सात सय तिरेर एसएलसीको उत्तरपुस्तिका हेर्न पाइने

काठमाडौं, १९ माघ । यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले पुनर्याेगपछि एसएलसी परीक्षाको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्थालाई सरलीकृत बनाएको छ ।

सबै विद्यार्थीले पुनर्योग गर्न पाऊँ भनेर सात सय रुपियाँ तिरे उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको परीक्षा उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी गराए । उपनियन्त्रक अर्यालले बिहीबार भएको एक कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थानुसार पुनर्याेगको व्यवस्थालाई सरलीकृत बनाइएको बताए ।
दोहोरो रजिस्ट्रेसन भए कारबाही
यस्तै उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी (संस्थागत) विद्यालयमा पढ्ने विद्यार्थीले सरकारी (सामुदायिक) विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गराएको पाइए त्यस्तो विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । त्यस्ता विद्यार्थीले चालु वर्षका लागि गरेको रजिस्ट्रेसन स्वत: रद्द हुने उपनियन्त्रक अर्यालले बताए । गत वर्ष २ हजार ८ सय विद्यार्थीको दोहोरो रजिस्ट्रेसन भेटिएको थियो । यस वर्ष त्यस्तो रजिस्ट्रेसन भए/नभएकोबारे अध्ययन भइरहेको जानकारी गराउँदै अर्यालले त्यस्तो कार्यमा संलग्न विद्यालय र सम्बन्धित कर्मचारीलाई पनि कारबाही हुने बताए ।

प्रतिक्रिया