कोसेढुंगा बन्ने दाउ

Jayadev-gautamधायको छ लमजुंग मकुण्डो
कास्कि बाँध सुनको छ षकुण्डो
पीउठानि कन देउ सुकुण्डो
मारिलेउ तनहूँ त भकुण्डो ।।
पत्याउनु हुन्छ, यी चार पंक्ति प्रारम्भिक नेपाली मुक्तक हुन् भनेर । र, जसका सर्जक हुन् पहिलो नेपाली कवि मानिएका सुवानन्द दासका समकालीन शक्तिबल्लभ अज्र्याल भनेर † मान्नु र नमान्नु व्यक्तिगत कुरा हुनसक्ला किनभने उनले मुक्तक नै भनेर लेखेका थिएनन्, तर मान्नेले अहिले त्यही मानिरहेका छन् । यही मान्यतामा अगाडि बढ्दै बादल घिमिरेले स्वयं सम्पादक बनेर ‘सोलो’ मुक्तक विधामा केन्द्रित पुस्तक ‘समकालीन नेपाली मुक्तक’ बजारमा ल्याएका छन् ।
बादललाई मुक्तक–अनुरागी भनेर मात्र पुग्दैन, मुक्तक वरिपरि रमाउने मौरी नै भनिदिए पनि हुन्छ । उनलाई आफँैलाई थाहा थिएन जतिबेला उनले पहिलोपटक मुक्तक लेख्न कलम उचालेका थिए, कुनैबेला त्यही मुक्तकले उनको जीवनमा बहार ल्याइदिनेछ र उनलाई निजी जीवनको सुन्दरतम उपहार प्रदान गर्नेछ । हल्का लजाउँदै उनी भन्छन्, ‘मुक्तकले नै मेरो विवाह गराइदिएको हो । रेडियो नेपालको पोखरा स्टेसनबाट मुक्तकसम्बन्धी मेरो अन्तर्वार्ता सुनेर छिमेकी गाउँ कुवाकोटकी शर्मिला कोइराला कस्तोविधि प्रभावित भइछन् भने उनले नै मसित सम्बन्ध नजिक्याउँदै लगिन् । परिचय र भेटघाटको क्रम पिरतीमा परिणत भयो र अन्तत: पिरती विवाहमा ।’ वाह, कस्तो शक्ति रहेछ मुक्तकको † विनसित्तै त सरस्वती प्रतीक्षाले पो किन मुक्तकको झटारो हान्थिन् र –
मायामा मायाकै दुबो बनेर फस्टाउँछु प्रत्येक दिन/आफूलाई उनकै अर्थ अनुसार प्रस्ट्याउँछु प्रत्येक दिन/हेर्नुछ मलाई कसैले भने हेर्नु उनका आँखाहरूमा/म उनीभित्रै उदाउँछु र अस्ताउँछु प्रत्येक दिन//
विभिन्न ११ जनाका दृष्टिकोण र सैद्धान्तिक समालोचना अनि शक्तिबल्लभ अज्र्यालका दुई श्लोकबाट सुरुआतपछि भानुभक्त, मोतीराम, पहलमानसिंह स्वाँर, शम्भुप्रसाद ढुंगेल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरणदेखि लिएर भीमदर्शन रोका, टेकबहादुर नवीन, रत्नसमशेर, ज्ञान उदास, नन्द हांगखिम, भूपि र हरिभक्त हुँदै तीर्थ श्रेष्ठ, उषा शेरचन, रामकाजी कोने, शिव पलाँस, सुमित गिरी स्मित, हरिकृष्ण काफ्ले, हेमप्रभास आदिसम्म वर्तमानमा नाम चलेनचलेकासमेत विभिन्न १३७ जनाका तीन–तीन मुक्तक समावेश गरी २४० पृष्ठको ‘समकालीन नेपाली मुक्तक’ तयार भएको छ । सम्पादक बादलले मुक्तकलाई रुबाईभन्दा पृथक् र मौलिक नेपाली विधाका रूपमा स्थापित गर्न चाहेका छन् । तर, चाहना र यथार्थ दुई अलग कुरा हुन् । जसले जतिसुकै ढुंगा फोरे पनि मुक्तकको मिठास भनेकै रुबाईबाट प्रत्यक्ष भाव–भंगीमा ग्रहण गरेर उदाउनुमा मात्रै छ । दुई उदाहरण हेरौँ :
गोपालसिंह नेपाली सृजित … परदेश में प्यासे से कभी जात न पूछो/उलझन है पुरानी तो नई बात न पूछो/रातें न हमें दे सको अपनी तो सितारों/फिर हमने गुजारी है कहाँ रात न पूछो//
नीर शबनमले रचेको एक रुबाई … उनके भरम पर रो दिए हम/उनके सितम पर रो दिए हम/इस दिल की देखिए नाजुकी/उनके करम पर रो दिए हम//
वासु शशि सृजित … खाली मनलाई मात्र लागेर पुगेन र मैले तनले पनि पिएँ/खाली तनलाई मात्र लागेर पुगेन र मैले मगजले पनि पिएँ/न पिउनुको पनि एउटा नसा हुन्छ यस जिन्दगीको नसा/ त्यसैले बेहोसीबाट होसमा आउनलाई मैले पनि पिएँ//
