इजरायलद्वारा सिरियामाथि हमला

दमास्कस: सिरियामा राजनीतिक संकट गहिरिँदै गर्दा इजरायलले सिरियामाथि हमला गरेको छ । लेबनानसँगको सिरियाको सीमावर्ती क्षेत्रमा इजरायली युद्धकविमानले मंगलबार राति आक्रमण गरेका हुन् ।
सिरियाको सामरिक महत्त्वका केन्द्रमा आक्रमण भएको सिरियाले समेत पुष्टि गरेको छ । राजधानी दमास्कसको उत्तरपश्चिमा रहेको वैज्ञानिक अनुसन्धान केन्द्रमा इजरायली युद्धकविमानले आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । आक्रमणमा परी दुईको मृत्यु भएको र पाँच गम्भीर घाइते भएको सिरियाली सेनाको भनाइ छ । तर, इजरायली सेनाले भने घटनाबारे कुनै टिप्पणी गरेको छैन । लेबनानका सञ्चारमाध्यमका अनुसार लेबनानको आकाशक्षेत्र हुँदै इजरायाली युद्धक विमान सिरियातर्फ उन्मुख भएका थिए । लेबनानी सेनाले विज्ञप्ती जारी गरी इजरायली युद्धक विमानले मुलुकको आकाश क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेको छ ।
समाचार एजेन्सी एपीका अनुसार लेबनानमा सक्रिय सैन्य समूह हिजबुल्लाहका लागि विमानभेदी हतियार लिएर सिरियाबाट जाँदै गरेको सैन्य टुकडीलाई लक्ष गरी इजरायली सेनाले आक्रमण गरेको हो । एपीका अनुसार रुसमा बनेको एसए–१७ विमानभेदी क्षेप्यास्त्रलगायत अत्याधुनिक हतियारसहित बोकेर लेबनानतर्फ हिँडेको सैन्य टुकडीमाथि आक्रमण भएको हो । हिजबुल्लाहको हातमा ती हतियार परे क्षेत्रीय शक्तिसन्तुलन डगमगाउने र इजरायली सुरक्षामाथि खलल उत्पन्न हुनसक्ने आँकलन गरी इजरायलले विष्मयकारी तरिकाले आक्रमण गरेको हो । तर, सिरियाली सेनाले भने हिजबुल्लाह लडाकुका लागि हतियार पैठारी गरेको आरोप अस्वीकार गरेको छ ।
सिरियाली सत्ताको दिनगन्ती सुरु भएको विश्लेषण भइरहेका बेला पराजित हुनै पर्ने अवस्था आए सिरियाली राष्ट्रपति बसर अल असदले मुलुकको शस्त्रागारमा रहेका रासायनिकलगायत अत्याधुनिक हतियार हिजबुल्लाह लडाकुलाई उपलब्ध गराउने आशंका इजरायलले व्यक्त गर्दै आएको थियो । त्यस्तो अवस्था आउन नदिन आफू प्रतिवद्ध रहेको इजरायलले प्रस्ट पार्दै आएको थियो । राष्ट्रपति असदको हिजबुल्लाह लडाकूसँग निकटता रहेको बताइन्छ । दुवैले इजरायलसँग वैरभाव राख्ने गरेका छन् ।
लेबनान र गाजामा इरानले हजारौँ इस्लामिक गुरिल्ला तैनाथ गरेको बताइन्छ । इजरायल–अरब युद्ध भड्किए इजरायललाई तत्क्षण घेराबन्दीमा पार्न इरानले हिजबुल्लाहलगायत गुरिल्ला समूहलाई अनौपचारिक सहयोग गर्दै आएको बताइन्छ । यसमा सिरियाले इरानलाई साथ दिने गरको अरोप इजरायलले लगाउने गरेको छ ।
रुसद्वारा विरोध
