चलचित्रकर्मीको जायज माग

नेपालमा जतासुकै आन्दोलन छ । कुनै क्षेत्र आन्दोलनबाट अछुतो छैन । आन्दोलनबाट टाढै रहन चाहने फिल्मी क्षेत्र पनि अहिले आन्दोलनमय बन्न पुगेको छ । दर्शक सामु मनोरञ्जन प्रस्तुत गर्ने सबैको प्यारो मानिने कलाकारहरू आफ्नो कार्यक्षेत्र छाडेर आन्दोलनमा लाग्नैपर्ने बाध्यता बेहोरी रहेका छन् । निकै लामो समयसम्म नेपाल चलचित्र बोर्डको अध्यक्षमा वास्तविक चलचित्र क्षेत्रको योग्य व्यक्तिलाई नियुक्ति गर्नुपर्ने माग गर्दै आएका कलाकारको आवाज वर्तमान सरकारले सुन्न चाहेन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत चलचित्रकर्मी माझबाटै अध्यक्ष नियुक्तिको आश्वासन दिए पनि त्यो पूरा गरेनन् । जसले गर्दा कलाकारहरू अरू आक्रोशित बन्न पुगे र आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्न वाध्य भए । अहिले चलचित्र निर्माण कार्य ठप्प भएको छ । यो सबै हुनुमा सरकार दोषी देखिन्छ । एउटा योग्य, सक्षम र चलचित्र क्षेत्रकै व्यक्तिको नेतृत्वमा नेपाल चलचित्र विकास बोर्ड गठन गरिदिएको भए यो आन्दोलन हुने नै थिएन । तर, सरकार त्यसतर्फ लागेन । बरु चलचित्र बोर्डको अध्यक्षमा कसैले नाम नसुनेको व्यक्तिलाई नियुक्ति गरेर कलाकर्मीलाई निरुत्साहित गर्ने काम गर्‍यो । जुन कामले कलाकारहरूको आन्दोलनमा घिउ थप्ने काम गर्‍यो ।
फिल्मी कलाकारहरूले योग्य र विज्ञलाई चलचित्र बोर्डको अध्यक्ष बनाउन सरकारलाई दबाब दिइरहेको अवस्थामा सरकारले भने नामै नसुकेका धर्मेन्द्र मरवैता ‘पप्पु’ लाई अध्यक्ष बनाएर ठूलो भूल गर्‍यो । जसले गर्दा आन्दोलिन कलाकारले सरकारले आफूहरूमाथि अर्को अन्याय गरेको महसुस गरे । अहिले सबै क्षेत्र तहसनहस भइरहेका अवस्थामा कहिल्यै आन्दोलनमा समावेश नभएको फिल्मी क्षेत्रलाई पनि आन्दोलनमा जान वाध्य गराएर वर्तमान सरकारले यो क्षेत्रलाई पनि अछुतो छाडेन । अहिले कलाकारहरू आन्दोलनमा छन् । चारैतिर प्रश्न उठेको छ चलचित्रकर्मीहरू किन आन्दोलनमा उत्रिए ? वास्तवमा सरकारले त्यहाँ पनि राजनीतिको फोहोरी कार्य थालेपछि कलाकारहरू त्यसलाई रोक्न आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग खास ठूलो थिएन । चलचित्र विज्ञलाई नै नेपाल चलचित्र बोर्डको अध्यक्ष बनाइयोस् भन्ने थियो । तर, वर्तमान सरकारले बोर्डलाई पनि कार्यकर्ता भर्ती केन्द्र बनायो । वास्तवमा उक्त स्थान कार्यकर्ता भर्ती केन्द्र होइन । जसले चलचित्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ उसैलाई बोर्डको अध्यक्ष बनाउन उचित हुन्छ । सम्बन्धित पक्षले कलाकारको आन्दोलनलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्नुपर्छ ।
चलचित्रलाई मनोरञ्जनका रूपमा मात्र हेर्ने गरिनुहुन्न । यो क्षेत्र विकास र विस्तारले राष्ट्रका लागि आर्थिक उपार्जन पनि गर्छ ।
मनोरञ्जनले स्वास्थ्य नागरिक निर्माणमा सहयोग पुर्‍याउँछ भने स्वस्थ नागरिकले देश विकासमा उल्लेख्य योगदान दिन सक्छ । चलचित्र निर्माणले थुप्रै व्यक्तिलाई रोजगारी दिएको छ । यो पक्षलाई पनि बिर्सन मिल्दैन । तसर्थ, चलचित्र क्षेत्रमा कुनै एक दलको कुत्सित राजनीति हाबी गराउनु राम्रो होइन ।
यो क्षेत्रलाई स्वतन्त्रता दिने र विज्ञहरूद्वारा नेतृत्व गर्ने वातावरण सरकारले मिलाई दिनुपर्छ । धर्मेन्द्र मरवैता ‘पप्पु’ को व्यक्तिगत विरोध होइन । उनलाई सरकारले अन्य क्षेत्रमा ठूलो पदमा जागिर दिन सक्छ । तर, नेपाल चलिचित्र बोर्डमा भने सम्बन्धित विषय विज्ञ र योग्य व्यक्तिलाई छनोट गरिनुपर्छ । चलचित्रमा पनि माओवादी राजनीति लादेर तहसनहस बनाउन खोजिँदै छ । यो गलत कार्य तुरुन्छ रोक्नुपर्छ । यसलाई राजनीतिक नियुक्तिको थलो बनाएर कलाकारलाई कार्यकर्तामा रूपान्तरित गर्दा चलचित्रको विकास हुँदैन । अब ढिला नगरी सरकारले कलाकारको माग सम्बोधन गरेर आन्दोलन फिर्ता गर्न लगाउनुपर्छ ।

प्रतिक्रिया