समकालीन नेपाली साहित्य–फाँटमा शुक्लपक्षीय सम्भावना बनेर देखापर्न खोजेका छन् युवा सर्जक बादल घिमिरे । रत्नपुर स्याङ्जाका यी २५ वर्षीय तन्नेरी यसअघि बेलाबेलामा गीत, कविता र मुक्तक लेख्दै आइरहेका थिए । अहिले त उपद्रै गरे यिनले, तीन वर्ष लामो अथक अनुसन्धान र उत्तिकै परिश्रमपछि एउटा मापाको किताब तयार पारे र त्यसको शीर्षक राखे– समकालीन नेपाली मुक्तक । झट्ट शीर्षक सुन्दा कुनै स्कुले पाठ्पुस्तक जस्तो पनि लाग्ने र कुनै प्राज्ञिक दस्तावेजीकरणको झल्को पनि आउने सम्भावना त्यत्तिकै दिन्छ किताबको नामले । तापनि, बादलले यस किताबमार्फत एउटा सत्प्रयास गरेका छन्– नेपाली साहित्यका अनुरागी र जिज्ञासुलाई पद्यात्मक छोटो छरितो गेय विधा ‘मुक्तक’ सम्बन्धमा रहेका सबै बेलीविस्तार फुकाएर त्यसको साँचो संरचनात्मक बुनोटबारे प्रस्ट पारिदिने । सायद उनी यसमा सफल पनि छन् किनभने स्थापित साहित्यकार कृष्णप्रसाद पराजुलीले आफ्नो मन्तव्यमा भनेकै छन्, ‘बादलको यो कृति सम्बद्ध विषयमा मानक हुनेछ, जसमा नेपाली मुक्तक साहित्यले रोजेको नयाँ मार्ग देखिनेछ ।’
समकालीन मुक्तकमध्ये एक बान्की विष्णुबहादुर सिंहका शब्दमा … काम पर्दा हजुर–हजुर/काम नपर्दा दूर–दूर/आजको हाम्रो मित्रता/यस्तै छ साथी झुर–झुर //
अर्को एक बान्की राजेन्द्र थापाको रचनामा … संविधानबाट संवि झिकेर, बचेको धान लगेर सुदूरमा खुवाइयोस्/कानूनबाट का झिकेर, बचेको नून लगेर कर्णाली पुर्‍याइयोस्/संविधान कस्तो बन्छ थाहा छैन त्यसैले संविधान बन्नुअघि नै/नेपालबाट ने झिकेर बचेको पाल लगेर सुकुम्बासीको छानो छाइयोस्//
यस्तै अर्को एक बान्की सरुभक्तका शब्दमा … सानो–सानो स्वार्थ टेकी पानी हाम्रो नचलाऊ/हिमालदेखि तराईसम्म बग्ने हावा नछलाऊ/कति भन्नु, कति भन्नु, फेरि पनि भन्दै छु म/नेताहरू † पागल बनी सगरमाथा नढलाऊ //
नेपाली बृहत् शब्दकोष (नेराप्रप्र)ले मुक्तकलाई ‘ह्दयका भाव प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता’ भनेर परिभाषित गरेको छ । यसको सोझो अर्थ हो– मुक्तक भनेको अणु, टुक्रा, चोइटा, छर्रा, मट्याङग्रा, पुतली, चोक्टक, हाइकू आदि जे जे नामले लेखिए पनि त्यो आफैँमा एक पूर्ण र स्वतन्त्र रचना हो । नेपालीमा दुई हरपे, तीन हरपे, चार हरपे, पाँच हरपे, सात हरपे आदि शैलीमा मुक्तक लेखिएका छन् । तापनि, सबैबीच स्थापित मान्यता के हो भने मुक्तक भनेकै चतुष्पदी रचना हो । सम्पादक बादलले पनि पुस्तकमार्फत यही मान्यता स्थापित गराउन प्रयास गरेका छन् । नेपाली मुक्तकलाई सर्वमान्य चार हरपे गराउने अभियानका लागि नै यो पुस्तक तयार भएको बुझ्न सकिन्छ । त्यसैले यो पुस्तकमा नेपाली मुक्तकका रूप, परम्परा, भेद, इतिहास र सैद्धान्तिक संरचना सबै कुरा समेटिएको छ । यद्यपि, पुस्तकमा संकलन गरिएका सबै मुक्तक भने उच्चकोटिका र उत्तिकै लोभलाग्दा भने छैनन् नै ।
डिकुरा पब्लिकेसन प्रालिले प्रकाशन गरेको यस पुस्तकबारे सन्तुष्ट रहेका बादल भन्छन्, ‘यस पुस्तकका रूपमा मैले देखेको साझा सपना पूरा भएको मानेको छु ।’ र, उनी तीर्थ श्रेष्ठको एउटा मुक्तक अगाडि सार्छन् :
हर्षको लालसा छैन धरतीमा सन्ताप नभए हुन्थ्यो
उत्सवको आशा छैन मनमा कुनै ताप नभए हुन्थ्यो
देवता पुजेर पुण्य कमाउनु छैन मलाई
यत्ति भए पुग्छ कि मबाट कुनै पाप नभए हुन्थ्यो ।।

प्रतिक्रिया