चीनले ब्रह्मपुत्रमा बाँध बनाउने

बेइजिङ : चीनले ब्रह्मपुत्र नदीमा थप तीन वटा जलविद्युत् बाँध निर्माण गर्ने भएको छ । चीन सरकारअन्तर्गतको ‘चाइनिज स्टेट काउन्सिल क्याबिनेट’ले नयाँ ऊर्जा विकास योजना–२०१५ अन्तर्गत बाँध बनाउने अनुमति दिएको हो ।
बाँध निर्माणपछि नदीको तल्लो भागमा पानीको बहाव कम हुने भन्दै भारतले बाँध निर्माणको विरोध गर्दै आएको छ । ब्रह्मपुत्र नदीको मुहान तिब्बतमा भएकाले चिनियाँ भू–भागमा बाँध निर्माण गरिए उत्तरपूर्वी भारत र बंगलादेशका करोडौँ जनता यसबाट प्रभावित हुने भन्दै भारतले विरोध गरेपछि चीनले बाँध निर्माण कार्य बन्द गरेको थियो । तर, अढाइ वर्षपछि पुन: बाँध निर्माण कार्य अघि बढाउन चीन तम्सिएपछि भारतीय सञ्चारमाध्यमले यसको आलोचना गरेका छन् ।
तिब्बतको जाङ्मु क्षेत्रमा मध्य आकारको बाँध निर्माणकार्य चीनले आरम्भ गरिसकेको छ । प्रस्तावित नयाँ बाँध यसअघिका परियोजनाभन्दा विशाल हुने बताइएको छ । ब्रह्मपुत्रका सहायक नदीहरूमा चीनले ६ वटा स–साना जलविद्युत् परियोजना सञ्चालन गरिरहेको छ ।
निर्माण गरिने नयाँ बाँधमा जलविद्युत् उत्पादन प्रयोजनका लागि ठूलो मात्रामा ब्रह्मपुत्रको पानी सञ्चय गरिनेछ । यसबाट भारत तथा बंगलादेशमा ब्रह्मपुत्रको बहाव कम हुने र यसले ती क्षेत्रको पर्यावरण र जनजीवनमा गम्भीर असर पुर्‍याउने भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । (एजेन्सी)

प्रतिक्रिया