सामरिक महत्त्वको पाकिस्तानी बन्दरगाह चीनको पोल्टामा

नयाँदिल्ली : पाकिस्तानले सामरिक महत्त्वको ग्वादर बन्दरगाह चीनलाई हस्तान्तरण गरेको छ । पाकिस्तानको नवगठित मन्त्रिपरिषद्ले बुधबार यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । भारतका छिमेकी राष्ट्रका सामरिक महत्त्वका भूभाग एकपछि अर्काे गरी चीनले लिएको आरोप लगाउँदै भारतीय दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’ले यसबाट भारतसामु ठूलो सुरक्षा चुनौती तेर्सिएको जनाएको छ ।
सिंगापुरको पोर्ट अफ सिंगापुर अथोरिटी (पिएसए)ले सम्हाल्दै आएको बन्दरगाहा परिचालनको जिम्मा चीनको ‘ओभरसी पोर्ट होल्डिङ’लाई दिने निर्णय पाकिस्तानी मन्त्रिपरिषद्ले गरेको हो । सन् २०११ मै पाकिस्तानले बन्दरगाह परिचालनको जिम्मा चीनलाई दिने घोषणा गरेको थियो । बन्दरगाहछेउको बलुचिस्तानको सुरक्षा अवस्था नाजुक बन्दै गएका बेला चीनले ग्वादर बन्दरगाह परिचालनको जिम्मा लिएको हो ।
अरब सागरमा रहेको सो बन्दरगाह चीनको आर्थिक सहयोगमा निर्माण भएको हो । निर्माणपछि सिंगापुरको कम्पनीले बन्दरगाह परिचालनको जिम्मा लिए पनि सुरक्षा संवेदनशीलतालगायत कारणले बन्दरगाहको व्यापारिक प्रयोजन फस्टाउन सकेको थिएन । बन्दरगाह पूर्णरूपमा निर्माण भइनसकेकाले यसबाट पूर्ण लाभ लिन सकिएको थिएन । परिचालनको जिम्मा पाएपछि चीनले निर्माणका बाँकी काम सम्पन्न गरिदिने आशा पाकिस्तानले गरेको छ ।
बन्दरगाहलाई चीनले नौसैनिक अखडाका रूपमा विकास गरिदिने आशासमेत पाकिस्तानले लिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बलुचिस्तानको भूभाग हुँदै बन्दरगाहसम्म पुग्ने रेल तथा सडक मार्ग र कन्टेनर टर्मिनल निर्माण कार्यसमेत अझै बाँकी छ । त्यसैले बन्दरगाहबाट अपेक्षा गरेअनुरूप लाभ हासिल गर्न चीनले केही समय पर्खिनुपर्ने निश्चित छ ।
ग्वादर बन्दरगाहलाई चीनले सिन्जियाङ तथा उत्तरपश्चिम चीनका अन्य क्षेत्रमा अरब राष्ट्रबाट तेल आयात गर्न प्रयोग गर्ने अनुमान गरिएको छ । यसका लागि पाकिस्तानभित्र सशस्त्र पृथक्तावादी संघर्ष चलाइरहेका बलुचिस्तानको आदिवासी क्षेत्र हुँदै पाइपलाइन चीनसम्म पुर्‍याउनुपर्ने हुन्छ । बलुचिस्तानका आदिवासीले चीन र पाकिस्तान दुवैप्रति वैरभाव राख्ने गरेकाले चीनले चुनौती सामना गर्नुपर्ने विश्लेषण गरिएको छ । स्वतन्त्र राष्ट्रको माग राख्दै आएका बलुच पृथक्तावादीहरू चीनसँग रुष्ट छन् किनकि चीनले पाकिस्तानको भौगोलिक अखण्डताको पक्ष लिँदै आएको छ ।
कुनै कारणले ‘साउथ चाइना सी’मा पारवाहन अवरुद्ध भए ग्वादर बन्दरगाहबाट ऊर्जा आपूर्ति सुनिश्चित गर्ने लक्ष्य चीनले राखेको बताइन्छ । अहिले चीनले अधिकांश तेल सोही मार्गबाट आयात गर्ने गरेको छ । पछिल्लो समय ‘साउथ चाइना सी’ सम्बन्धमा भियतनाम र फिलिपिन्ससँग चीनको विवाद बढेकाले अरब सागरको ग्वादर बन्दरगाहमा चीनको प्रवेशलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
भारतीय विश्लेषकहरूले ‘स्ट्रिङ अफ पल्र्स’को नीतिअनुरूप भारतलाई घेराबन्दीमा पार्ने बृहत्तर रणनीतिअनुरूप चीनले ग्वादर बन्दरगाहको जिम्मा लिएको दाबी गरेका छन् । ग्वादरबाहेक वर्माको सिट्वी, बंगलादेशको चटगाउँ र श्रीलंकाका हम्बानटोटा बन्दरगाहसमेत चीनको पोल्टामा जानेतर्फ भारतीय विश्लेषकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । स्मरण रहोस्, ती सबै बन्दरगाह चीनको आर्थिक सहयोगमा निर्माण भएका हुन् । (एजेन्सी)

प्रतिक्रिया