सिरियामाथिको हमला पुष्टि भए यसलाई कुनै पनि हालतमा नस्विकार्ने चेतावनी रुसले दिएको छ । सिरियाको सबैभन्दा ठूलो हतियारदाता रुसले सार्वभौम मुलुकमाथि अकारण हमला गर्नु राष्ट्रसंघ बडापत्रको बर्खिलापमा जानु सरह भन्दै यसलाई अस्वीकार गर्ने चेतावनी दिएको छ । शीतयुद्धदेखि रुस सिरियाको दरिलो साझेदार रहँदै आएको छ । शीतयुद्धताका सिरियालाई रुसले मध्यपूर्वको ‘आधार इलाका’ बनाएको थियो । शीतयुद्धको समाप्तीपछि पश्चिमी राष्ट्र तथा इजरायलको तारो बनेको सिरियालाई रुसले हतियारलगायतका सहयोग उपलब्ध गराउँदै आएको थियो । यसअघिसमेत रुसले ‘सिरियामा सैन्य हस्तक्षेप गर्ने विचार सपनामा पनि नचिताउन’ नेटोलाई चेतावनी दिएको थियो । सिरियामाथि नेटोले हमला गर्ने आशंका सर्वत्र गरिएका बेला इजरायलले अकस्मात आक्रमण गरेपछि यसले धेरैलाई चकित पारेको छ ।
त्यसैगरी हिजबुल्लाह समूहले समेत विज्ञप्ती जारी इजरायलविरोधी मोर्चाको अग्रपंक्तिमा रहेको सिरियामाथि सुनियोजित रूपमा आक्रमण गरिएको भन्दै यसको आलोचना गरेको छ । ‘सिरियामा अहिले जारी घटनाको भित्री आशय अब छर्लंग भएको छ । कुनै अरब तथा मुस्लिम शक्तिलाई सैन्य तथा प्राविधिक दक्षता हासिल गर्न नदिने योजनामुताबिक सिरियाको वैज्ञानिक केन्द्रमा हमला भएको हो,’ विज्ञप्तीमा भनिएको छ । अन्तर्राष्ट्रिय समूदाय, अरब तथा मुस्लिम राष्ट्रहरूलाई आक्रमणको जोडदार भत्सर्ना गर्न समेत हिजबुल्लाहले आह्वान गरेको छ ।
मध्यपूर्वमा इरानसहित हिजबुल्लाह सिरियाका दरिलो साझेदार शक्ति हो । इरान सिया मुसलमान बहुल राष्ट्र हो र सिरियामा अल्पमतमा रहेका सियाले बहुसंख्यक सुन्नी समुदायमाथि शासन गर्दै आएका छन् । इरान र हिजबुल्लाहबाहेक प्यालेस्टाइनी समूह हमाससमेत सिरियाको पक्षमा छन् । त्यस्तै चीन र रुसजस्ता सुरक्षापरिषद्मा भिटो शक्ति भएका राष्ट्रले पनि सिरियामाथि हुनसक्ने वैदेशिक सैन्य हस्तक्षेपको विरोध गर्दै आएका छन् ।
केही समयअघि इरान, सिरियालगायतविरुद्ध लक्षित हुने गरी इजरायलले क्षेप्यास्त्र निरोधी ढाल सुधार कार्य आरम्भ गरको समाचार सार्वजनिक भएको थियो । अमेरिकी सहयोगप्राप्त अभियान अन्तर्गत ‘एरो–२ ब्यालेस्टिक मिसाइल’ को ढाल सुधार कार्य आरम्भ भएको र ढाल सुधारपछि इजरायली क्षेप्यास्त्रको मारक क्षमता अचुक बन्ने इजरायली अधिकारीले दाबी गरेका थिए । यसबाट मारक बिन्दु पहिल्याउन र लामो दूरीसम्म मार हान्नसक्ने क्षमता हासिल हुने इजरायली अधिकारीले बताएका थिए । सिरियाली सरकारले आफ्ना शस्त्रागारमा रहेका रासायनिक हतियार र क्षेप्यास्त्र बाह्य आक्रमणविरुद्ध प्रयोग गर्ने जनाएपछि इजरायलले क्षेप्यास्त्र निरोधक प्रणालीमा सुधार आरम्भ गरेको थियो । त्यसको केही महिनापछि सिरियामाथि इजरायली हमला भएको हो । (एजेन्सी)

प्रतिक्रिया