार नहुँदा अस्थायी रूपमा महिला राखिने र पाल्पा कारागारमा सरुवा गरिने गरिएको छ । यही कारण उनीहरूलाई समयमा न्यायालय पुर्‍याउनसमेत कठिनाइ परेको छ ।
कमजोर र पुरानो संरचना भएको कारागारको भौतिक संरचना बलियो हुनुपर्ने र कुनै घटना भए सुरक्षाकर्मी र कारागार कर्मचारीको कमजोरी देखाउनुभन्दा सरकारले कारागारको सुरक्षामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता भैरहवा कारागारमा देखिन्छ । कैदीका अनुसार शौचालय जान पनि एक घन्टाभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । सरकारी निकायबाट समयसमयमा अनुगमन भए पनि कारागारको भौतिक संरचनाको विकास हुन सकेको छैन ।

प्रतिक्रिया